आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछः परराष्ट्रमन्त्री साउद

बिहीबार, २८ असार २०८०, ११ : ३१
बिहीबार, २८ असार २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद ले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुङ्गिने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए । उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । 

 राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने र नियुक्ति प्रक्रिया तत्काल टुङ्गिने उनको भनाइ थियो । 

उनले भने, ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको छ । राजदूत नियुक्तीमा सरकारले परराष्ट्र भित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ । यो प्रक्रिया तत्काल टुङ्गिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेका बताए । विदेशमा रहेका नेपालीहरूको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । 

मन्त्री साउदले नियोगहरूलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप