आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बगान वार्ता

‘फिल्मको हिरो, हिरोइन जे भने पनि करिश्मा दिदी र म हो’

शुक्रबार, २९ असार २०८०, १२ : ५२
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । फिल्म ‘बगान’ आगामी शुक्रबार (२९ असार) बाट रिलिज हुँदैछ । यस फिल्मकी अभिनेत्री प्रमिला कार्कीले कुराकानीको सुरुमै ‘बगान’ अभिनयको कारण खोलिन्, ‘कोही महिला दबिनु, हेपिनु हुँदैन भन्ने सोच ममा सानैदेखि थियो । त्यस्तै कथा ‘बगान’मा पाएँ । अनि अभिनयमा होमिएँ ।’ 

केही नाटक, दुई दर्जन हाराहारी म्युजिक भिडियोमा अभिनयको अनुभव छ प्रमिलासँग । यो उनको नेपाली रजतपटको पहिलो पाइला हो अर्थात् उनी यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

फिल्ममा उनको अलावा अभिनेत्री करिश्मा मानन्धरको पनि मुख्य भूमिका छ । करिश्माले एकल महिलाको चरित्र निभाएकी छिन् भने उनी करिश्माको छोरी प्राप्तीको भूमिकामा छिन् ।

‘फिल्मको हिरो, हिरोइन जे भने पनि करिश्मा दिदी र म हो’, कार्कीले भनिन्, ‘यो एउटा आमा–छोरीको कथामा बनेको फिल्म हो ।’ फिल्ममा एकल महिलाले पनि अन्य मानिस सरह बाँच्न पाउनुपर्छ भन्ने वकालत आफ्नो रोलले गर्ने उनले सुनाइन् ।

‘समाजका कुरिती, कु–संस्कारका कारण महिला हिंसा सहन बाध्य हुन्छन् । त्यो सहनु हुँदैन । सबैले समान रुपले बाँच्न पाउनुपर्छ भन्ने मेरो आवाज छ’, उनले थपिन्, ‘यो एक किसिमले भन्नुपर्दा समाज प्रतिको लडाईं  र विद्रोहसमेत हो ।’ 

ठूलो पर्दामा डेब्यु भन्दा पनि राम्रो चरित्र र कथाका साथ फिल्ममा भित्रिएको कुरो आफ्ना लागि महत्वपुर्ण भएको उनी सुनाउँछिन् ।

अपेक्षा ठूलो छ 
‘बगान’ करिब ४ दशक अभिनय अनुभव बटुलिसकेका अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् । खनालको निर्देशनमा यो डेब्यु फिल्म हो । यस अगाडि उनले एक सट फिल्म निर्देशन गरेका थिए ।

फिल्ममा एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्वसँगै सामाजिक दायित्वसमेत महत्वका साथ समेटिएको प्रचारमा भनिएको छ । फिल्मबाट प्रमिलाको अपेक्षा निकै ठूलो छ । किनभने प्रचार प्रसारको क्रममा उनले राम्रो प्रतिक्रिया पाएकी छन् । 

प्रमिला सानोमा विभिन्न अभिनेत्रीका नक्कल गर्थिन् । त्यो क्रममा साथीभाइ, आफन्त उनलाई फिल्मको हिरोइन बन्नुपर्छ भनेर हौस्याउँथे । त्यसैले, सानैदेखि उनको हिरोइन बन्ने सपना थियो । जसका लागि उनले अभिनेता अनुप बरालसँग एक्टर्स स्टुडियोमा अभिनय सिकिन् । अभिनय सिक्दै गर्दा एक्टर्सकै २ वटा नाटकमा अभिनय गरिन् ।

parmila2

त्यसपछि केही म्युजिक भिडियोमा अभिनय गरिन् । भिडियोको अभिनयपछि नै केही फिल्मको अफर आयो । तर, केही फिल्मका स्क्रिप्ट उनलाई राम्रो लागेन, केहीले स्क्रिप्ट नै दिएनन् । फिल्मको अफर लिएर आउने कतिपय निर्मातासँग उनले स्क्रिप्ट माग्दा नमिठो जवाफसमेत पाएको उनको अनुभव छ ।

तर पनि उनले फिल्ममा आउन हतार गरिनन् । कारण अभिनय गुरु अनुप बराल थिए । प्रशिक्षणको क्रममा अनुप बरालले उनलाई कुनै कुरामा हतार नगर्न सिकाएका थिए । 
‘अनुप सरले आफूले गर्ने भूमिका राम्रोसँग रिसर्च गर्नु, अभिनयमा हाम फाल्न हतार नगर्नु भन्नु भएको थियो’, प्रमिलाले अगाडि भनिन्, ‘हतार नगरौ, राम्रो मात्र गरौ भनेर बसेकी थिएँ । सरोज दाइले ‘बगान’ को अफर दिनुभयो ।’

सरोजको प्रस्तावपछि उनले फिल्मको पुरै स्क्रिप्ट पढिन् । यो भूमिका राम्रो छ । मैले नै निर्वाह गर्नुपर्छ भन्ने लाग्यो उनलाई । फिल्ममा प्रमिला विधवा आमाको रहर र चाहनाका लागि समाजसँग विद्रोह गर्दैछिन् । एकल पुरुषले नयाँ जीवन सुरुवात गर्ने कुरो सहज भएपनि महिलाको कुरो जटिलताका साथ हेरिन्छ ।

एकल महिलाले पनि चाहेको खण्डमा फैलिन, फूल्न, मौलाउन पाउनुपर्छ भन्ने विद्रोह आफ्नो क्यारेक्टरले बोल्ने प्रमिलाले सुनाइन् । फिल्मको गीत, टिजर र ट्रेलर सार्वजनिक भैसकेको छ । जसबाट प्रमिला फिल्मप्रति दर्शकसँगै फिल्मकर्मीलाई समेत आकर्षित गर्न सफल छिन् ।

फिल्ममा नीर शाह, स्वयम् निर्देशक सरोज खनाल, बसुन्धरा भुषाल, मिथिला शर्मा, आकाश श्रेष्ठको समेत अभिनय छ । सिनियर र अनुभवी कलाकारको भीडमा काम गर्दा सुरुमा केही असहज जस्तो महसुस भएता पनि काम गर्दै जाँदा सहज भएको उनको अनुभव छ ।

‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरुले सहज गरिदिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् ।

सिनियरको भीडमा आफू पनि अभिनयमा खरो रुपमा उत्रिने र सबैको नजरमा पर्ने उनले विश्वास लिएकी छन् । केही साता अगाडि राजधानीमा आयोजित पिम फिल्म फेस्टिभलमा उनले यो फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत हात परेकी छन् । फिल्म रिलिज नै नभई उनले अवार्ड पाएको विषयमा विभिन्न टीकाटिप्पणी समेत भएको थियो ।

टेलिभिजन प्रस्तोता पनि
प्रमिलाको पहिलो परिचय टेलिभिजन प्रस्तोता हो । बुटवलको बुद्ध टेलिभिजनबाट सुरु भएको उनको यात्रा नेपाल टेलिभिजनको ‘झंकार’ हुँदै प्राइम टेलिभिजनसम्म छ । टेलिभिजन अगाडि उनी बुटमै एक रेडियोमा समेत काम गर्थिन् ।

केही महिना अगाडिसम्म उनी प्राइम टेलिभिजनमा ‘चिया गफ’ नामक कार्यक्रम चलाउँथिन् । तीन सातादेखि उक्त कार्यक्रम रोकिएको छ । फिल्मको प्रचार प्रसारले गर्दा नभ्याउने भएकाले अहिले टेलिभिजन कार्यक्रम छोडेको उनले बताइन् ।

‘फिल्म रिलिजपछि नयाँ कार्यक्रमका साथ फेरि फर्किने सोचिरहेकी छु । त्यसका लागि रिसर्च पनि भइरहेको छ’, उनले अगाडि थपिन् ‘अहिलेसम्मको अनुभवले केही नयाँ अवश्य हुनेछ ।’ आफूलाई पहिले सबैले सञ्चारकर्मी भनेर चिन्ने भएकाले यो कर्म कर्म छोड्न नसक्ने उनको भनाई छ ।

उनको पछिल्लो कार्यक्रम ‘चिया गफ’ लाइभ प्रभारण हुँदै आएको थियो । फिल्मको प्रचारको समय केही भाग पहिले नै उनले रेकर्ड गरेर दिदा पनि हुन्थ्यो । ‘लाइभ कार्यक्रम गरेजस्तो मज्जा रेकर्डमा कहाँ हुन्छ र ?’ उनले भनिन् ।

आगामी दिनमा कार्यक्रम प्रस्तोता र फिल्म अभिनय  दुबैलाई निरन्तरता दिने सोचमा छिन् उनी । फिल्म पनि जस्तो पायो, त्यस्तो भन्दा राम्रो भूमिका भए मात्र गर्छिन् रे । ‘‘बगान’मा राम्रो भूमिका छ । अवको फिल्ममा यो भन्दा पनि बढी सशक्त र बलियो  चाहिन्छ’, उनले भनिन्, ‘बिषयबस्तु  एक्सन, लभस्टोरी वा अन्य जे भए पनि फरक पर्दैन ।’

अभिनयकै लागि पाल्पाबाट काठमाडौं
सुन्दर अनुहार, हसिलो स्वभावकी प्रमिला पाल्पाकी स्थायी बासिन्दा हुन् । कलाकारिताका लागि उनी विगत ५-६ वर्षदेखि काठमाडौं बस्दै आएकी छन् । नाटकबाट अभिनय सुरु गरेकी उनी म्युजिक भिडियोमा भने बैकुण्ठ महतको पञ्चेबाजाको एक गीतबाट चम्किएकी थिइन् ।

यो गीतमा बेहुलीको भेषमा अभिनय गरेपछि उनलाई अभिनय भोक जागेको थियो । त्यसैले, अभिनय गर्ने र सिक्ने भन्दै उनी सन् २०१७ मा पहिलो पटक काठमाडौ छिरेकी थिइन् ।

‘काठमाडाैँ छिरेपछि मेलिना राई र अनिल पहाडीको ‘भेटे दौंतरी’ गीतको म्युजिक भिडियो अभिनय गरे । त्यसपछि निरन्तर भिडियो पाइरहें,’ उनले भनिन् । उनको पछिल्लो म्युजिक भिडियो ‘जितेर पनि हारमा छु’ बोलको हो । सुरेश वाग्लेको शब्द र हरि लम्सालको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर छ । यही भिडियोको अभिनय देखेर सरोज खनालले उनलाई अभिनयको लागि अफर गरेका थिए ।

आफ्नो सौन्दर्यमा खासै ध्यान नदिने उनी आफूले आफैलाई राम्री ठान्छिन् । सामान्य मेकअपमा रमाउने उनलाई आफ्नो आँखा धेरै मनपर्छ रे । भनिन्, ‘अरुले तेरो आँखा राम्रो छ भन्छन्, मलाई पनि त्यही लाग्छ ।’

कार्यक्रम प्रस्तोता र फिल्मकी नायिका फेसनमा सचेत नहुने त कुरै भएन । कुन समय कस्तो पहिरन सबै ज्ञान छ । उनको मनपर्ने पहिरन भने सारी हो । ‘सारी मलाई सुहाउँछ र राम्री देखिन्छु पनि’, उनले भनिन्, ‘सारी लगाउने मौका मिस गर्दिन ।’

सामान्य सफलतामा पनि खुसी हुन सक्ने उनी अरुको सफलतामा पनि रमाउँछिन् । त्यसैले, ठूला सपना पनि केही छैन उनको । कुराकानीलाई बिट मार्दै उनले भनिन्, ‘समाजका लागि केही गर्ने सोच छ ।’

parmila4
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप