आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्री श्रेष्ठले जसपा नेतासँग छलफल गर्दै

शुक्रबार, २९ असार २०८०, १३ : १५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने भएका छन् । मिटरब्याजी नियन्त्रण गर्न ल्याइएको विधेयकमा राखिएका प्रावधान संशोधन गर्नुपर्ने र भूतप्रभावित कानुन बन्ने भएकोले सो विधेयक पारित गर्नबाट पछि हट्ने बताएपछि जसपा नेताहरुसँग मन्त्री श्रेष्ठले छलफल गर्न लागेका हुन ।  दिउँसो साढे ३ बजे गृहमन्त्रालयमा साढे ३ बजे छलफलका लागि बोलाएको जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले बताए । 

यसअघि संसद बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ कार्यसूचीको रुपमा रहँदै आएकोमा शुक्रबारको बैठकमा कार्यसूचीबाट हटाइएको छ । सत्तापक्ष दल जसपा तथा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा दर्ता विधेयकमाथि प्रश्न उठाउने तयारी गरेपछि कार्यसूचीमा राखिएको छैन ।  जसपा प्रमुख सचेतक यादवले भने– ‘अहिलेको विधेयक अनुसार भूतप्रभावित कानुन बन्ने भएकोले त्यसलाई हटाउनुपर्छ । मिटरब्याजी भनेर ब्यक्तिलाई मात्र हैन, वित्तिय संस्थाहरुलाई पनि सबैलाई हाल्नुपर्छ ता कि भोलिको दिनमा कसैले पनि बदमासी नगरोस् । अहिले आएको विधेयकलाई मात्र पास गरेर जान नसकिने भएकोले हामीले संशोधन गरेर मात्र पास गर्नुपर्ने भनेका छौँ ।’

सरकारले दुर्त गतिमा मिटरब्याजीलाई कारबाही गर्ने विधेयक पास गरेर लैजान खोजेपनि सत्तापक्षबाटै अवरोध सिर्जना भएपछि छलफल अघि बढाएको हो । यसअघि गत असार २० गते मिटरब्याज नियन्त्रण गर्ने प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दलले गरेको संसद अवरोधका कारण सो सम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप