आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इमर्जिङ एसिया कपमा भारतले यूएईलाई आठ विकेटले हरायो

शुक्रबार, २९ असार २०८०, १६ : ४३
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको समूह ‘बी’ को खेलमा भारतको ‘ए’ टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोलीलाई आठ विकेटले पराजित गरेको छ । यसअघि शुक्रबार नै खेलिएको समूह ‘बी’ कै अर्को खेलमा पाकिस्तानको ‘ए’ टोलीले नेपाललाई चार विकेटले हराएको थियो । 

टस हारी पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २६.३ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । 

भारतको जितमा कप्तान यस ढुलले शतकीय पाली खेलेका थिए । उनले अविजित एक सय आठ रन बनाए । उनले केवल ८४ बलको सामना गरी एक छक्का र २० वटा चौका हिर्काएका थिए । जितसँगै भारत र पाकिस्तानले दुई—दुई अंक जोडेका छन् ।

यसअघि प्रतियोगिताको पहिलो दिन बिहीबार खेलिएको समूह ‘ए’ को खेलमा श्रीलंकाको ‘ए’ टोलीले बंगलादेशको ‘ए’ टोलीलाई ४८ रनले हराएको थियो । सोही समूहको अर्को खेलमा अफगानिस्तानको ‘ए’ टोलीले ओमानको ‘ए’ टोलीलाई ७२ रनले पराजित गरेको थियो । जितसँगै श्रीलंका र अफगानिस्तानले दुई—दुई अंक जोडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप