आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाको बजेट पारित

शुक्रबार, २९ असार २०८०, २२ : ५०
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ ।  कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले निर्णयार्थ पेश गरेपछि बजेट पारित भएको हो । 

महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।

यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल आज  सकाएर नगरसभाबाट पारित भएको हो । 

चालु अवाको भन्दा आगामी आवका लागि कामपाले रु करिब १४ करोडले बढी बजेट ल्याएको छ । आगामी आवमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ । पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्श ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।  

 चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन् । आगामी आर्थिक वर्षका लागि कामपालाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ । 

महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरिएको छ । महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजन गरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप