आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नीति महाधिवेशनका लागि कांग्रेसले के-के गर्दैछ तयारी ?

शनिबार, ३० असार २०८०, २३ : ०१
शनिबार, ३० असार २०८०

काठमाडौं । नेपाली कांग्रेसले असोज पहिलो सातासम्म नीति महाधिवेशन गर्ने तयारी थालेको छ । साउन २ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नीति महाधिवेशन मुख्य एजेण्डा छ ।

नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको करिब दुई वर्षपछि कांग्रेस नीति महाधिवेशन गर्ने तयारीमा छ । महाधिवेशनताका नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

२०७८ मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यताका कारण १४ औं महाधिवेशनमा कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।

१४ औं महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा ‘नीति अधिवेशन’ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो । गत साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्नुपर्ने भनेको थियो ।

तर, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन रोकियो । आगामी साउन २ गते बस्ने केन्द्रीय समिति बैठकमै नीति अधिवेशनको मिति प्रस्तुत हुने भएको छ । आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसले माओवादी केन्द्रसहितको गठबन्धनसँग मिलेर आठ वटा सरकार गठन तथा भागबण्डाको काम सकेर बल्ल नीति अधिवेशन गर्न लागेको छ ।

नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई पार्टीले अंगीकार गर्ने नीतिमाथिको बहस सुरु गर्ने अधिकार हुन्छ । नीतिमाथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो खुल्छ । तर, उक्त प्रतिष्ठानले नीतिमाथिको बहस चलाउन त परै जावस्, आफ्नो समितिलाई पूर्णता दिनसमेत सकेको छैन ।

अहिलेसम्म नीति अधिवेशन गर्ने पार्टीको निकाय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान संयोजकमामात्रै सीमित छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार १० गते उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेका थिए ।

प्रतिष्ठानलाई पार्टीले अंगीकार गर्ने नीतिमाथिको बहस सुरु गर्ने अधिकार हुन्छ । नीतिमाथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो खुल्छ । तर, उक्त प्रतिष्ठानले नीतिमाथिको बहस चलाउन त परै जावस्, आफ्नो समितिलाई पूर्णता दिनसमेत सकेको छैन ।

५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सो व्यवस्थाअनुसार पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले सदस्यहरु थप्न सक्ने प्रावधान छ । प्रतिष्ठानले पूर्णता नपाए पनि नीति अधिवेशनका लागि काम भइरहेको प्रतिष्ठान प्रमुख खड्का बताउँछन् ।

नीति महाधिवेशनको प्रस्ताव तयार भइसकेको भन्दै उनले आगामी केन्द्रीय समिति बैठकमा पेस हुने बताए । ‘नीति महाधिवेशनको प्रस्ताव तयार भइसकेको छ । केन्द्रीय समितिमा त्यो पेस हुन्छ । अब चाँडै नीति महाधिवेशन गर्छौं’, खड्काको भनाइ छ ।

नीति अधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए । ‘केन्द्रीय समितिको बैठकको मुख्य एजेण्डा नीति अधिवेशनको मिति तोक्ने हो । पार्टी संगठन व्यवस्थित बनाएर असोज पहिलो सातातिर नीति महाधिवेशन हुन्छ’, उनी भन्छन् ।

नीति महाधिवेशनअघि देशव्यापी अभियान

महामन्त्री थापाका अनुसार नीति महाधिवेशनअघि पार्टीको देशव्यापी अभियान घोषणा हुनेछ । अभियानमार्फत नीति महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने एजेण्डाबारे जनस्तरबाट राय–सुझाव लिने उनको भनाइ छ ।

‘अभियानको प्रकृति, अवधि, नारा, उद्देश्य केन्द्रीय समितिबाट तय हुन्छ । अभियान सकिएपछि मात्रै नीति महाधिवेशन हुन्छ,’ थापा भन्छन् ।

नीति महाधिवेशनसँगै संगठन विस्तार र सुदृढीकरणका लागि एक वर्षीय कार्यक्रम ल्याउन लागिएको महामन्त्री थापा बताउँछन् । ‘अबको केन्द्रीय समितिमा हामी दुई महामन्त्रीले एक वर्षभरिकै वार्षिक कार्ययोजना प्रस्ताव लैजान्छौं । क्षेत्रीय सभापति भेलाको तिथिमिति पनि त्यहीँ प्रस्ताव गर्छौं । बैठकबाटै पारित गरेर अघि बढाउने प्रयास हुन्छ,’ उनले भने ।

नीति महाधिवेशनको विधिबारे अन्योल

कांग्रेसमा नीति महाधिवेशनको नयाँ अभ्यास गर्न लागिएकाले कुन विधि अपनाउने भन्नेमा अन्योल छ । महाधिवेशनकै प्रतिनिधि सहभागी गराउने वा छुट्टै विधि अवलम्बन गर्ने भन्ने टुङ्गो छैन । ‘केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनको प्रस्ताव जान्छ,’ एक पदाधिकारीले भने, ‘नीति महाधिवेशनमा अवलम्बन गरिने पद्धति, सहभागी संख्या र कहिले गर्ने भन्ने केन्द्रीय समितिमा गहन छलफल हुन्छ । केन्द्रीय समितिले एउटा टुङ्गो लगाउने छ ।’

कांग्रेसभित्र महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्नुपर्ने मत पनि देखिएको छ । कांग्रेस विधानअनुसार महाधिवेशन नभएको वर्षबाहेक सबै सालमा महासमिति बैठक बोलाउनु पर्दछ । महासमिति बैठक पनि यसवर्ष बोलाउनुपर्ने भएकाले त्यसैलाई नीति महाधिवेशनमा बदल्नुपर्ने नेताहरुको तर्क छ ।

१४ औं महाधिवेशनमा कांग्रेसका करिब ४३ सय महाधिवेशन प्रतिनिधि चुनिएका थिए । तर महासमिति सदस्य भने केही जिल्लामा मात्र चयन गरिएको अवस्था छ । महासमिति बैठकलाई नीति महाधिवेशनमा परिवर्तन गर्दा महासमिति सदस्य छान्नुपर्ने छ ।

नेता शेखर कोइराला महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्न सकिने बताउँछन् । ‘नीति महाधिवेशन गर्नैपर्छ । अबको केन्द्रीय कार्यसमिति बैठकले मिति तोक्नुपर्छ । हामी तत्काल नीति महाधिवेशनतिरै जानुपर्छ ,’ कोइरालाले भने ।

यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नीतिमाथि छलफल महासमिति बैठकमा गर्न सकिने बताउँछन् । ‘नीतिमाथि छलफल महासमिति बैठकमा गर्न सकिन्छ । त्यसैले नीति महाधिवेशन महासमिति बैठकलाई नै बनाउन सकिन्छ,’ पौडेलको भनाइ छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वडादेखि प्रदेश कार्यसमितिको सम्मेलनमा आर्थिक, राजनीति र सांगठनिक प्रस्तावमाथि बहस थाल्न निर्देशन दिएका छन् ।

असार २१ र २२ गते केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिको बैठकमा उनीहरुले सम्मेलनलाई बहसको थलो बनाउन भनेका थिए ।

गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीका अनुसार सबै तहको सम्मेलनमा आर्थिक, राजनीति र सांगठनिक प्रस्ताव पेस गर्न महामन्त्रीद्वयको निर्देशन छ ।

‘पहिले हाम्रा सम्मेलनहरु औपचारिकतामा मिति हुन्थे । अब वडादेखि प्रदेश कार्यसमितिलाई सम्मेलन गर्दा आर्थिक, राजनीति र सांगठनिक प्रस्तावमाथि बहस गर्न महामन्त्रीले निर्देशन दिनुभएको छ,’ उनले भने, ‘सम्मेलनमा तयार पारेको प्रस्तावलाई केन्द्रीय नीति महाधिवेशनमा समेट्ने महामन्त्रीको तयारी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप