आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

शनिबार, ३० असार २०८०, १४ : २०
शनिबार, ३० असार २०८०

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौं, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।” 

संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उनले अब संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताए ।“प्रतिपक्षी पनि विधेयकको पक्षमा हुनुहुन्छ । यसलाई हामी चाँडै संसद्बाट पारित गर्छौं”, उनले भने । सरकारले संसद्मा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ ।

विधेयकलाई ऐनका रुपमा लैजान मिल्दैन कि भन्ने चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उनले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “संवेदनशील मुद्दामा कानुनी ग्याब लामो राख्न नमिल्ने भएकाले संसद् खुल्दा पारित हुने गरी काम अघि बढेको छ ।”

ललिता निवास प्रकरणका सम्बन्धमा उनले भने, “कसलाई पहिला पक्राउ गर्ने, पहिला कस्लाई अनुसन्धान गर्ने, अभियोजन दर्ता गर्ने भनेर व्यक्ति हेरेर किटान गर्ने र प्रक्रिया अघि बढाउने गर्दैनौं ।” प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उनको भनाइ थियो । “अनुसन्धानका लागि प्रहरी संयन्त्रलाई दबाब दिन मिल्दैन र दिँदैनौ”,  उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन भनेका छौँ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप