आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विधेयक

मिटरब्याज सम्बन्धी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

आइतबार, ३१ असार २०८०, ११ : ४९
आइतबार, ३१ असार २०८०

काठमाडौं । नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिए । 

शनिबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले मिटरव्याजबारे सरकारले ‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने’ सरकारको यस छलकपट र द्वैध भूमिकाको पार्टी भर्त्सना गरेको थियो । 

साथै, बैठकले सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराएको थियो । 

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार बैठक बसिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले सभामुख देवराज घिमिरे, कांग्रेसका नेताहरू र कानुनमन्त्री धनराज गुरुङलाई भेटेर उक्त विधेयक अघि बढाउन सुझाव दिएका थिए । सोही सहमतिअनुसार एमालेले सो विधेयक पारित गर्न सहयोग गर्ने भएको हो । 

‘यो विधेयक ल्याउनुपर्छ भनेर हामीले पहिलेदेखि नै भनेका हौ । तर सरकारले यसमा सारै ठुलो हेलचेक्राई गर्‍यो । प्रक्रियामा पनि हेलचेक्राई नै गर्‍यो तर जे भए पनि हामी यसलाई अड्काउने पक्षमा कहिल्यै छैनौ’, नेता नेम्वाङको भनाइ छ । नेता नेम्वाङले आइतबार बिहान अध्यक्ष ओलीसँग समेत छलफल गरेर उक्त विधेयक अड्काउन नहुने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप