किन प्रभावित भयो नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडान ?
काठमाडौँ । मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानमा रहेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ९एन–एकेडब्लू जहाजको ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको छ ।
जहाज क्वालालम्पुरबाट बिहान ५ः१० बजे काठमाडौँका लागि उड्ने सेड्युल रहेको थियो । तर, उडान भर्ने क्रममा अक्सिजनको लेभल चेक गर्दा कम पाइएपछि उडान प्रभावित हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
तर, अक्सिजनको जोहो गरेर यतिबेला जहाज उडानका लागि तयार भइसकेको प्रवक्ता पौडेलले रातोपाटीलाई जानकारी दिए ।
निगमको उक्त जहाज चरा ठोकिएर ग्राउण्डेड भएको एक हप्तापछि हिजो मात्र मर्मत पश्चात् मलेसियाको उडान भरेको थियो । भारतको बैंकलोरबाट प्राविधिक झिकाएर जहाज मर्मत गरेर बेलुका ८ बजे १७६ जना यात्रु बोकेर जहाज क्वालालम्पुर उडेको थियो ।
सोही जहाज बिहान अक्सिजनको कमीका कारण केही समय एयपोर्टमै होल्ड हुन पुगेको छ भने नेपाल आउन टिकट काटेका १७६ यात्रु रोकिन पुगेका छन् ।
तर प्रवक्ता पौडेलका अनुसार उक्त जहाज स्थानीय समय अनुसार ३ बजे नेपाल उड्नेछ । क्वालालम्पुरबाट भैरहवा विमानस्थल अवतरण हुने उक्त जहाज बेलुका ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।