आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन प्रकरण

भन्सार कार्यालयबाटै कसरी गायब भयो एक किलो सुन ?

सेक्युरिटी गार्डले सीसीटीभी बन्द गरेर चोरी गरेको आधा किलो सुन कहाँ छ ?
मङ्गलबार, ०२ साउन २०८०, १८ : १९
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट विभिन्न व्यक्तिको मिलेमतोमा तस्करीका माध्यमबाट आएको ९ किलोग्राम सुन भन्सार कै नायब सुब्बा र भन्सार एजेण्टहरुको मिलेमतोमा चोरी गरी विक्री गरिएको भन्दै सरकारले ९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

सो प्रकरणमा अदालतले ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएका एक व्यक्तिलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको करिब २ महिना लामो अनुसन्धानबाट तस्करी भई आएको सुन चोरी गरी विक्री वितरण गरेको पुष्टि भएको थियो । सीआइबीले ९ किलोग्राम सुनको चोरी र विक्रीको हिसाब निकाले पनि सुन भने ९ किलो नभएर १० किलो तस्करी भएको स्रोतले दाबी गरेको छ ।

दुबईबाट सुन किन्ने समूहले १० किलोग्राम सुन ल्याएको र त्यसमध्ये ९ किलो सुनको मात्रै हिसाब देखिएका कारण एक किलोग्राम सुन अझै गायब भएको देखिन्छ । गायब भएको सुनमध्ये करिब आधा किलो सुन सेक्युरिटी गार्ड निर्मल विकले चोरी गरेको भए पनि बाँकी आधा किलो सुनको भने न हिसाब छ, न त त्यसको ‘क्लु’ नै पत्ता लागेको छ ।

पहिला ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी र भन्सारबाट भएको चोरीबारे चर्चा गरौं ।

‘भेप’मा सुन तस्करीको नालीबेली

फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट २०७९ पुस १० गते नेपाल आएका चिनियाँ यात्रु ली हानसोङको लगेज शंकास्पद भेटियो । एक्स–रेका क्रममा उक्त लगेजभित्र ‘भेप’ भनिएको सामानभित्र सुनजस्तै घनत्व बढी भएको धातु रहेको संकेत दिने कालो धब्बा देखिएको थियो ।

त्यसपछि थप अनुसन्धान गर्न लगेजमा ‘आरसी’ अर्थात् रेड च्यानलको ट्याग लगाइयो । पुनः एक्स–रे गर्दा समेत शंकास्पद देखिएपछि लगेज खोलेर हेरियो । लगेजमा ठूलो परिमाणमा भेप थियो । यत्तिका सामान एलसी नखोली लगेजमा किन ल्याएको भनी हानसोङलाई सोधियो । उनले ‘हाइड्रोपावरमा काम गर्ने चिनियाँ नागरिकका लागि ल्याएको’ भन्ने जवाफ दिए ।

व्यापारिक प्रयोजनका लागि सामान ल्याइएको भन्दै भन्सारले उक्त सामानको थप अनुसन्धान नगरी भेप नै हो भनेर जफत गर्ने निर्णय ग¥यो र जफतको निस्सा यात्रुलाई पनि दियो । लगेजको अनुसन्धान गरेपछि राजस्व तिराएर यात्रुलाई नै दिने वा जफत गर्ने भन्ने अधिकार भन्सारलाई रहन्छ । अवैध सामान ल्याएको भए व्यक्ति समेतलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ ।

जफत गरिएको उक्त सामानलाई डेढ महिनाभन्दा बढी विमानस्थल भित्रैको स्टोरमा राखी २०७९ माघ २९ गते मात्रै मुद्दा शाखामा दाखिला गरियो । त्यति बेलासम्म उक्त सामानका बारेमा कसैलाई केही जानकारी थिएन ।

दुई वटा सुटकेसमा रहेका ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) रहेको मुचुल्का तयार भएको थियो । उक्त ‘भेप’को व्यवस्थापन गर्ने जिम्मा नायब सुब्बा सरोज श्रेष्ठले लिएका थिए । सामान थन्क्याउने समयमा सरोजले भन्सार कार्यालयमै कार्यरत निजी कम्पनीका सेक्युरिटी गार्ड निर्मल कुमार विकको सहयोग लिए ।

सामान बोक्न र थन्क्याउने क्रममा सेक्युरिटी गार्ड विकले एउटा भेप निकालेर धुवाँ तान्ने कोसिस गरे, तर धुवाँ नआएपछि भेपभित्र अरु केही हुनुपर्छ भनी त्यसलाई आफ्नो खल्तीमा हाले । घर गएर भेप खोली हेर्दा उनले पहेँलो धातु पाएका थिए ।

त्यो सुन हो कि होइन भन्ने विकलाई थाहा थिएन । त्यसपछि विकले साथी अविनाश राउतलाई सम्पर्क गरी ‘यो मेरो गर्लफ्रेन्डले दिएको हो, सुन पनि हो कि होइन ! चेक गरेर सिक्री बनाउनुप¥यो’ भने । साथी अविनाशले चिनेको एक सुन पसलमा गई चेक गरी सुन नै रहेको पत्ता लागेपछि उक्त सुनबाट सिक्री बनाए । यसरी भेप भनी जफत गरिएको सामानभित्र सुन भएको कुरा सेक्युरिटी गार्ड निर्मल कुमार विकले थाहा पाए ।

सीसीटीभीको बत्ती बन्द गराएर पटकपटक चोरी

जफत गरिएको भेप भनिएको सामानभित्र सुन रहेको कुरा सुरुमा सेक्युरिटी गार्ड विकलाई मात्रै थाहा थियो । सेक्युरिटी कम्पनीबाट भाडामा लिइएका विकको धेरैजसो ड्युटी गोदाम वरिपरि नै हुने गर्थ्यो । तर गोदाममा सीसीटीभी निगरानी हुने भएकाले विकले बाँकी सामान चोरी गर्न पाएनन् ।

तर नष्ट गर्ने तयारी गरिएको भेपभित्र सुन रहेको चाल पाएका विकको छटपटी बढ्न थाल्यो । त्यसपछि अन्य साथीसँग सेटिङ मिलाएर गोदाम वा सो नजिकैको जिम्मेवारी लिन थाले ।

विकलाई त्यहाँ भएको सीसीटीभीमा कहाँबाट बत्ती जान्छ र कहाँको बत्ती काटेमा त्यहाँको सीसीटीभी बन्द हुन्छ भन्ने कुराको जानकारी थियो । त्यसपछि विकले गोदामको सीसीटीभी क्यामेरामा जाने बत्तीको लाइन काट्ने र त्यही मौकामा भेपमा रहेको सुन चोरी गर्ने योजना बनाए ।

तर एकैपटक सामान चोरी गर्न नमिल्ने र झोलासमेत बोक्न नपाउने हुँदा एकैपटक धेरै मात्रामा चोरी गर्दा पक्राउ परिने डरले विकले दैनिकजसो चोरी गर्न थाले । त्यसका लागि उनले सीसीटीभी क्यामेरामा जाने बत्तीको लाइन काट्न ‘एमसीभी’ डाउन गर्ने र तत्काल गोदाममा गई दैनिक एक वा दुई थान भेप चोरी गर्ने गरे । यसरी उनले पटकपटक गरी ४० थान भेप चोरी गरिसकेका थिए ।

लाइन काट्दाकाट्दै पक्राउ परे विक

भेपभित्र रहेको सुन चोरीमा पल्किएका विकले सधैँजसो गरी एकदिन चोरी गर्नका लागि सीसीटीभीमा जाने बत्तीको एमसीभी झार्दै थिए । त्यही क्रममा भन्सारमै काम गर्ने अर्को कर्मचारीले देखेपछि त्यसको जानकारी भन्सार प्रशासनलाई गराए ।

भन्सार प्रशासनले सोधपुछ गर्दा एमसीभी झार्नुको सम्बन्धमा विकले स्पष्ट जवाफ दिएनन् । गोदामभित्र जान नपाउने विक गोदामभित्रै पनि गइरहेको अर्का कर्मचारीले पहिले पनि देखेको कुरा प्रशासनले थाहा पायो ।

त्यतिबेला छानबिन गर्दा प्रशासनले सीसीटीभी बन्द गराएर चोरी गरेकोबारे थाहा पाएन । भन्सार कार्यालयले निर्मल विकको हर्कतबारे सेक्युरिटी कम्पनीलाई जानकारी गरायो । कम्पनीले तत्कालै विकलाई बर्खास्त गर्ने निर्णय ग¥यो । त्यसपछि विक बर्खास्त भए ।

तर भेपभित्र अझै करोडौं मूल्यको सुन रहेको जानकारी पाएका विकको छटपटी हटेको थिएन । त्यसपछि उनले केही साथीसँग मिलेर चोरी गर्न सकिन्छ कि भनेर प्रयास गरे । तर त्यसमा उनी सफल हुन सकेनन् । त्यसपछि उनै विकले केही व्यक्तिलाई भेपभित्र सुन रहेको बारेमा जानकारी गराए । त्यसको जानकारी भन्सारका तल्ला तहका केही कर्मचारीलाई भयो ।

... अनि भयो एजेण्ट दिनेशको प्रवेश

जफत र पछि नष्ट गर्ने भनिएको सामानमा धेरै मात्रामा सुन रहेको जानकारी पाएका भन्सार एजेन्ट दिनेश बस्नेतले सो कुरा भन्सारकै गोदाम शाखा हेर्ने नायब सुब्बा रेवन्त खड्कालाई सुनाए । २०७९ फागुन २० गते नासु रेवन्त खड्का र एजेन्ट बस्नेत सँगै गोदाममा गई उक्त भेप खोल्दा साँच्चिकै सुन रहेको थाहा भयो । नासु खड्काकै सहयोगमा एजेन्ट बस्नेतले सक्कली भेप ल्याई सुन राखिएको भेपसँग साटफेर गरे ।

एजेन्ट दिनेश बस्नेतको बयान अनुसार, कुल ९ किलोग्राम बराबरको सुन भएको भेप लगी बिक्री गरिएको छ । दिनेशका भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको सम्पर्कबाट बिक्रीका लागि उक्त सुन भएको भेप वेदप्रकाश अग्रवालसमक्ष पुगेको पाइएको थियो ।

भेपमा राखिएको सुन साटफेर गरेर विक्री गरेको अभियोगमा पक्राउ परेका रेवन्त र दिनेशले ४ वटा बट्टामा रहेको ४० थान भेप गायब भएको बयान दिए । कुल ७३ बट्टामध्ये ६९ बट्टामा मात्रै ‘भेप’ रहेको र ४ वटा बट्टा खाली रहेको उनीहरुले बयान दिएका थिए । एक बट्टामा १० वटा भेप राखी ल्याइएको थियो ।

भन्सार कार्यालयले नै गरेको आन्तरिक छानबिनका क्रममा सुरुमा उक्त भेपको चोरी सेक्युरिटी गार्डले गरेको पाइएको थियो । पछि उक्त चोरीमा भन्सारकै नायब सुब्बा रेवन्त खड्का र भन्सार एजेण्ट दिनेश बस्नेतको संलग्नता रहेको पुष्टि भएपछि भन्सार कार्यालयले उक्त विषयमा अनुसन्धान गर्न सीआईबीको जिम्मा लगाएको थियो ।

सीआईबीको अनुसन्धानका क्रममा पनि सेक्युरिटी गार्डले एकपटक भेप चोरेर खल्तीमा हालेको देखिए पनि पछि चोरी गरेको पाइएन । तर बाहिरी सुरक्षामा बस्नुपर्ने सेक्युरिटी गार्ड पटकपटक गोदामको नजिक वा गोदामभित्र प्रवेश गरेको पाइएको थियो ।

सीआईबीले गरेको अनुसन्धानका पनि क्रममा कैयनपटक गोदामको सीसीटीभी क्यामेरा बन्द भएको पाइएको थियो, जसका कारण त्यहाँ को गयो र को गएन भन्ने जानकारी सीआईबीले पाउन सकेको थिएन ।

सीआईबीका अधिकारीसमक्ष चुहाएको त्यो सूचना

सीआईबीले सेक्युरिटी गार्ड विकले चोरी गरेको सुन मध्येबाट एउटा सिक्री बरामद गरेको छ । तर विकसँग पटकपटक बयान लिए पनि बाँकी रहेको सुनको बारेमा उनले कुनै जानकारी दिएका छैनन् । बरु विकले आफूले त्यही एउटामात्रै भेप चोरेको र त्यसबाटै सिक्री बनाएको बयान दिएका छन् ।

सीआईबीका अधिकारीले सोधेको ‘सीसीटीभी क्यामेरामा देखिन्छ भनेर डर लागेन ?’ भन्ने प्रश्नमा विकले सीसीटीभीमा नदेखाउन पनि सकिन्छ नि भन्ने जवाफ र क्लु दिए पनि सीआईबीले विकले चोरी गरेको बाँकी सुन फेला पार्न सकेन । सीआईबीका अनुसार विकले कुल ४० वटा भेपबाट करिब ५०० ग्रामजति सुन चोरी गरेका छन् ।

एउटा भेपमा थियो १० देखि १७ ग्राम सुन

सीआईबी स्रोतका अनुसार एउटा भेपमा १० देखि १७ ग्रामसम्म सुन थियो । विकले सीसीटीभीको ‘पावर कट’ गरेर ४० थान भेप चोरी गर्दा औसतमा १३ ग्रामका दरले ५२० ग्राम अर्थात् आधा केजी सुन चोरी गरेका छन् । तर सीआईबीले विकबाट न त्यो सुन बरामद गर्न सक्यो, न विक्री गरी जोडेको सम्पत्ति नै । सीआईबी स्रोतले भने अझै अनुसन्धान बाँकी रहेको र त्यो सुनको पनि खोजी भइरहेको बताएको छ ।

कहाँ हरायो आधा किलो सुन ?

चिनियाँ नागरिक ली हानसोङले दुबईबाट तस्करी गरी ल्याउँदा १० किलो सुन ल्याएको सीआईबी स्रोतको दावी छ । सीआईबीका एक अफिसरले रातोपाटीसँग भने, ‘तस्करले सुन ल्याउँदा ९ किलो २ सय २५ ग्राम वा त्यस्तै भन्ने हुँदैन । किलो–किलोमा किन्ने हो र यहाँ पनि १० किलो सुन किनेर ल्याएको हाम्रो विश्लेषण छ । तर नासु रेवन्त खड्का र एजेण्ट दिनेश बस्नेतले विक्री गरेको सुनको तौल ९ किलोमात्रै भएको भनिएको छ । हामी बाँकी एक किलो सुनको खोजीमै छौँ । त्यसमध्ये आधा सुन सेम्युरिटी गार्ड निर्मल विकले नै चोरेको हो भन्ने हाम्रो विश्लेषण छ । बाँकी आधा किलो सुन कहाँ गयो भनेर पनि खोजी भइरहेको छ ।’

सीआईबीलाई लागेको अर्को शंका भनेको ६९ बट्टामा रहेको सुनमध्ये तौलमा केही फरक पारिएको र तौल कम देखाएर दिनेशका भाइ दिपेश बस्नेत र दिनेशका भिनाजु गोपाल सुवेदीले छ्याकन लिएको हुनसक्छ । त्यो तौल आधा किलोजति भए पनि बाँकी आधा किलो भने सेक्युरिटी गार्ड निर्मल विकले नै कतै लुकाएको हुनसक्ने भन्दै त्यसबारेमा थप अनुसन्धान भइरहेको सीआईबीको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप