आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

मिस्टर नेपालको दौडमा विद्यार्थी, डाक्टरदेखि पाइलटसम्म

बुधबार, ०३ साउन २०८०, १२ : ०२
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । न्यु लुक ‘मिस्टर नेपाल २०२३’ आगामी शनिवार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा एक भव्य समारोहका बीच आयोजना हुँदै छ । प्रतियोगिताको फाइनल स्पर्धामा १९ प्रतियोगी उपाधिका लागि भिड्दै छन् । प्रतियोगितामा शीर्षसहित विभिन्न उपशीर्षकमा पनि विजेता छानिने छ । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा पाँच लाख बराबरको पुरस्कार जित्न सक्ने छन् ।

देशभर आयोजना भएको अडिसनमा हजारौँ सहभागीबाट पहिलो चरणका लागि तीन सय प्रतियोगी छानिएका थिए । तीन सय जनाबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० जना छानिएका हुन् । छानिएका २० मध्येका प्रतियोगी नम्बर ११ केही समयअगाडि स्पर्धाबाट बाहिरिएपछि फाइनलमा १९ जना मात्र भिड्ने भएका हुन् ।

छानिएकाहरूमा प्लसटुका विद्यार्थीदेखि शिक्षक, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन र पाइलटसमेत छन् । सबै प्रतियोगी स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी प्रशिक्षणसहित फाइनलका लागि तयारी अवस्थामा छन् ।

‘मिस्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरूको सहभागिता रहने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । 

यो पटक मिस्टर नेपाल ‘न्यु लुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुँदै छ । प्रयोजक न्यु लुक ब्युटी फर लाइफ भएको कारण नामको अगाडि न्यु लुक जोडिएको हो ।

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिक प्रतियोगीको रूपमा छन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् । प्रतियोगिता विगतको भन्दा अझ भव्य हुने आयोजकको दाबी छ ।

विद्यार्थीदेखि पाइलटसम्म प्रतियोगी

सौन्दर्य प्रतियोगिता भन्नेबितिक्कै केही अगाडिसम्म मानिसहरू महिलाका लागि हो भन्ने गर्थे । अहिले बिस्तारै यो सोचमा परिवर्तन आएको छ । पछिल्लो समय पुरुषहरू केन्द्रित सौन्दर्य प्रतियोगिता पनि थुप्रै हुन थालेका छन् ।

बिस्तारै बढ्दै गएको पुरुषहरूको सौन्दर्य प्रतियोगिताप्रति मानिसहरूको आकर्षण बढ्न थालेको छ । प्रतियोगी खोज्ने अवस्थाबाट सुरु भएको पुरुषहरूको सौन्दर्य प्रतियोगितामा अहिले भिडभाड बढ्न थालेको छ । जसको कारण विभिन्न चरणबद्ध अडिसन गरेर आयोजकले अन्तिम प्रतियोगी छान्न थालेका छन् ।

केही समय अगाडिसम्म सौन्दर्य प्रतियोगितामा बेरोजगार, मोडलिङ र कलाकारितामा रुचि भएकाहरूको मात्र सहभागिता देख्न सकिन्थ्यो । पछिल्लो समय भने डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन र पाइलट जस्ता समाजका प्रतिष्ठित पेसामा रहेका पनि भाग लिन थालेका छन् । ‘मिस्टर नेपाल २०२३’ को २० प्रतियोगितामा पनि विभिन्न क्षेत्रका व्यक्ति छन् ।

प्रतियोगितमा यस पटक प्रतियोगी १ मा काठमाडौँ मैतिदेवीका २७ वर्षीय निमेश कपाली छन् । रेमिटेन्स कम्पनीमा कार्यरत उनको मिस्टर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा अझ सशक्त बनाउने उद्देश्य छ । फेसन र मोडलिङमा करियर बनाउने उद्देश्य लिएका कपाली २०२२ मै यो प्रतियोगितामा आउन चाहन्थे । विभिन्न कारणले त्यो समय सहभागी हुन सकेनन् ।

प्रतियोगी २ मा महेन्द्रनगरका २५ वर्षीय राजन ऐर छन् । कलाकारिता र मोबाइल टेक्निसियन केही सिक्ने र गरेर देखाउन उद्देश्यले प्रतियोगितामा सहभागी भएका हुन् । सफल अभिनेता बन्ने लक्ष्य राखेका उनी उपाधि हासिल नभए पनि यहाँ सिकेको कुरो आफ्नो ठाउँमा गएर धेरैलाई बाँड्ने बताउँछन् । मिस्टर नेपालको उपाधि हात पर्यो भने विश्वमा नेपाली भाषा र संस्कृति फैलाउने उद्देश्य ऐरको छ ।

त्यस्तै प्रतियोगी ३ मा भक्तपुरका २५ वर्षीय असिम लामिछाने छन् । सफ्टवेयर कम्पनीमा मार्केटिङ म्यानेजरका रूपमा कार्यरत उनी देशमै केही गरेर विदेशिन लागेकालाई देशमै रहन प्रेरित गर्ने रहेको छ ।

प्रतियोगी ४ मा कञ्चनपुर सुदूरपश्चिमका रोहित भट्ट छन् । भर्खर प्लसटु सकेका उनी मिस्टर नेपाल प्रतियोगितामा आफूलाई अगाडि बढाउन राम्रो प्लेटफर्म देखेकाले सहभागी भएका हुन् । आर्थिक रूपमा सक्षम बन्ने र त्यसपछि  समाज सेवा गर्ने योजना उनको छ । उनी नेपाली राष्ट्रिय फूल लालिगुराँस, हिमाल लगायतको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउन सकिने बताउँछन् ।

प्रतियोगी ५ मा भक्तपुरका ३१ वर्षीय रोहिम धौभडेल छन् । पेसाले कम्प्युटर इन्जिनियर केही अगाडि मात्र अमेरिकाबाट फर्किएका हुन् । मोडलिङ र स्टेज शोमा रुचि भएका उनी आफूलाई चिनाउन र कम्फर्ट जोनबाट बाहिर निस्किन प्रतियोगितामा सहभागी भएको बताउँछन् ।

प्रतियोगी ६ मा विराटनगरका ३२ वर्षीय समर्पण कार्की छन् । उनी पेसाले पाइलट हुन् । बुद्ध एयरका पाइलट उनीसँग २० देशको भ्रमण र अन्य थुप्रै अनुभव छ । विभिन्न देशमा सिकेको ज्ञान देशमा बाँड्न र युवाको प्रेरणाको स्रोत बन्न उनी मिस्टर नेपालमा सहभागी भएका हुन् । मिस्टर नेपाल जिते मिस्टर वर्ल्डमा पुगेर देश राम्रासँग चिनाउने उनको सोच छ ।

यस्तै प्रतियोगी ७ मा ललितपुरका २३ वर्षीय लोकेश प्रधानाङ्ग छन् । उनी पेसाले चार्टर एकाउन्टेन्ट हुन् । आफ्नै पब्लिकका लागि केही गर्ने उद्देश्य राखेका उनी भविष्यमा बिजनेस र समाज सेवा गर्न चाहन्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सगरमाथा, गौतबुद्ध र भाषा संस्कृति अगाडि सार्नुपर्ने उनको धारणा छ ।

प्रतियोगी ८ मा झापाका रिकेश प्रसाई छन् । पेसाले टिचर उनी मानवताका लागि केही गर्न सकिन्छ भनेर मिस्टर नेपाल सहभागी भएका हुन् ।

प्रतियोगी ९ मा चितवनका विजय दुवाडी छन् । एमबीबीएसका विद्यार्थी उनी चेपाङ बस्तीका लागि दीर्घकालीन काम गर्ने सोच राख्छन् । डाक्टरमार्फत मानसिक स्वास्थ्य उपचार क्षेत्रमा सेवा गर्ने उनको लक्ष्य छ । मिस्टर नेपालकै लागि उनले आफ्नो वजन ९ किलो घटाएका छन् ।

प्रतियोगी १० गोर्खाका २५ वर्षीय राजीव तिवारी छन् । उनी शिक्षक हुन् । अहिले सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरिरहेका उनको सफल अभिनेता बन्ने लक्ष्य छ । सामाजिक कार्यक्रममा समेत रुचि भएका उनी सानैदेखि मोडलिङ र अभिनयमा रुचि राख्थे । नेपाललाई वातावरण, हेरिटेज र हाइड्रोपावरका रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा छ ।

प्रतियोगी ११ मा ललितपुरका अनुभव जोशी थिए । उनले कही अगाडि मात्र व्यक्तिगत कारणले प्रतियोगिता छोडे ।

प्रतियोगी १२ मा सर्लाहीका १७ वर्षीय आयन राज चौधरी छन् । प्लसटुका विद्यार्थी उनी मोडलिङ र बिजनेसमा रुचि राख्छन् । मिस्टर नेपाल जितेर मिस्टर वर्ल्डमा सहभागी हुन पाए देशलाई उत्कृष्ट तवरबाट चिनाउने उनी बताउँछन् ।

प्रतियोगी १३ मा ललितपुरका १९ वर्षीय मिकाज कार्की छन् । कम्प्युटर साइन्सका विद्यार्थी कार्की प्लसटु सकेर बसेका छन् । आफूलाई अगाडि बढाउने राम्रो प्लेटफर्म मिस्टर नेपाल देखेको कारण सहभागी भएको बताउने मिस्टर नेपालले विभिन्न अवसरको ढोका खोल्नेमा विश्वस्त छन् । नेपालकै राम्रो व्यवसायी बन्ने लक्ष्य उनको छ ।

प्रतियोगी १४ मा अछामका २२ वर्षीय डायमण्ड ढुङ्गाना छन् । डाक्टर अध्ययन गरिरहेका उनको भविष्यमा राम्रो डाक्टर बनेर नाम कमाउने उद्देश्य छ । २०१९ का मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायलाई आफ्नो प्रेरणा मान्ने उनी सामाजिक कार्यकर्तामा रुचि राख्छन् । केही सिक्न र सिकेको कुरो समाजमा सिकाउन प्रतियोगितामा सहभागी भएको उनी बताउँछन् ।

प्रतियोगी १५ मा विराटनगरका १९ वर्षीय रमननाथ गिरी छन् । म्यानेजमेन्टका विद्यार्थी उनको सानैदेखि गायनमा रुचि छ । नारायणगोपाल जस्तो गायक बन्ने लक्ष्य लिएका उनी मिस्टर नेपालबाट आफूलाई अगाडि बढाउन सजिलो हुने भएकाले सहभागी भएका हुन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बुद्ध, सगरमाथा र कलासंस्कृति प्रचार गर्नुपर्ने उनको धारणा छ ।

प्रतियोगी १६ मा पोखराका १९ वर्षीय विद्यार्थी स्वप्निल अधिकारी छन् । उनी गणितमा बीएस्सी गर्दै छन् । मोडलिङबाट देशका लागि केही गरेर देखाउने सोच राख्ने उनको अभिनय, नृत्य र घुमघाममा रुचि छ ।

प्रतियोगी १७ मा जनकपुरका २३ वर्षीय प्रेमकुमार यादव छन् । फिटनेसमा रुचि राख्ने उनी जिम ट्रेनर हुन् । फिटनेसमै केही गर्ने सोच राख्छन् । फिटनेसबाट नै जीवन सफल बनाउन सकिन्छ भन्ने उनी सबैलाई फिटनेसमा सचेत रहन सुझाउँछन् । भविष्यमा पनि उनी आफूलाई फिटनेस गुरुका रूपमा अगाडि बढाउन चाहन्छन् । 

प्रतियोगी १८ मा पोखराका २८ वर्षीय दीपेन्द्र शाही छन् । रेडियो र टेलिभिजनमा सञ्चारकर्मीका रूपमा काम गर्दै आएका उनी केही सिक्न र आफूलाई सक्षम रूपमा अगाडि बढाउन मिस्टर नेपालमा सहभागी भएको बताउँछन् ।

प्रतियोगी १९ मा २१ वर्षीय काभ्रेका क्रियाशील श्रेष्ठ छन् । मन्डला थिएटर र एभरेस्ट फिल्म एकडेमीमा अभिनय सिक्दै रहेका श्रेष्ठले म्युजिक भिडियो, सर्ट फिल्म, विज्ञापन चलचित्रलगायत अभिनय गरेका छन् ।

प्रतियोगी २० मा दमकका २८ वर्षीय प्रवीण पाठक छन् । विद्यालय निर्देशक र इभेन्ट म्योजर उनी अहिले पनि प्रदेश स्तरीय सौन्दर्य प्रतियोगिता गर्दै आएका उनको भविष्यमा प्रधानमन्त्री बनेर देशको सेवा गर्ने छ । विश्वमा नेपाल चिनाउन नेपालको संस्कृति, हिमशृङ्खला अगाडि सार्नुपर्ने उनको धारणा छ ।

प्रतियोगिता र अवसर

पछिल्लो समय युवापुस्ताको सौन्दर्य प्रतियोगिताप्रति आकर्षण बढ्दो छ । प्रतियोगितामा आफूलाई निखार्न पनि पाइने र विभिन्न अवसरसमेत प्राप्त हुने भएकाले उनीहरू यसतर्फ लोभिएको देखिन्छन् ।

प्रतियोगितामा उपाधि जित्न सकियो भने चर्चा पनि राम्रै मिल्छ । त्यही भएर पनि मिस्टर नेपाललगायतको प्रतियोगिताप्रति आकर्षण बढ्दो रहेको कलाकार तथा इभेन्ट कोरियोग्राफर प्रशान्त ताम्राकार बताउँछन् ।

‘प्रतियोगिताबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्नसमेत पाइन्छ । त्यहाँ धेरै देशका प्रतिनिधिमार्फत धेरै कुरोको जानकारी मिल्छ’, ताम्राकारले भने ‘आफूलाई निखार्न पनि पाइने र अवसर पनि मिल्ने भएकाले यसको आकर्षण बढेको छ ।’ प्रतियोगितामा आएका प्रतियोगीले उपाधि हासिल गरे पनि नगरे पनि समाजमा अब्बल रूपमा आफूलाई अगाडि बढाउने ताम्राकारको धारणा छ ।

ताम्राकारको धारणामा मिस्टर नेपाल आयोजक रवि धमला पनि सहमत जनाउँछन् । उनी प्रतियोगिता एकले जिते पनि सबै प्रतियोगी विजेता बन्ने क्षमता राख्ने खालका हुने बताउँछन् ।

‘प्रतिस्पर्धामा एउटाले उपाधि जित्नु स्वाभाविक हो । यो नियम पनि हो’, धमलाले थपे, ‘उपाधि जित्न नसकेका प्रतियोगी पनि समाजमा अन्य मानिस भन्दा अब्बल र सक्षम भने भएर निस्किछन् । त्यो ठुलो कुरो हो ।’ प्रतियोगिता क्षणिक भए पनि प्रतियोगिताबाट सिकेको सीप र ज्ञान उसका लागि सबै उपयोगी हुने धमलाको धारणा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप