आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महामन्त्रीको कार्यक्रममाथि सभापति पुनले उठाए प्रश्न

बुधबार, ०३ साउन २०८०, १३ : १०
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री गगन थापाको एक वर्षीय कार्यक्रममाथि प्रश्न उठाएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘महामन्त्रीले हिजो प्रस्तुत गर्नु भएको कार्यक्रममा प्रदेश कार्यसमितिलाई जोड्ने काम खै ? अरू काम गर्दा पनि प्रदेशलाई खबर छैन ।’

देशव्यापी रूपमा सङ्घीयतामाथि प्रश्न चिन्ह खडा भएका बेला प्रदेश सरकारलाई पनि कमजोर बनाउने र सङ्घीय मोडलमा गएका संरचनालाई पनि कमजोर बनाउने तरिकाले केन्द्रीय नेताहरू चलेको सभापति पुनको आरोप छ । ‘जगदेखि सङ्गठन बलियो भयो भने मात्र राम्रो हुने हो । केन्द्रीकृत शैलीमा पालिकासम्म निर्देशन गर्ने र कार्यक्रम गराउने नाममा बीचका संगठनलाई बेवास्ता गर्ने काम राम्रो हुँदैन ।’

पार्टीका मातहत निकायलाई केन्द्रीय नेताले बेवास्ता गरेको भन्दै तलको संरचना खारेज गरिदिन सभापति पुनले चेतावनी दिए । ‘पार्टीका विभाग, भ्रातृ संस्थामा केन्द्रले आफैँ मान्छे राख्ने हो तलका सबै संरचना खारेज गरौँ । किन चाहियो तलको संरचना ? जो नेतासँग नजिक छ, त्यसलाई कार्यसमितिमा राखे भैगो ?,’ उनको प्रश्न छ ।

तहगत सिफारिसबाट जिम्मेवारी दिनुपर्ने पुनको भनाइ छ । पार्टीमा उठ्ने लेबी सबैभन्दा धेरै तल्लो तहलाई दिनुपर्ने उनले बताए ।

प्रदेश सांसदको लेबी प्रदेशमा राख्ने निर्णय पनि कार्यान्वयनमा नआएको पुनको दाबी छ । ‘क्रियाशील सदस्यबाट उठेको लेबी पनि केही प्रदेशमा गएको रहेछ । केही प्रदेशमा पैसा दिएको छैन । निर्णय अनुसार प्रदेश कार्यसमितिको खातामा पैसा जाने व्यवस्था अविलम्ब होस्,’ उनले भने ।

महामन्त्री थापाको कार्यक्रम प्रदेश कार्यसमितिलाई जोडेर जानुपर्नेमा उनको माग छ । यस्तै उनले केन्द्र र प्रदेश सरकारलाई पार्टीसँग जोड्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप