आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सिंहदरबार

सामान्य प्रशासनमा रमिता : मन्त्री र सचिवबीचको ‘टकराब’ उत्कर्षमा

बुधबार, ०३ साउन २०८०, १७ : ५४
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बुधवार अपराह्न स्थानीय तह क्षमता विकास महाशाखाका प्रमुख सहसचिव बलराम रिजाललाई आफ्नो च्यामबरमा बोलाए । स्वकीय सचिवमार्फत डाकिएका रिजाल झन्डै आधा घण्टासम्म आएनन् । 

मन्त्रीले बोलाउँदा मन्त्रालय मातहतकै कर्मचारी किन नआएको भन्दै मोदी कड्किए । एक कर्मचारीले मोदीलाई भने, ‘कार्यसम्पादन मूल्याङ्कन (कासमु) भर्ने बेलामा मन्त्रीलाई नभेट्न सचिवले उर्दी जारी गर्नुभएको छ । कार्यसम्पादनको अंक सचिवले दिने हो, मन्त्रीलाई नभेट्न भनिसकेपछि कसरी आउनु ?’

 ती कर्मचारीले मन्त्रालयको नीतिगत निर्णयमा सचिव  नै बढी जिम्मेवार हुने भन्दै निर्देशन नमान्दा सचिवले ‘इगो’ को रूपमा लिनसक्ने भएकाले सहसचिव बोलाउँदा आनाकानी गरेको  हुनसक्ने बताए । 

 सचिवले कासमु देखाएर मन्त्रीलाई नभेट्नु भनेर उर्दी जारी गर्नुको भने खास कारण रहेको खुलेको छ । मन्त्री र सचिवबीचको बढ्दो टकराबका कारण यो अवस्था आएको हो । 

पछिल्लो समय मन्त्री मोदी र सचिव कृष्णहरि पुष्करबीच दुरी बढ्दै गएको छ । मुख्य सचिवलाई भेट्न गएको भनेर सचिव लामो समय मन्त्रालयमा अनुपस्थित देखिएपछि केही दिनअघि मन्त्री मोदीले हाजिरीमा कैफियत लेखिदिएका थिए । सोही विषयलाई लिएर मोदी र पुष्करबीच ‘टकराब’ को अवस्था सिर्जना भएको छ । 

त्यसो त सचिव पुष्करले लामो समयदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यसचिव वैकुण्ठ अर्याललाई भेटेर आफ्नो सरुवा मागिरहेका छन् । उनले मन्त्रालयकै मातहतका वरिष्ठ कर्मचारी (सहसचिव र उपसचिव) लाई आफू केही दिनमै सरुवा हुने बताइरहेको एक उपसचिवले रातोपाटीलाई बताए । 

पुष्करको भनाइ उदृत गर्दै ती उपसचिवले भने,‘ कर्मचारीहरू सचिव भन्दा पनि मन्त्रीप्रति बढी जफावदेही हुन थाले, म अब यो मन्त्रालयमा बस्दिनँ, मैले सरुवा मागिसकेको छु।’ 

मन्त्री र सचिवबीच टकराब कतिसम्म छ भन्ने दुई घटनाबाट पनि बुझ्न सकिन्छ । मन्त्री मोदी दक्षिण कोरियाको भ्रमणमा जाँदा सचिव बिदाइ गर्न विमानस्थलमा पुगेका थिएनन् । 

यस्तै मन्त्री मोदी प्रतिनिधि सभामा जवाफ दिन जाँदा समेत सचिव पुष्करले ‘मुख्य सचिवकोमा जानुछ’ भन्दै नगएको मन्त्रालय स्रोतको भनाइ छ । ‘विभागीय मन्त्री विदेश जान लाग्दा विमानस्थलमा बिदाइ गर्न सचिव जानु पर्दैन ? अनि प्रतिनिधि सभामा जवाफ दिन जाँदा सचिव जानु पर्दैन ?’ भन्दै मन्त्रीले आक्रोश पोख्दै आएका छन् । 

सचिव पुष्करले मन्त्री मोदीले सरुवामा अनावश्यक हस्तक्षेप गरेको, जुनियर कर्मचारीका अगाडि आफूमाथि राम्रो व्यवहार नगरेको, कर्मचारीको वृत्ति विकासमा भन्दा दलीय स्वार्थमा निर्णय गर्न दबाब दिएको जस्ता असन्तुष्टि पनि पोख्ने गरेका छन् ।

यस्तै बजेटको समयमा ‘बहुक्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत सचिवले सल्लाहै नगरी आफूखुसी ७० करोड रुपैयाँ छुट्टयाएको घटनाले पनि मन्त्री मोदी पुष्करसँग रुष्ट भएको देखिन्छ । स्रोतले भन्यो, ‘पोषण कार्यक्रमलाई लिएर सल्लाहै नगरी बजेट छुट्याएपछि पुष्करसँग मोदी कड्किएका थिए ।’ 

विवादका बीच पुष्करले मन्त्री मोदीसँग काम गर्न अफ्ठ्यारो भएको भन्दै आफूलाई सामान्यबाट सरुवा गरिदिन पटक पटक प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरिसकेका छन् । उनले गृह र अर्थ मन्त्रालयमा जान इच्छा देखाउँदै आएका छन् । 

 तर, प्रधानमन्त्री प्रचण्डले ‘तपाईँ मेरै क्याम्पको हो, राम्रै मन्त्रालयमा पठाउँछु’ भनेर थमथमाउँदै आएका छन् ।

यसैबीच मोदीलाई नै सो मन्त्रालयबाट हटाउने र जनमतलाई पठाउने सूचना समेत चुहिएको छ । 

 सीके राउत नेतृत्वको जनमत पार्टीले मन्त्री बनाउन अनिता साहको नाम पठाइसकेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन बैठकमा पनि राउतलाई सामान्य प्रशासनकै नेतृत्व लिन सुझाएका थिए । तर, राउतले विकासे मन्त्रालय चाहिने अडान राखेकाले मन्त्रीको हेरफेरमा ढिलाइ भएको बताइन्छ ।

मन्त्री हटाउने हल्लापछि सचिव पुष्करले मोदीलाई झन् टेर्न छाडेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । 

मन्त्री मोदीले भने आफूले नेतृत्व गरेको मन्त्रालयमा कर्मचारीको बेथिति हटाउन छड्के गर्दा कोही रिसाउनुपर्ने र कोही खुसी हुनुपर्ने कारण नरहेको बताए । ‘हैन हामीबीच राम्रै सम्बन्ध छ । त्यस्तो केही छैन’, सचिवसँग विवाद बढेको हो भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘उहाँको काम उहाँले गर्ने हो, मेरो काम मैले गर्ने हो ।’ 

सचिव पुष्करले पनि आफ्नो र मन्त्रीको बीचमा कुनै टकराब नरहेको जिकिर गरे । उनले आफूबारे गलत हल्ला फैलाइएको दाबी गर्दै मन्त्रीसँग सम्बन्ध हार्दिक रहेको बताए । ‘कासमु भर्नेबेलामा मैले कर्मचारीको सरुवा नगरौँ भनेको हो । अरु केहीपनि होइन’, उनले भने, ‘सबै राम्रै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप