आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

खतराबाट देश बचाउने हो भने वामपन्थीहरुकै सरकार बन्नुपर्छ : झलनाथ खनाल

‘एमसीसी र नागरिकता विधेयकमा पार्टीको भूमिका सकारात्मक भएन, खिचडी सरकारको काम खिचडी नै छ’
बुधबार, ०३ साउन २०८०, १८ : ३५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । असार २९ गतेदेखि ३ दिनका लागि भनेर बोलाइएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक अहिलेसम्म सकिएको छैन । १५ सदस्यीय सचिवालयमा अध्यक्षबाहेकका सबै नेताले आफ्ना धारणा राखिसकेका छन् ।

संगठन सुदृढीकरण अभियानदेखि समग्र राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे छलफल गर्न बसेको बैठकमा नेताहरुले पार्टीको स्पष्ट नीति, कार्यक्रम र कार्यदिशासहितको लक्ष्य निर्धारणमा जोड दिएका छन् ।

बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका सम्मानित नेता झलनाथ खनालले त सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक हिसावले पार्टी अत्यन्त कमजोर अवस्थामा रहेको भन्दै बैठकले स्पष्ट मार्गदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै उनले एमसीसी, नागरिकता विधेयक लगायतका विषयमा पार्टीले लिएको नीति नै गलत भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

त्यसको अलावा नेता खनालले पार्टीको महाधिवेशन समेत अविलम्ब गरेर तदर्थवादमा चलेको पार्टीलाई संस्थागत बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको सचिवालय बैठककै विषयमा केन्द्रित रहेर रातोपाटीले नेता खनालसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तीन दिनका लागि बोलाएको पार्टीको बैठक निकै पेचिलो बन्यो र सोही कारण बैठक लम्बियो भन्ने सुनियो । खास के के विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ?

हामीले बैठकमा हाम्रो पार्टी गठन भएको २२ महिनाको समग्र समीक्षा गरेका छौँ । जस्तो कि एमसीसीमा जे भूमिका खेल्यौँ, त्यो सकारात्मक  भएन । विगतमा भएका चुनावमा पनि आम जनतामा जाने, जनतालाई जागृत गर्ने, जनताका प्रतिनिधिहरु बन्नेहरु आफ्नै पहल कदमीमा उम्मेदवार उठाउने, हाम्रो आफ्नै पार्टीका झण्डा, चिह्न आदिको व्यापक प्रचार गर्नेलगायतका कुराको समीक्षा भइरहेको छ ।

यसको साथै नागरिताका सवालमा पनि गहिरो विश्लेषण गर्न जरुरी छ । किनभने यो विषय ज्यादै महत्त्वपूर्ण सवाल हो । विगतमा डा. हर्क गुरुङले प्रस्तुत गरेको अवधारणालाई नेपालका सबैले मनन् गर्नुपर्ने हुन्छ । नेपालको दुईतिर विशाल जनसंख्या भएका देश छन् । उनीहरुको जिरो प्वाइन्ट पाँच प्रतिशत जनसंख्यामात्रै हाम्रोमा आउने हो भने हाम्रो राष्ट्रिय पहिचान समाप्त हुन्छ । त्यसकारण जनसांख्यिक अतिक्रमणबाट बच्नुपर्ने आवश्यकता भएकाले यी कुरामा पनि ध्यान दिन जरुरी छ भन्ने कोणबाट छलफल भइरहेको छ ।

२०६२/०६३ मा पुँजीवादी जनक्रान्ति सम्पन्न भयो । अब हामी समाजवादी क्रान्तिकारी रुपान्तरणको क्रममा छौँ । तर यसका कार्यदिशा, नीति, सिद्धान्तहरु व्यवस्थित हुन सकेका छैनन् । नेपाली समाज र यो समाजमा रहेको वर्ग विश्लेषणका साथै विभिन्न वर्गीय,राष्ट्रिय अन्तर्राष्ट्रिय विश्लेषण, प्रधान अन्तर्विरोध र प्रमुख प्रतिद्वन्द्वी शक्तिको निर्क्यौल राम्रो ढंगले हुन सकेको छैन । यी कामलाई ठोस ढंगले अघि बढाउनुपर्छ भनेर कुरा राखिएको छ ।

पार्टीको प्रमुख अन्तर्विरोध के हो र प्रमुख प्रतिद्वन्द्वी शक्ति के हो भन्ने तोक्नुपर्छ भन्ने तपाईँको प्रस्ताव हो ?

हो । त्यो नतोकी कसरी पार्टीको कार्यदिशा, लक्ष्य र उद्देश्य पूरा हुनसक्छ ? सक्दैन । त्यसैले त्यो सबै कुरा यो बैठक सकिएपछि हामीले ल्याउँला ।

तपाईँले त बैठकमा पाँच घण्टा बोल्नुभएछ, त्यति लामो समय बोल्दा अहिलेको गठबन्धन र सरकारका बारेमा पनि आफ्ना कुरा राख्नुभयो होला नै । त्यसबारे तपाईँको दृष्टिकोण के रह्यो ?

यो सरकार त्रिशंकु र खिचडी सरकार हो । खिचडी सरकारबाट धेरै राम्रा कामहरुको अपेक्षा गर्नु मुर्खतामात्र हुन्छ । जस्तो खिचडी सरकार बनेको छ, उसका कामकारबाही पनि खिचडी नै छ । त्यसो भएकाले पनि यसबारेमा धेरै गहिराइमा त गएका छैनौँ । तर हामी क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त र लोकतन्त्र भनेको के हो लगायतका विषयमा छलफल गरिरहेका छौँ । लोकतन्त्रसम्बन्धी मार्क्सिस्ट अवधारणाका बारेमा मैले पार्टी कमिटीको पहिलो बैठकमै राखेको हो । लोकतन्त्र भनेको नै एउटा वर्गतन्त्र हो । वर्गीय शासन हो ।

हिजो दासकालमा दासकालीन लोकतन्त्र थियो । सामन्तवादमा सामन्तवादी लोकतन्त्र थियो । अब अहिले पुँजीवादी लोकतन्त्र आयो । यो पुँजीवादी लोकतन्त्रलाई नाघ्दै अघि बढेर समाजवादी लोकतन्त्रमा पुग्छौँ । संसारमा लोकतन्त्रका जम्माजम्मी चार रुप छन् । ती भनेका दासकालीन, समान्तवादकालीन, पुँजीवादकालीन र समाजवादकालीन । यी चार रुपबाहेक अरु कुनै रुप यो संसारमा हुन सक्दैन र जन्मिन पनि सक्दैन ।

हामी अहिले रहेको पुँजीवादी लोकतन्त्रलाई उपयोग गरेर समाजवादी लोकतन्त्रमा जान चाहन्छौँ । त्यसका विस्तृत रुपको समाजवादी कार्यक्रम, संरचना, लक्ष्य अगाडि सार्नुपर्छ र त्यो नै समाजवादी क्रान्तिको मुख्य लक्ष्य हुन्छ ।

तपाईँहरूको पार्टीको नाम नै समाजवादी छ भने समाजवादी क्रान्ति पनि भन्दै आउनुभएको छ तर अहिलेको गठबन्धनको फेरोबाट समाजवादी क्रान्तिको यात्रा र लक्ष्य पूरा हुन सम्भव छ ?

अहिलेको अवस्थामा समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने हो भने जनतालाई हित हुने खालका नीति कार्यक्रम लागु गर्नुपर्ने हो । यो देशको राष्ट्रिय हितमाथि उत्पन्न खतराहरुबाट देश र जनतालाई बचाउने हो र क्रमिकरुपले समाजवादतर्फ जाने हो भने खिचडी सरकार बनाएर होइन, वामपन्थीहरुकै सरकार निर्माण गरेर अगाडि बढ्नुको विकल्प छैन । त्यसैले नेपालका कम्युनिस्टहरुले गम्भीर रुपले सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।

अहिलेको अवस्थामा यो बाहेक देशको प्रमुख समस्या के हो भन्ने निष्कर्ष हो ?

देश अहिले चौतर्फी संकटमा छ । राजनीतिक दिशाहीनता,आर्थिक, सामाजिक र सांस्कृतिक संकट देशले भोगिरहेको छ । त्यसबाहेक राष्ट्रियताको संकट गहिरिँदै गएको छ । यी समस्याहरुको समाधान गर्न प्रगतिशील, जनमुखी र समाजवादी शक्तिहरु एक ठाउँमा आएर जनमुखी र राष्ट्रिय हितको सरकार बनाएर त्यही अनुसारको नीति र कार्यक्रम लागु नगर्ने हो भने देशमा सिर्जना भइरहेको संकट अझ गहिरो हुँदै जान्छ र त्यसले हाम्रो राष्ट्रियतालाई झन् बढी कमजोर बनाउँछ । यो कुरालाई देशका वामपन्थीहरुले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ ।

तपाईहरुले पार्टी गठन गरेको २२ महिना भइसक्यो, अहिलेसम्म अधिवेशन पनि भएको छैन, सचिवालय बैठकमा तपाईँले अर्ली महाधिवेशनको माग गर्नुभएछ । किन ?

हो । हाम्रो पार्टी अहिलेसम्म तदर्थ अवस्थामा छ । पार्टीका नीतिहरु तदर्थ छन् । सबै कमिटीहरु र नेतृत्व पनि तदर्थ छ । सबै संगठन तदर्थ छन् । दस्तावेजहरु पनि तदर्थ छन् । यस्तो अवस्थामा चाँडोभन्दा चाँडो महाधिवेशन गरेर सबै तदर्थवादलाई अन्त्य गरेर जनआकांक्षाअनुरुप संस्थागत ढंगले पार्टी निर्माण गर्ने र नीति तथा कार्यदिशाहरु तय गर्दै पार्टी अघि बढाउने काममा लाग्नुपर्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको छु । जारी सचिवालय बैठकमा पनि मैले यही कुरा राखेँ । त्यसैले जतिसक्दो चाँडो महाधिवेशन गरौँ भनेको हो ।

बैठक लम्बिनुको कारण पनि यिनै विषयमा नेताहरुबीच कुरा नमिलेर हो ?

यो हाम्रो ४१ औं सचिवालय बैठक हो । हाम्रो देशमा हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनका सामु ज्वलन्त रुपमा रहेका सैद्धान्तिक, वैचारिक विषयमा छलफल गरौँ भनेर माग गरेको थिएँ । मेरो माग विभिन्न कारणले टालटुल हुँदै आयो । बल्ल अहिले ती विषयमा विस्तृत रुपमा छलफल गर्ने अवसर जुटेको छ र बैठक लम्बिनुको कारण पनि यही हो । अब अध्यक्षले पनि आफ्ना कुरा राखिसकेपछि बल्ल छलफलमार्फत निर्णयमा पुग्छौँ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप