आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

कांग्रेस बैठकको दोस्रो दिन : देउवालाई धन्यवादको ओइरो, खाणको प्रतिरक्षा

‘महामन्त्रीको कार्यतालिका राम्रो छ, कार्यशैली भएन’
बुधबार, ०३ साउन २०८०, १९ : ५९
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । मंगलबार बैठकको एजेण्डा र विभिन्न प्रतिवेदन पेस भएकोमा आज बुधबार ४६ जना नेताले आआफ्नो धारणा राखेका छन् ।

दोस्रो दिनको बैठकको सुरुमा प्रदेश सभापति र प्रदेश संसदीय दलका नेताहरुलाई बोल्ने समय दिइएको थियो । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिले आआफ्नो धारणा राखेका थिए भने बैठकमा कोशी प्रदेश सभापतिको सहभागिता थिएन ।

महामन्त्रीको सांगठनिक कार्यतालिकामाथि प्रदेश सभापतिहरुले एक स्वरले विमति जनाएका छन् । महामन्त्री गगन थापाले पार्टीको एकवर्षिय कार्यक्रम प्रस्ताव गर्दा प्रदेश समितिलाई नसमेटिएको उनीहरुको गुनासो थियो ।

साथै, पार्टीको केन्द्रीय नेतृत्वले प्रदेश समितिलाई बेवास्ता गरेको सभापतिहरुको आरोप थियो । बागमती र कर्णाली प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय सदस्य बहादुरसिंह लामा र जीवनबहादुर शाही पनि पार्टीले प्रदेशलाई अधिकार दिनुपर्ने मत राखेका थिए ।

 

कार्यतालिका राम्रो छ, कार्यशैली भएन

आजको बैठकमा पनि केन्द्रीय सदस्यको निशाना महामन्त्रीमाथि देखिन्थ्यो । केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको विषय उठाएका थिए ।

महरले पार्टी सभापतिको सहभागिता विना जिल्ला सभापतिको भेला नभएको विगतको उदाहरण सुनाए । ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ महरले भने ।

यस्तै सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको धारणा फरक फरक भएका कारण कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको नेता महरले बताए । यसले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको महरको भनाइ थियो ।

यस्तै, केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीमा एक अर्कालाई गाली गर्ने पद्धति अन्त्य गर्नुपर्ने बताए ।

पछिल्लो समय सभापति देउवाविरुद्ध महामन्त्री थापाले दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, ‘हामी एकले अर्कोलाई गाली गर्छौँ । गुटलाई प्रश्रय दिन्छौं । यो पद्धतिलाई अन्त्य गर्नुपर्छ । कसैले महामन्त्रीलाई गाली गर्छन्, कसैले सभापतिलाई गाली गर्छन् । यसरी पार्टी दह्रो हुँदैन ।’

यस्तै उनले महामन्त्रीको कार्यतालिका राम्रो भएपनि महासमिति बैठकको सन्दर्भ थप्नुपर्ने बताएका थिए । उनले दिवंगत नेताहरुको जन्मजयन्ती र स्मृतिमा कार्यक्रम थप गर्नुपर्ने बताए । 

केन्द्रीय सदस्य देवेन्द्र कँडेलले महामन्त्रीको प्रतिवेदन सकारात्मक रहेको बताउँदा केन्द्रीय सदस्य मानबहादुर नेपालीले महामन्त्रीको कार्यतालिकामा अपुरो भएको धारणा राखे ।

सहिद परिवार तथा प्रजातान्त्रिक योद्धलाई समन्वय गर्न एउटा विभाग थप्नुपर्ने उनको भनाइ थियो । भ्रातृसंस्थाले निर्धारित समयमा महाधिवेशन गर्ने महामन्त्रीको प्रस्तावमा विश्वसनीय आधार छैन । महामन्त्रीको प्रस्तावको समर्थन गरेकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले कार्यशैलीको भने खरो विरोध गरिन् । महामन्त्रीद्वयले सबैको नेतृत्व गर्ने गरी अगाडि बढ्न नसके विकल्प खोजिने बताइन् ।

महामन्त्रीले देखाएको सपना पुरा गर्न कृतसंकल्प रहेको भन्दै दायरा फराकिलो बनाउन उनको आग्रह थियो । ‘महामन्त्री हामी सबैको नेतृत्व लिने गरेर अगाडि बढ्नु होला । तपाईहरुले दायरा फराकिलो बनाउनु भएन भने हामीले जसरी तपाईहरु अरु कसैको विकल्प खोज्छौं भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले पनि तपाईहरुको विकल्प खोज्छौं भन्नुपर्ने अवस्था नआओस् ।’

सभापति देउवालाई मात्रै दोष देखाएर महामन्त्री उम्किन नसक्ने उनको भनाइ थियो । ‘सभापतिज्यू खराब, सभापतिज्यू सर्वथा अनिर्णयको बन्दी, हामी मात्र असल हौं भन्ने तपाईहरुको दाबी प्रस्तुत भएको छ । त्यो दाबी हास्यास्पद छ । महामन्त्री, सभापति, उपसभापतिको सँगसँगै उभिनुको विकल्प छैन,’ खतिवडाले भनिन् ।

यस्तै, अर्का केन्द्रीय सदस्य केशरकुमार बुढाथोकीले महामन्त्रीको कार्यक्रममाथि प्रश्न उठाए । महामन्त्री शर्मालाई इलामका सात सहिदको नाममा कार्यक्रम किन नराखिएको भनेर प्रश्न गरे ।

केन्द्रीय सदस्य जीवन रानाले सभापति मात्र होइन, महामन्त्री पनि चुकेको बताइन् । ‘पार्टी संचालनमा सभापति मात्र होइन, महामन्त्री पनि चुक्नु भएको छ । पार्टी विधानसम्मत सञ्चालन नभएको कुरामा तपाई पनि अछुतो हुनुहुन्न,’ उनले भनिन् ।

शान्ति परियार (विक)ले महामन्त्रीको कार्यक्रम राम्रो भएपनि गुटगत छाया देखिन नहुने बताइन् । ‘गुटको अन्त्य हुन नसक्नु कांग्रेसका लागि दुर्भाग्य हो । हामीले कार्यक्रम गर्दा गुटका कारण कुनै पनि कार्यकर्ता पीडित हुन नपरोस्,’ उनले भनिन् ।

देउवालाई दोष लगाउँदै महामन्त्री पन्छिने ठाउँ नरहेको भन्दै एकताको सन्देश लिएर जनतामा जान जरुरी रहेको उनको भनाइ थियो । केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिनाले भने महामन्त्रीको कार्यतालिका आफूले आजै पास गरेको बताइन् ।

उनले भनिन्, ‘कार्यतालिका राम्रो छ । म यसलाई आजै पास गर्दैछु ।’ विभागको जिम्मेवारी कार्यसम्पादन समितिमा नभएका केन्द्रीय सदस्यलाई दिनुपर्ने उनको भनाइ छ । 

यस्तै केन्द्रीय सदस्य गणेश लामाले महामन्त्रीको कार्यतालिकाले आफूहरुलाई बिजनेश दिने बताए । ‘महामन्त्रीको कार्यकतालिका मिहनेत साथ आएको छ । हामी बेरोजगार जस्तोे भएका छौं । कार्यतालिका कार्यान्वयन भए हामी व्यस्त हुनेछौं ।’ 

केन्द्रीय सदस्य सुशीला थिङले कार्यतालिकामा अत्यन्त राम्रो कुरा आएका बताइन् । ‘उपत्यकका बाहिरी दुईवटा बैठक राख्ने प्रस्ताव झनै राम्रो छ । राम्रो कुरालाई राम्रो भन्नुपर्छ,’ उनले भनिन् ।

केन्द्रीय सदस्य गुरु बरालले कार्यतालिकाको चित्र राम्रो भएपनि चरित्र हेर्न बाँकी रहेको बताए । ‘महामन्त्रीको कार्यतालिकाको चित्रमा राम्रो छ । चरित्र हेर्न बाँकी छ ।’ उनले महामन्त्रीको गतिविधि ओजिलो हुन नसकेको पनि बताए । 

यस्तै नानु बाँस्तोलाले कार्यतालिका राम्रो आएको भन्दै संगठनलाई बलियो बनाउन काम गर्ने बताइन् । ‘कार्यतालिकामा हामीले संगठनको कुरा मात्र समेट्यौं कि भन्ने लागेको छ । अबको रणनीति भनेको संगठनमात्र होइन, विकास पनि हो,’ उनले भनिन् ।

सुशीला ढकाल (आचार्य), सीताकुमारी राना लगायतले महामन्त्रीको कार्यक्रम कार्यान्वयन गराउँदा पार्टीलाई राम्रो हुने बताए ।

देउवालाई धन्यवादको ओइरो

बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई पहिलो बनाएकोमा सभापति देउवालाई धन्यवाद दिएका छन् । केन्द्रीय समिति बैठकको लाइभ गरेकोमा पनि देउवालाई धन्यवादको ओइरो लागेको छ ।

केन्द्रीय सदस्य सरस्वती अर्यालले सभापति देउवाले कांग्रेसलाई पहिलो दल बनाउने बचन पुरा गरेको भन्दै धन्यवाद दिएकी छन् ।

‘महाधिवेशनमा सभापतिज्यूले पहिलो पार्टी बनाउने बाचा गर्नु भएको थियो । उहाँले त्यो पुरा गर्नु भयो । पहिलो पार्टी भएर पुस १० मा हामी सत्ता बाहिर पुगेका थियौं,’ उनले भनिन्, ‘तर, पुनः सरकारमा जाने परिस्थिति बनाएकोमा पनि म सभापतिलाई धन्यवाद दिन चाहन्छु ।’ केन्द्रीय समिति बैठक लाइभ गरेकोमा पनि उनले सभापतिलाई धन्यवाद दिइन् । 

साथै, पदाधिकारी र कार्यसम्पादन समिति बैठकको लाइभ हुन्छ कि हुँदैन भनेर प्रश्न पनि गरेकी छन् । 

केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी बलियो बनाउन सभापतिलाई कमजोर बनाएर नहुने बताइन् । ‘सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुन्छ,’ देवकोटाले भनिन् ।

खाणको बचाउ

बैठकमा केही केन्द्रीय सदस्य नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा जेल चलान भएका गृहमन्त्री बालकृष्ण खाणको बचाउमा उभिएका छन् ।

पार्टी केन्द्रीय सदस्य राधा घलेले खाणको विरुद्धमा पार्टीभित्रकै नेताहरु लागेको आरोप लगाएकी छिन् ।

खाण पक्राउ भएपछि कांग्रेसका केही युवा नेताले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । त्यो प्रसंग निकाल्दै उनले भनिन्, ‘गृहमन्त्रीलाई बधाई दिन जानु यो कति उपयुक्त हुन्छ । के हामी एउटा साथीलाई दुःख पर्दा अर्को साथीले काँध हाल्न सक्दैनौं ?’

एउटाले खाएको बाघले अर्कोलाई पनि खान सक्ने भन्दै पार्टी नेताहरु खाणका विरुद्धमा नलाग्न सुझाव दिइन् । घलेले भनिन्, ‘आरोप लाग्ने बित्तिकै कोही पनि दोषी भइहाल्दैन, जबसम्म दोषी साबित हुन सक्दैन ।’

यस्तै, अर्का केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पनि सोही विषय उठाएकी थिइन् । उनले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन, के कारणले धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन ।’

त्यस्तै, अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ । पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुन सक्ने उनले बताइन् । ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पु¥याउनु होला,’ खतिवडाले भनिन् ।

केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले पनि कांग्रेसका नेताहरुलाई केही मान्छेले गाली गरिरहँदा काखी बजाउने काम भएको बताए । ‘त्यसो नगरौं । आज एउटा नेता सकिँदा भोलि अर्को नेताको पालो आउँछ ,’ उनले भने, ‘त्यतिबेला पनि काखी बजाउने गर्यौं भने सबै नेता सकिन्छन् । अनि हामी कार्यकर्ता कसरी जोगिन्छौं ?’ 

बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी बुधवारको बैठक स्थगित भएको पार्टी सभापति शेरबहादुर देउवाले जनाएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप