आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप फुटबल : उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई हरायो

बिहीबार, ०४ साउन २०८०, १४ : ५८
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार न्युजिल्यान्डले नर्वेमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औं मिनेटमा न्युजिल्यान्डका लागि हनाह विलकिन्सनले निर्णायक गोल गरेकी थिइन् । 

खेलको अन्तिम समयमा न्युजिल्यान्डले अग्रता दोब्बर बनाउने अवसर खेर फालेको थियो । निर्धारित समयको ९०औं मिनेटमा न्युजिल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको थियो । तर, न्युजिल्यान्डकी रिया पर्सिभलले गरेको प्रहार गोलमा परिणत हुन सकेन । 

न्युजिल्यान्ड र नर्वेबीच यसअघि खेलिएको पछिल्ला तीन खेलमा भने नर्वे विजयी भएको थियो । सन् २०२२ को जुन २५ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा नर्वेले न्युजिल्यान्डलाई २—० गोलले हराएको थियो । सन् २००८ को अगस्त ९ तारिखमा खेलिएको खेलमा नर्वेले न्युजिल्यान्डलाई १—० गोलले हराएको थियो । सन् १९९१ को नोभम्बर १९ तारिखमा खेलिएको खेलमा नर्वेले न्युजिल्यान्डलाई ४—० गोलले पराजित गरेको थियो ।  

जितसँगै न्युजिल्यान्ड समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ । उक्त समूहमा न्युजिल्यान्ड र नर्वेका अतिरिक्त फिलिपिन्स र स्विट्जरल्यान्ड पनि छन् । महिला विश्वकपको नवौं संस्करण आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ ।

कुनै पनि दुई राष्ट्रले संयुक्त रुपमा महिला विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो । दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गर्न लागेको पनि यो पहिलो पटक हो । यसअघि पुरुष विश्वकप पनि दुई छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका छैनन् । अस्ट्रेलियन एसियाली फुटबल महासंघको सदस्य हो । न्युजिल्यान्ड भने ओसेनिया फुटबल महासंघको सदस्य हो । 

महिला विश्वकपको नवौं संस्करणमा पहिलो पटक ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । प्रतियोगिताको समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन् । 

यसैगरी समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् । 

समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई/दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप