आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अवैध सुन बरामद प्रकरण

तस्करीको १०० किलो सुनका ‘मालिक’ साधारण ‘ज्यामी’ भएको खुलासा

२० हजार पैसा लिएर दिलीपले खोलिदिएका थिए कम्पनी
बिहीबार, ०४ साउन २०८०, १७ : ५६
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब एक सय केजी अवैध सुनका मालिक कुनै धनाढ्य नभएर निर्माणस्थलमा काम गर्ने एक साधारण ‘ज्यामी’ भएको खुलेको छ । काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेल नै अहिलेसम्मको अवस्थामा एक सय किलो सुनको मालिक देखिएका छन् । 

राजश्व अनुसन्धान विभागले बुधवार राति करिब १० बजे साँखुबाट पक्राउ गरेका दिलीप भुजेलको खास घर दोलखाको मेलुङ गाउँपालिका–१, पवटी भन्ने स्थानमा पर्छ । २१ वर्षीय दिलीपले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । 

दिलीपका बुवा राम बहादुर भुजेलका अनुसार दिलीप केही समय अगाडिसम्म घर बनाउने स्थानमा इँटा बोक्ने लगायतको साधारण काम गर्थे । करिब २ महिना अगाडिबाट भने दिलीपले साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने काम गर्दै आएका थिए । 

तर पहिले ज्यामी काम गर्ने र हालसालै मात्र चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका तिनै दिलीप यतिबेला अहिलेसम्मकै ठुलो भनी अनुमान गरिएको सुन तस्करीमा संलग्न भन्दै पक्राउ परेका छन् । उनकै नाममा रहेको ‘रेडी ट्रेड प्रालि’को नाममा आयात भएको ठुलो परिमाणको विभागले बरामद गरेको हो । तर, यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएको खुलासा भएको हो ।

फिसिङबाट पक्राउ परेका थिए दिलीप

रेडी ट्रेड प्रालिको नाममा हङकङबाट आएको सुन मंगलबार नै बरामद गरिएको थियो । उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट भन्सार जाँच पास भई बाहिर निकालेपछि राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिई बुधवार बिहान मात्रै भन्सार विभागकै ल्याबमा लगेर परीक्षण गराएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सु भनी ल्याइएको सामानभित्र रहेको सामान ‘ब्रेक सु’ नभएर सुन रहेको कुरा परीक्षणपछि पुष्टि भयो । त्यसलगत्तै भन्सार एजेण्टलाई केरकार गरी सामान आयात गर्नेको खोजी गर्दा कम्पनी भुजेलको नाममा रहेको पाइएको थियो । 

dilip

भुजेलको स्वामित्वमा रहेको कम्पनी भनिए पनि दिलीपबारे विभागको टोलीलाई अरू जानकारी थिएन । त्यसपछि दिलीपको बारेमा जानकारी बटुल्दै विभागकै अनुसन्धान अधिकृतले दिलीपसँग सम्पर्क गरेका थिए । सुरुमै कम्पनीको कुरा गर्दा दिलीप फरार हुनसक्ने डरले विभागको टोलीले युवतीको प्रयोग गरेर दिलीपसम्म पुगेको पाइएको छ । 

बुधवार अपराह्नदेखि दिलीपसँग एक युवतीको बारम्बार कुरा भएको र दिलीपले युवतीलाई नचिनेको भन्दै कुरा गरेको दिलीपकै भाइ नाता पर्ने एक व्यक्तिले रातोपाटीलाई बताए । दिलीप हाल साँखुमा रहेको ठुलीआमाको डेरामा बस्ने गरेको र युवतीसँगको कुराकानी आफूले पनि सुनेको दिलीपका ती आफन्तले रातोपाटीलाई बताए । 

आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै उनले भने, ‘११/१२ बजेदेखि दिलीपको मोबाइलमा एउटा केटीको फोन आइरहेको थियो । दिलीपले चिनेको छैन भन्दा पनि युवतीले मैले चिनेको छु त भन्दै जिस्कने गरेकी थिइन् । तर बेलुका दिलीपलाई भेट्न भन्दै युवती साँखुमै आएकी थिइन् । युवतीले ट्याक्सी लिएर भेट्न आउँदै छु, बाहिर निस्कनुस् भनेर दिलीपलाई भनेको र रातको करिब ९ः३० बजे दिलीप आफ्नो डेरा कोठाबाट बाहिर निस्किएका थिए । त्यसपछि आज पो थाहा भयो, दिलीप त पक्राउ परेछ ।’

दिलीपको ठुलीआमाका अनुसार उनले मंगलबार र बुधवार दिनभर फ्याक्ट्रीमै काम गरेका थिए । यस्तै साँझपख भने उनी चाउमिन डेलिभरी गर्न हिँडेका थिए । ‘बुधवार पनि साँझ सामान डेलिभरी गरेर डेरामा फर्किएको थियो । कसैलाई भेट्न भनेर १० बजेतिर बाहिर निस्किएको हो, अरू कुरा हामीलाई थाहा भएन’, ठुलीआमाले भनिन् ।

२० हजार पैसा लिएर खोलिदिएका थिए दिलीपले रेडी ट्रेड

दिलीपका बुवा राम बहादुर भुजेलका अनुसार उनले २० हजार रुपैयाँको लोभमा उक्त कम्पनी कसैका लागि खोलिदिएका थिए । आफू पनि कुल्लीको काम गर्ने दिलीपका बुवाका अनुसार दिलीप पहिले थानकोटमा रहेको दिदीको डेरामा बसेर घर बनाउँदा इँटा बोक्ने लगायतका ज्यामी काम गर्थे । तर पछि ज्यामी काम गाह्रो भएको र आम्दानी पनि राम्रो नभएको भन्दै चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका थिए ।

चाउमिन फ्याक्ट्रीमा काम गर्नुभन्दा पहिले आफ्नो मामा रामकुमार भुजेलले एउटा कम्पनी खोल्ने र त्यसबापत २० हजार रुपैयाँ आउने भनेपछि दिलीपले त्यही २० हजारको लोभमा आफ्नो नाममा अरुकै योजना अनुसार रेडी ट्रेड नामक कम्पनी खोलिदिएका थिए ।

 दिलीपका बुवाका अनुसार स्वयम्भूमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्ने रामकुमारले भने अनुसार नै दिलीपले कम्पनी खोलिदिएपनि कम्पनी र त्यसको कारोबारबारे भने उनी बेखबर थिए । मामाले कम्पनी कसलाई चलाउन दिएका थिए, दिलीपलाई त्यो पनि थाहा छैन । 

यद्यपि कम्पनी खोलिसकेपछि बैंक खाता समेत खोलेर चेकमा हस्ताक्षर गर्ने लगायतका काम सकिएपछि दिलीपलाई २० हजार रुपैयाँ दिइएको थियो । 

तिब्बतीयनको घरमा काम गर्थे रामकुमार भुजेल

दिलीपका बुवा रामका अनुसार उनका जेठान तथा दिलीपका मामा रामकुमारसुरुमा स्वयम्भूमा रहेको एक तिब्बतीयनको घरमा साधारण कामदारका रुपमा काम गर्थे । तिब्बतीयन नागरिकको नाम थाहा नभएपनि सुरुमा स्वयम्भूमा बस्ने ती तिब्बतीयन यतिबेला सीतापाइलाको हाउजिङमा बस्छन् । 

दिलीपका मामा उनै तिब्बतीयनको घरमा काम गर्ने र उनीहरूलाई कतै लैजानुपरेमा कहिलेकाहीँ गाडी चलाउनेसमेत काम गर्थे । तर तिब्बतीयनसँग मिलेर उनले के गर्थे भन्ने दिलीपका बुवालाई थाहा छैन । यद्यपि दिलीपका मामा रामकुमारले भने अनुसार नै कम्पनी स्थापना गरिदिएको र त्यसबापत २० हजार रुपैयाँ पाएको दिलीपका बुवाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप