आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप फुटबल : दोस्रो खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई हरायो

बिहीबार, ०४ साउन २०८०, २१ : २६
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार भएको दोस्रो खेलमा आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई १—० गोलले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा अस्ट्रेलियाले निर्णायक गोल गरेको थियो ।

निर्धारित समयको ५२ औं मिनेटमा अस्ट्रेलियाका लागि स्टेफानी क्याट्लीले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । प्रतियोगितामा अस्ट्रेलिया समूह ‘बी’ मा छ । त्यसअघि बिहीबार नै भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । 

अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८ औं मिनेटमा न्युजिल्यान्डका लागि हनाह विलकिन्सनले निर्णायक गोल गरेकी थिइन् । 

महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दैछन् । महिला विश्वकप अगस्त २० सम्म सञ्चालन हुनेछ । कुनै पनि दुई राष्ट्रले संयुक्त रुपमा महिला विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो । 

दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गर्न लागेको पनि यो पहिलो पटक हो । यसअघि पुरुष विश्वकप पनि छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका छैनन् । अस्ट्रेलियन एसियाली फुटबल महासंघको सदस्य हो । न्युजिल्यान्ड भने ओसेनिया फुटबल महासंघको सदस्य हो । 

महिला विश्वकपको नवौं संस्करणमा पहिलो पटक ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । प्रतियोगिताको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र फिलिपिन्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन् । 

यसैगरी समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् । 

समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुईदुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप