आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अवैध सुन प्रकरण

११ महिनामा विमानस्थलबाट समातियो ५८६ किलो सुन

इजाजतप्राप्त संस्थामार्फत भित्रियो २२ अर्ब ३५ करोडको सुन
शुक्रबार, ०५ साउन २०८०, १४ : ३०
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गत आर्थिक वर्षको ११ महिनामा मात्रै ५ सय ८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिइएको पाइएको छ ।  विभिन्न देशबाट आयात गरी भन्सार तिराइएका, बरामद गरिएका, मुद्दा चलाइएका र अनुसन्धानको क्रममा रहेका सबै सुनको तौल गर्दा ५ सय ८६ किलोभन्दा बढी भएको हो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख उपसचिव नारद गौतमले नियन्त्रणमा आएको ५८६ किलो सुनमध्ये करिब ३८ किलो सुन मुद्दा र जफत प्रक्रियामा रहेको बताए । 

कार्यालयका अनुसार विमानस्थल भन्सारले गत आर्थिक वर्षको साउन १ गतेदेखि जेठ महिनाको अन्तिमसम्ममा भरियामार्फत ल्याएको र मात्राभन्दा बढी ल्याएको ५४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ । निमित्त कार्यालय प्रमुख गौतमका अनुसार कुल ५४१ किलोग्राम सुन नियन्त्रणमा लिएकामा कानुन बमोजिम ल्याउन पाउनेको हकमा राजश्व तिराउँदा ५३ करोड ८० लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

गौतमका अनुसार मुख्यतः दुबई, कतार लगायतका देशबाट आउने व्यक्तिहरूले काम गरेर फर्किदा ल्याउने भन्सार छुट हुने बाहेकका सुन ल्याउँदा नियमानुसार लाग्ने राजश्व लिई उक्त परिमाणको सुन जाँचपास गरिएको हो । कतिपयले भरिया बनाएर पनि सुनको तस्करी गरेको भए पनि त्यसको पूर्ण पुष्टि हुन नसक्ने भएकाले कहिलेकाहिँ त्यस्तो सुन पनि राजश्व लिएर छाडिएको हुनसक्ने गौतमले बताए । 

गौतमले रातोपाटीसँग भने, ‘मानौँ दुबईमा २ वर्ष काम गरेर आएको छ भने उसले नियमानुसार ल्याउन पाउने सुनमा भन्सार छुट हुन्छ । नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा गई ५ महिनाभन्दा बढी समय काम गरेर फर्किएका पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार छुट पाइन्छ । त्यस्तै महिला हो भने ५० ग्रामसम्मको सुनका गहना ल्याउँदा भन्सार छुट हुन्छ ।’

तर सुनको गहना भनेपनि रसायन नमिसाएको बेरुवा औँठी, बाला, सिक्री जस्ता गहनाका आकार दिइएका सुनका गहनाहरूमा भने भन्सार छुट नदिने व्यवस्था रहेको छ ।

त्यसैगरी विदेशमा काम गरी फर्किएका वा आम्दानीको श्रोत देखाएर खरिद गरी ल्याइएका ५० ग्रामसम्मको सुनलाई १५ प्रतिशत भन्सार महसुल तिरेर ल्याउन सकिने छ । ५० ग्रामभन्दा बढी एकसय ग्रामसम्म सुन ल्याउनेलाई थप ३ प्रतिशत अर्थात् १८ प्रतिशत महसुल लिएर भन्सार छुटाउन सकिने व्यवस्था छ । १ सय ग्रामभन्दा बढी सुन ल्याएको अवस्थामा भने उक्त सुन जफत हुने कानुनी व्यवस्था छ । 

यही कानुनको आधारमा एक सय ग्रामसम्म सुन ल्याउने व्यक्तिहरूबाट विमानस्थल भन्सार कार्यालयले ११ महिनाको अवधिमा ५३ करोड ८० लाख रुपैयाँ राजश्व सङ्कलन गरेको विमानस्थल भन्सार कार्यालयको भनाइ छ । पहिले सुन ल्याउँदा भन्सार महसुल १० प्रतिशत रहेकामा अहिले १५ प्रतिशत बनाइएको छ । 

बैङ्क वा इजाजतप्राप्त संस्थामार्फत भित्रियो २२ अर्ब ३५ करोडको सुन

गत आर्थिक वर्षको ११ महिनाको अवधि अर्थात् २०७९ साउन १ गतेदेखि २०८० जेठ महिनाको अन्तिमसम्ममा नेपाल राष्ट्र बैङ्क र अन्य इजाजतप्राप्त संस्थाले कुल २ हजार ९१६ किलोग्राम सुन किनेको पाइएको छ । विभिन्न निकायले किनेर ल्याएको यो परिमाणको सुनको मूल्य २२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । असार महिनामा खरिद गरेको सुनको परिमाण र मूल्य भने अझै यकिन भइसकेको छैन । 

भन्सार कार्यालयले गर्‍यो ७ किलो ४ सय ग्राम सुन जफत

भन्सार कार्यालयले विभिन्न देशबाट आएका यात्रुले ल्याएको एकसय ग्रामभन्दा बढी सुन र भन्सार छली वा तस्करी गरी ल्याएको सुनको भन्सारकै इजलासमा सुनुवाइ र फैसला हुँदा ७ किलो ४ सय ग्राम जफत हुने फैसला भएको छ । 

भन्सार कार्यालयले गरेको सुनुवाइपछि ४३ वटा मुद्दामा फैसला हुँदा ७ किलो ४ सय ग्राम सुन जफत भई नेपाल राष्ट्र बैङ्कलाई विक्री गरी विक्री भएको रकम सरकारको राजश्व खातामा दाखिला भएको छ । सो मुद्दामा सुनको तत्कालीन समयको मूल्य अनुसार नै धरौटी लिनेसमेत गरिएकाले फैसला हुँदा जफत हुने फैसला भएमा धरौटीसमेत जफत हुने हुँदा सो रकम पनि जमानत जफत भई राजश्वमा दाखिला हुने गरेको छ । 

Narad Gautam

नारद गौतम

८ किलो १ सय ग्राम जिल्ला अदालतमा पेस

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार कार्यालयले अदालतमा मुद्दाको क्रममा रहेका ८ किलो १ सय ग्राम सुन अदालतमै पेस गरेको छ । यात्रु वा कार्यालयका तर्फबाट दायर भएको सुनमध्ये पछि असन्तुष्टि वा दाबी विरोध भएका सुनमध्ये ८ किलो १ सय ग्राम सुनबारे फैसला हुन बाँकी रहेको र जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको निमित्त कार्यालय प्रमुख नारद गौतमले बताए । 

१९ किलो सुन सिआईबीको जिम्मामा

भन्सार कार्यालयले नियन्त्रणमा लिइएका १९ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को जिम्मामा दिएको छ । सुन तस्करीमा संलग्नहरूको खोजी, अतिरिक्त अनुसन्धान र कारबाही चलाउनुपर्ने भएकाले उक्त परिमाणको सुन थप अनुसन्धान र अभियोजनका लागि ब्युरोको जिम्मा लगाइएको हो । 

यसरी ११ महिनाको अवधिमा मात्रै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कुल ५८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिई ५४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ भने अन्य सुनको हकमा नियन्त्रणमा लिई मुद्दा प्रक्रियामा रहेको छ । अहिले पनि औसतमा दैनिक २ किलोग्राम सुन यात्रुहरूले राजश्व तिरेर लैजाने गरेको गौतमले बताए । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक ६ हजार यात्रुको आवागमन हुने गरेको छ । ६ हजार यात्रुमध्ये करिब एक हजार विदेशी र ५ हजार यात्रु नेपाली रहने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप