आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चाहेका सबै काम गर्नसक्ने अवस्था छैन : मन्त्री गुरुङ

शुक्रबार, ०५ साउन २०८०, १५ : ५०
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । सहरी विकासमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले देशको आर्थिक अवस्थाका कारण सरकारमा रहेर पनि आफूले चाहेका सबै काम गर्न सकिने अवस्था नरहेको बताएकी छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री गुरुङले पार्टीले सरकारमा पठाएर काम गर्ने जिम्मेवारी दिए पनि बजेट अभावका कारण विकास निर्माणका थुप्रै काम प्रभावित भएको बताइन् ।

‘हामी चैत्र १७ गते सरकारमा गयौँ । छोटो समयमा बजेट बनाउनुपर्दा पार्टीले चाहेका सबै नीति कार्यक्रम र योजनामा ध्यान पुर्‍याउन नसकिएको अवस्था छ,’ उनले भनिन्, ‘देशको आर्थिक अवस्थाको कारणले पनि समस्या परेको छ । राम्रो गर्छु भन्ने अवश्य छ । तर देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन ।’

मन्त्री गुरुङले कांग्रेसको नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान आएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको जिम्मेवारीसमेत कांग्रेसकै काँधमा रहेको बताइन् । उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने धारणा राखिन् । ‘प्रदेशलाई कमजोर बनाएर संघीयतालाई मजबुद बनाउन सकिँदैन । त्यसकारण पार्टीले गर्ने गतिविधिमा पनि प्रदेशलाई भूमिका दिने, अधिकार दिने कुरामा ध्यान दिनु उपयुक्त होला,’ उनले भनिन् ।

उनले कांग्रेसको यो बैठकबाट जनताका दुःखसुख र समस्या समाधानको खाका समेत तयार गरेर अघि बढ्नुपर्ने बताइन् । ‘जनताको जनजीविकाको कुरा, महिला सशक्तीकरण र युवालाई रोजगारी तथा आर्थिक आत्मनिर्भरताको बाटोमा देशलाई अघि बढाउने विषयमा पार्टीको अवधारणा प्रष्ट पारेर अघि बढ्नु आवश्यक छ,’ उनले भनिन् ।

उनले कांग्रेसका नेता कार्यकर्ताले नै चुनावमा भोट नहालेको यथार्थ तितो रहेको भन्दै त्यसरी कमजोरी गर्नेहरूलाई दण्डित गरेर अघि बढ्नुपर्ने बताएकी छिन् । ‘अनुशासन समितिलाई छिटोभन्दा छिटो पूर्णता दिऔँ । देशभरि अनुगमन टोली खटाएर गल्ती गर्नेहरूलाई कारबाही र कमजोरीहरूलाई सच्याएर पार्टीलाई अघि बढाऔँ,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप