आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कथा

भगवान् भरोसामा गंगे

शनिबार, ०६ साउन २०८०, ०८ : ५१
शनिबार, ०६ साउन २०८०

तीस वर्षको गंगेका २ र ५ वर्षका दुइओटा छोरी छन् । छोराको आसमा उसकी श्रीमती अहिले पुनः गर्भवती छिन् ।  तीन पढेर फेल भएको गंगे सामान्य मजदुरी गरेर जीवनयापन गर्दछ ।

‘यो उमेरमा इन्डियातिर गएर नोकरी गर्न छाडेर यही गाउँमा एक दुई सयमा भुलेर हुन्छ र गंगे,’ अग्रज गाउँलेले नसुझाएका हैनन् तर उसलाई गाउँ छाड्न नै मन छैन । एक पटक बुवा आमाको करले इन्डिया नगएको पनि हैन तर दुई महिना भन्दा बस्नै सकेन ।

‘यो गंगेले स्वास्नीलाई एकछिन पनि छोड्न नसक्ने भयो,’ गाउँलेले कुरा काटेका थिए तर त्यसले गंगेलाई रत्तीभर पनि फरक परेको थिएन ।

गंगे दिनको ५ सय रुपैयाँ ज्याला पाउँथ्यो । लगभग औसतमा २ सयको साँझमा साथीसँग बसेर रक्सी पिउँथ्यो अनि बचेको ३ सय रुपैयाँ घरमा खाना खर्चलाई छुट्याउँथ्यो । तर, सधैँभरी काम हुने कुरो भएन । 

काम हुँदा जेनतेन उसको गुजारा चल्थ्यो, काम नहुँदा बिहान बेलुका हातमुख जोड्नसमेत मुस्किल पर्थ्यो ।

साथी भाइसँगको रमाइलो साँझको एक दुई प्याक, छोरीहरूको र सँगै भएकी श्रीमतीको माया सबै कुराले त्यो अभावलाई बिर्साएको थियो । बाहिरबाट हेर्दा उसको जति दुःखी र कष्टकर जीवन देखिन्थ्यो तर वास्तवमा अभाव र दुःखमा पनि खुसी नै थियो । लाग्थ्यो, उ सबै ढंगले परिपूर्ण छ ।

उसको पुर्ख्यौली सम्पत्तिको नाममा एउटा सानो बारी मात्र छ । त्यसले एक महिना खान पनि पुग्दैन । अनि घरमा तीनवटा बाख्रा  र एउटा बकेर्नो भएको भैँसी छ ।

यो वर्ष गंगेको लागि सुखद भएन । पटक पटक छोरी बिरामी हुँदा जेनतेन ऋण धन गरेर उपचार गर्‍यो । उक्त ऋण अझै चुक्ता गर्न सकेको छैन ।

गंगेको काम पनि भनेअनुसार चलेको छैन ।

आज गंगेलाई अर्को दशा लाग्यो । छोराको ठुलो आस गरेर हुर्काको बच्चा गर्भपतन भयो ।

‘दुखियालाई कहिल्यै पनि सुख हुँदैन,’ गंगेकी श्रीमती अर्धचेत जस्तै पारामा रुन्छिन् ।

उता छोरी बिरामी हुँदा ल्याएको ऋण तिर्न नसक्दा साहु आएर घरमा भएको भैँसी पनि फुकाएर लगिदियो ।

‘त्यो मुलाको पैसा के मैले खाइदिन्थे र ? हाम्रा नि कमाउने दिन आउलान् नि,’ रक्सी लागेको गंगे जंगियो । 

‘केही गर्न परे हामी छम् गंगे । भन् के गर्न पर्छ’ बिरे र धनेले पनि हौसला दिँदै भने ।

जो दुःखी छ, भगवान्ले पनि त्यसैलाई झन् पीडा दिने रहेछन्,  चिन्ता नगर गंगे, सब ठिक हुन्छ,’ भित्रबाट साहुनीले सान्त्वना दिँदै भनिन् ।

तिम्रो सान्त्वना चाहिएन मलाई । रक्सी खान लाको लौनी मान्छेका ठाउँमा बिचमा प्वाक्क नबोल । लिउ बरु, रक्सी थप,’ गंगेले थर्काउँदै भन्यो ।

कतै ग्रहले रोकेका पो छन् कि ? एकपटक ग्रह कटाएर हेर त, केही भै पो हाल्छ कि ।’ बिरेले रक्सीकै तालमा गंगेलाई सुझाव दियो ।

‘म यस्ता कुरा मान्दिन हेर,’ ३ क्लास पढेको गंगेले शिक्षितले जसरी कुरा गर्‍यो ।

पछि बिरे, धने र साहुनी सबैले कर जस्तै गरेपछि गंगे ग्रह हेराएर कटाउन राजी भयो ।

अर्को दिन मजदुरी गरेपछि रक्सी नखाइकन घर गयो । घरमा उसको बुवाआमा, उसको श्रीमती सँगै थिए ।

‘बाउ एक पटक ग्रह हेराएर कटाउन पर्‍यो । कतै ग्रहले पो रोकेका छन् कि ?’ 

‘रक्सी खाने अनि ग्रहले दुःख दियो भन्ने ? रक्सी खान छोड पहिला,’ आमाले केही टाठो स्वरमा भनिन् ।

‘न करा तँ गंगेकी आमा । केटोले ठिक भन्दैछ । एकपटक ग्रह त कटाउनै पर्ने हो । ग्रहले नदिएको नि हुन सक्छ ।’

बाउले बोलेपछि कसैले कुरो काटेनन् ।  त्यसैमा सही थापे ।

‘अनि पैसा कहाँबाट ल्याउँछस् त । बुहारीलाई पनि तागतिलो खुवाउनु पर्ने हो । साहुले भैँसी नि लगिदियो । कहिले पैसा तिरेर फर्काउने होला  ?’ गंगेकी आमाले चिन्ता गरिन् ।

‘साथीभाइ छन्, देलान् नि । त्यति जाबो पैसा नि खोज्न नसकुँला र,’ गंगेले आत्मविश्वासका साथ भन्यो ।

गंगे सवैको चिना लगेर पण्डितकहाँ ग्रह हेराउन गयो ।  पण्डितले ‘सबैको ठिकै छ, तिम्रो र जेठी छोरीको नराम्रो छ’ भनेपछि ग्रह कटाउन  पैसा खोज्न गाउँ गाउँ चहार्‍यो तर पैसा दिन सबैले आनाकानी गरे । 

उसले सबैभन्दा आशा गरेको बिरे  र धनेले पनि पैसाको लागि विभिन्न बहानाबाजी गरे । त्यसपछि बिरेले घरमा भएको बाख्राको  पाठी काटौँ भनेर गंगेलाई मनाउन थाल्यो ।

‘त्यति राम्रो पाठी छ । त्यसलाई पनि के कटाउने,’ गंगेले निराश हुँदै भन्यो ।

‘के गर्छस् त गंगे, ग्रह नकटाउने हो भने यो पनि लगारिन्न अनि यसको के काम भन त ? यो काटेपछि पैसा पनि आउँछ । तेरो बिरामी बूढीलाई तंग्रिन मासु खान पनि हुन्छ,’ बिर्खेले भन्यो ।

घरको असहमतिका बीच पनि गंगेले दुःखका साथ त्यो पाठीलाई कटायो । त्यसबाट उठेको पैसाले पण्डित बोलाएर पाँच दिनपछि ग्रह कटायो ।

अचम्म, त्यसपछि सबै कुरा ठिकठाक चल्न थाल्यो । गंगेले निरन्तर काम पाइरहेको थियो, छोरी पनि बिरामी हुन छाडेकी थिई । अब गंगे केही जिम्मेवारीपूर्ण पनि देखिन्थ्यो । दिनदिनै रक्सी खाने गंगे आजभोलि हप्ताको एक दुई पटक मात्र खान्थ्यो । परिवार अभावका बीच पनि खुसी नै थियो ।

...

एकदिन गंगे काठका मुढा पल्टाउने क्रममा उसको देब्रे हात किचियो । उ करायो, चिच्यायो, छटपटियो । उसको हात कुइनादेखि तल क्षतविक्षत भएको थियो । गाउँलेले पैसा उठाएर नजिकको क्लिनिकमा लगे । त्यहाँ सामान्य उपचारपछि डाक्टरले सहरको ठुलो अस्पतालमा लैजान सुझाए ।

सहरको ठुलो अस्पतालमा गएर उपचार गर्न दुई तीन लाख लाग्न सक्ने स्थानीय डाक्टरले अनुमान गरे । तर गंगेसँग पैसा थिएन । त्यत्रो पैसा गंगेसँग कहाँबाट हुनु । 

घरबारी बेच्दा पनि उपचारको पैसा  पुग्दैनथ्यो । कमाउने मान्छे नै बिरामी भएर बिजोग भएपछि घरमा बिहान बेलुका खानको लागि पनि समस्या भयो । 

छोरीहरूले फाटेको कपडा लगाएको धेरै भएको थियो । श्रीमतीले ज्वानोको झोलबाहेक नखाएको धेरै भएको थियो । अब त त्यही ज्वानो पनि सकिन लाएको थियो । परिवार बिस्तारै बिस्तारै अभाव र दुःखको भुमरीमा पर्दै गएको थियो ।

अहिले बिहान बेलुका गंगेको बुवा आमा मन्दिरमा पूजा गर्छन् । गंगेकी श्रीमती श्रीमान्लाई छिटो निको होस् भनेर दिनहुँ प्रार्थना गरिरहन्छिन् । कमजोर ज्यान भएर पनि हरेक सोमबार उनी व्रत बस्छिन् । बिन्ती गर्छिन् भगवान्सँग, ‘मेरो श्रीमान्लाई छिटै निको बनाइदेऊ प्रभु ।’

अहिले गंगेको परिवार यही आशामा बाँचिरहेको छ कि भगवान्ले हाम्रो बिन्ती कसो नसुन्लान् । एकदिन न एकदिन भगवान्ले हाम्रो दुःख हेर्ने छन् र गंगेलाई निको बनाउने छन् । अनि हामीलाई दुःखको भुमरीबाट निकाल्ने छन् । 

                                                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु पौडेल लम्साल
विष्णु पौडेल लम्साल
लेखकबाट थप