आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थायी शान्ति र लोकतन्त्रका लागि माओवादीसँगको सहकार्य आवश्यक छ : देउवा

गठबन्धन सरकारलाई दह्रो साथ दिन कांग्रेस अगाडि बढिरहेको छ : आङ्देम्बे
शनिबार, ०६ साउन २०८०, १८ : ५३
शनिबार, ०६ साउन २०८०

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । सुनसरीको इनरुवामा आज आयोजित कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टी एकता हुन जरुरी छ । सुदृढ र एकताबद्ध भए बहुमतसहितको पार्टी बनाउन सकिन्छ,’ देउवाले भने, ‘संविधानमा समानुपातिक र समावेशी व्यवस्था भएको कारण बहुमत ल्याउन सक्दैन भनेर कतिपयले भन्छन् । तर, पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ भन्ने लागेको छ ।’

उनले लोकतन्त्र र स्थायित्वको लागि अझै पनि माओवादीसँग सहकार्य आवश्यक भएको बताए । ‘नेपालमा लामो लडाई, संघर्ष र बलिदानपछि आएको संघीय व्यवस्था छ । यसलाई स्थायी ढङ्गले बचाउनु पर्छ । लोकतन्त्रलाई अझ बढी संस्थागत गर्नुपर्छ । यस्तो बेलामा हाम्रो गठबन्धन सरकार छ । प्रचण्डजीलाई हामीले प्रधानमन्त्री मानेका छौँ,’ देउवाले भने, ‘अहिले स्थायी शान्ति आवश्यक छ । स्थायी लोकतन्त्र आवश्यक छ । त्यसका लागि प्रचण्डजी र माओवादी प्रतिबद्ध रहनुभएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका हौँ । लोकतन्त्रलाई अझ बढी सुदृढीकरण गर्न र स्थायी शान्ति ल्याउनका लागि अझै पनि हामीले माओवादीसँग सहकार्य गर्नुपर्छ । शान्तिको लागि माओवादीले पनि प्रशस्त सहयोग गरेको छ ।’

Deuba (1)

सम्मेलनमा बोल्दै कांग्रेसका उपसभापति भीष्मराज आङ्देम्बेले कोशी प्रदेशमा चलिरहेको आन्दोलनलाई सहमति गराएर अगाडि बढ्नु पर्ने बताएका छन् । ‘राजनीतिक सहमति बाहेक अर्को विकल्प छैन । जुनसुकै तहबाट गरिएका आन्दोलनबाट निष्कर्ष प्राप्त हुन सक्दैन । कोशी प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले फेरि पनि वार्ता मार्फत नै समाधान गर्नुपर्दछ,’ आङ्देम्बेले भने । 

उनले गठबन्धनको सरकारले भ्रष्टाचारको विषयमा सशक्त काम गरिरहेको बताउँदै त्यसको नेतृत्व कांग्रेसले नै गरिरहेको दाबी गरे । ‘ललिता निवास काण्ड होस् या नक्कली भुटानी शरणार्थी काण्डको विषयमा होस् सरकार सशक्त ढङ्गले अगाडि बढिरहेको छ । कांग्रेसले साथ दिएकै कारण प्रचण्ड नेतृत्वको सरकार सशक्त ढङ्गले अगाडि बढ्न सकेको हो,’ उनले भने, ‘गठबन्धन सरकारलाई दह्रो साथ दिन कांग्रेस अगाडि बढिहरेको छ ।’

फरक प्रसङ्गमा उनले कुनै अमुक ठाउँबाट एक्कासि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै तरिकाले समाप्त हुने दाबी गरे । ‘भ्रष्टाचारको विषय उठाएर उदाएको पार्टीले भ्रष्टाचारको विरुद्धमा सरकार लागिरहँदा समर्थन दिनको सट्टा समर्थन फिर्ता लिएर बार्दलीको मतियार किन बनिरहेका छन् ?,’ उनले प्रश्न गर्दै भने, ‘कस्मेटिक जस्ता देखिने पार्टीका साथीहरू यसरी नै विलीन हुनेछन् । कांग्रेस आदर्शबाट जन्मिएको पार्टी भएको कारण आज पनि र भोली पनि रहिरहने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप