आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खाद्य सङ्कट

रुस र भारतको कदमबाट विश्वमा खाद्य सङ्कटको कालो बादल

आइतबार, ०७ साउन २०८०, ०६ : ४०
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । रुस–युक्रेनको युद्धको प्रभावस्वरुपः विश्व बजारमा पुनः एक पटक खाद्यान्नको सङ्कटको जोखिम बढेको छ । युरो एसियाली मुलुक रुस र युक्रेन आपसी युद्धमा फसेको डेढ वर्षपछि विश्वभर फेरि खाद्य सङ्कटको कालो बादल मडारिएको हो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा छिमेकी युक्रेनमाथि सैन्य हमला गरेलगत्तै विश्वभर खाद्य सङ्कट देखा परेको थियो । युक्रेन रुससँगको सैन्य भिडन्तमा फस्नुअघि युरोपको सबैभन्दा ठुलो गहुँ निर्यातकर्ता थियो । यस्तै, विश्वकै ठूलो सूर्यमुखी तेल उत्पादक र निर्यातकर्ता समेत थियो ।

युद्धमा फसेपछि युक्रेनबाट हुने निर्यात प्रभाव परेर विश्वभर खाद्य सङ्कटको जोखिम बढेपछि रुसले कालासागरबाट हुने निर्यात नरोक्ने सहमति गरेको थियो । तर, अघिल्लो साता रुस आफ्नो उक्त सहमतिबाट पछाडि हट्यो र युक्रेनको निर्यात पूर्णरुपमा रोक्ने निर्णय गर्‍यो । जसबाट, विश्वभर पुनः एक पटक खाद्य सङ्कटको जोखिम बढेको हो ।

रुसको उक्त निर्णयसँगै युक्रेनबाट हुने निर्यात पूर्णरुपमा प्रभावित बन्ने समाचार संस्था रोयटर्सले लेखेको छ । यसबाट विश्वभर खाद्यान्नको अभाव हुने र महँगी चुलिने समेत रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ । किनकि, युक्रेन युरोपकै अन्न भण्डारका रुपमा सबैभन्दा धेरै अन्न उत्पादन गर्छ र खाने तेलको समेत ठुलो उत्पादक हो ।

यसबाट विश्व बजारमा रोटी, पास्ता, चाउचाउ, बिस्कुट लगायतका वस्तुको मूल्य बढ्छ । यस्तै, युरोप, अमेरिका, अफ्रिकादेखि एसियासम्म रुसको निर्यात प्रतिबन्ध लाउने कदमबाट प्रभावित बन्छन् । लगत्तै छिमेकी मुलुक भारतले बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउँदा झनै ठुलो समस्या आउने बताइएको छ ।

यी दुई निर्णयबाट विश्वभरको खाद्यान्न आपूर्ति प्रणाली प्रभावित बन्ने ग्लोबल न्युजले लेखेको छ । ‘फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का अनुसार विश्वमा आयात हुने कूल ४० प्रतिशत चामल भारतबाट निर्यात हुन्छ । भारतका आपूर्ति मन्त्रीले आन्तरिक बजारको मूल्यवृद्धि नियन्त्रण गर्न चामलको निर्यात रोक्नुपर्ने बाध्यता आइपरेको बताएका थिए ।

रुस–युक्रेन युद्धपछि भारतको आन्तरिक बजारमा चामलको मूल्य बढेको बढ्यै छ । मूल्यवृद्धि नियन्त्रण गर्न भारतले सन् २०२२ सेप्टेम्बरमा चामलको निर्यातमा २० प्रतिशत कर लगाउनुका साथै कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले पछि निर्यातमा लाग्दै आएको कर घटाए पनि पुनः निर्यात प्रतिबन्ध लगाएको छ ।

भारतमा गत वर्षको तुलनामा चामलको मूल्य ११ प्रतिशतभन्दा धेरैले बढेको छ भने गत महिनाको तुलनामा ३ प्रतिशतले मूल्य बढेको छ । बासमती बाहेकको चामल निर्यातमा लगाएको प्रतिबन्धले आन्तरिक बजार भाउ नियन्त्रणमा आउने आपूर्ति मन्त्रीको विश्वास छ । तर, भारतको आन्तरिक बजारमा सन्तुलन कायम भए पनि विश्व बजारमा भने यो निर्णयले उथलपुथल आउने पक्कापक्की छ ।

किनकि, भारतका चामलको निर्यात प्रतिबन्ध लगाउनु ठिक तीन दिन अघि रुसले ब्लाकसीबाट हुने युक्रेनको निर्यात रोक्ने निर्णय गरेको थियो । क्रेमलिनका प्रवक्ता ड्मिर्टी पेसकोभका अनुसार रुसको खाद्यान्न र रासायनिक मल बेच्न नपाउँदासम्म युक्रेनले विश्वलाई ब्ल्याक सीबाट खाद्यान्न बेच्न पाउने छैन । यो समुन्द्रमा रहेको युक्रेनको जहाजहरू रुसले चल्न दिएको छैन ।

युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रुसले आफ्नो खाद्यान्न बेच्न पाएको छैन । यस्तै, बीमामा गरिएको प्रतिबन्धका कारण समेत रुसलाई समस्या परिरहेको छ । युक्रेनको निर्यात रोकेर विश्वलाई दबाब दिँदै रुसले आफ्नो निर्यात खुलाउन बाटो खोल्ने योजना बनाएको देखिन्छ ।

टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा रुसले युक्रेनबाट ३२ मिलियन मेट्रिक टनभन्दा धेरै खाद्यान्न निर्यातको अनुमति दिएको थियो । यो खाद्यान्न ब्ल्याक सी हुँदै टर्कीमार्फत विश्वभर निर्यात हुने गरेको थियाे। र, युक्रेनबाट हुने निर्यात विश्वभरका विकासशील राष्ट्रमा पुग्ने गरेको छ । नेपालले समेत रुसबाट खाने तेल (तोरीको तेल, भटमासको तेल र सूर्यमुखीको तेल) आयात गर्ने गरेको छ ।

रुसको उक्त कदमबाट अफ्रिका र पश्चिम एसियाका मुलुकहरू मुख्यगरी प्रभावित बन्नेछन् । ब्ल्याक सी हुँदै खाद्यान्न आयात गर्ने देशहरूको सूचीमा चीन (८ मिलियन मेट्रिक टन), स्पेन (६ मिलियन मेट्रिक टन), टर्की (३.२ मिलियन मेट्रिक टन) र इटाली (२.१ मिलियन मेट्रिक टन) छन् । रुसको पछिल्लो कदमबाट विश्वभर खाद्यान्नको मूल्य बढ्ने छ भने गरिबहरू भोकै पर्ने र झनै गरिब बन्ने जोखिम बढेको छ । यस्तै, विश्वभर खाद्यान्न दान समेत प्रभावित बन्नेछ ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार सन् २०२२ मा विश्वभर ७२५ मिलियन मानिस भोकमरीको चपेटामा परेका थिए । यस्तै, सन् २०१९ मा ६१३ मिलियन मानिस भोकमरीको चपेटामा आएका थिए । यो सङ्ख्या सन् २०२३ मा झनै बढ्न सक्ने जोखिम चुलिएको छ । रुस र भारतको पछिल्लो कदमबाट नेपाल समेत स्वतः प्रभावित बन्नेछ ।

नेपालले युक्रेनबाट अर्बौँ रुपैयाँको खाने तेल (तोरी, भटमास र सूर्यमुखी) आयात गर्दै आइरहेको छ । यस्तै, नेपालले बर्सेनि भारतबाट ५० देखि ६० अर्ब रुपैयाँ बराबरको चामल आयात गर्दै आइरहेको छ । सोही कारण, रुस र भारतको पछिल्लो निर्णयबाट विश्वका अन्य मुलुकमा जस्तै नेपालमा समेत मूल्यवृद्धि र अभावको समस्या हुन सक्ने देखिएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप