आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कसरी गर्न सकिन्छ, सवारी दुर्घटना न्यूनीकरण ?

सोमबार, ०८ साउन २०८०, ०९ : ५८
सोमबार, ०८ साउन २०८०

मुलुकभर गत आर्थिक वर्ष २०७९/२०८० मा २३ हजार पाँच सय ९७ पटक सवारी दुर्घटना भएको प्रहरी तथ्यांक छ । यी त प्रहरीको अभिलेखमा आएका दुर्घटना भए । प्रहरीलाई जानकारी नभएका दुर्घटना पनि थुप्रै हुन सक्छन् । 

सानातिना ठक्कर लाग्ने, आफैँ उपचार गराउने, चालक सवारी साधन लिएर भाग्ने, नभेटिने, घटनास्थलमै मिलाउने काम प्रहरी अभिलेखमा आइपुग्दैन ।

गत वर्ष भएको सवारी दुर्घटनाका कारण दुई हजार तीन सय ६८ जनाले जीवन गुमाए । जसमध्ये पुरुष एक हजार सात सय ७३, बालक एक सय १५, महिला तीन सय ९९, बालिका ८१ जना थिए ।

गत वर्ष सवारी दुर्घटनाबाट २४ हजार चार सय ८८ मानिस साधारण घाइते र पाँच हजार सात सय ३८ गम्भीर घाइते भएका थिए । यस्तै, गत वर्ष दुई हजार तीन सय ६८ जनाले जीवन गुमाए । जसमध्ये पुरुष एक हजार सात सय ७३, बालक एक सय १५, महिला तीन सय ९९, बालिका ८१ जना थिए । 

चालकको लापरबाही, पैदलयात्रीको अज्ञानता वा हतार गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु, पुरानो मर्मतसम्भार नभएका सवारी साधन चलाउनु, सडकको अवस्था लगायत धेरै कारणले सडक दुर्घटना हुन्छन् ।

प्रहरी तथ्यांक अनुसार, गत वर्ष २३ हजार पाँच सय ९७ पटक दुर्घटना हुँदा कुल ३७ हजार तीन सय ९२ वटा सवारीसाधन परेका थिए । 

जसमध्ये मोटर साइकल १९ हजार पाँच सय ११ वटा, कार–जिप आठ हजार चार सय ३२, बस दुई हजार आठ सय ५०, ट्रक–ट्याङ्कर दुई हजार पाँच, माइक्रो बस चार सय ७७ र टेम्पो एक हजार एक सय ८१ वटा थिए । 

गत वर्ष सबैभन्दा बढी अर्थात् १० हजार ६ सय ७५ वटा सवारी सवारी दुर्घटना काठमाडौँ उपत्यकामा भए । सवारी दुर्घटनाकै कारण ३२ हजार पाँच सय ९४ जना पीडित बन्न पुगे ।

तुलनात्मक रूपमा गत तीन आर्थिक वर्षमा भन्दा पछिल्लो वर्ष सवारी दुर्घटनामा केही कमी भने देखिन्छ ।  

आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनाबाट दुई हजार दुई सय ८१ जनाको ज्यान गएको थियो । यस्तै, सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७७/७८ मा दुई हजार पाँच सय जना, २०७८/०७९ मा दुई हजार आठ सय ८३ जना र २०७९/०८० मा दुई हजार तीन सय ६८ जनाको ज्यान गयो । 

आर्थिक वर्ष २०७३/७४ मा दुई हजार तीन सय ८४ जनाको ज्यान गएको थियो । यसरी हेर्दा विगतका वर्षमा भन्दा सडक दुर्घटनाबाट हुने मानवीय क्षति कमी नै देखिन्छ ।

यसो हुनुमा पैदलयात्री र सवारी चालकको सचेतना, ट्राफिक प्रहरीको सडकमा मेहनतलाई कारक मान्न सकिन्छ । सडक दुर्घटना न्यूनीकरणका लागि प्रत्येक नगरपालिका समेतले पहल गर्न अनिवार्य छ । आफ्ना नगरभित्रका स्कुल तथा कलेजमा अनिवार्य सडक शिक्षा र जनचेतनामूलक कार्यक्रम विज्ञबाट सञ्चालन गराउन सकिन्छ ।

गत वर्ष नेपाल प्रहरीले विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । ट्राफिक प्रहरीले मात्र नेपालका विभिन्न स्थानमा ८१ हजार १८ वटा जनचेतनामूलक कार्यक्रम गरेर ४७ लाख ४० हजार नौ सय ७५ सर्वसाधारणलाई सडक दुर्घटना कम गर्ने विषयमा सचेत गराएको थियो ।

जनचेतनामूलक कार्यक्रमले मात्र सडक अनुशासन कायम राख्न सकिन्न, तसर्थ ट्राफिक प्रहरीले गत वर्ष देशभरिका विभिन्न स्थानबाट सडक अनुशासन उल्लंघन गर्ने २४ लाख ८५ हजार चार सय ९६ वटा सवारी साधन (चालक) लाई कारबाही गरेको थियो, जसबाट एक अर्ब ८८ करोड १४ लाख ५४ हजार पाँच सय रुपैयाँ राजस्व समेत जम्मा गरेको देखिन्छ ।

हामीकहाँ प्रयोग हुने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । त्यसैले दुर्घटनामा पनि मोटरसाइकल नै बढी परेका छन् । गत वर्षको अभिलेख अनुसार, आठ लाख ९२ हजार ६ सय ३० वटा मोटरसाइकल कारबाहीमा परेका थिए, जसबाट ६४ करोड ५० लाख ७० हजार राजस्व जम्मा भएको थियो ।

न्यूनीकरण कसरी ?

भौतिक पूर्वाधार पूर्ण नभएकै कारण सडक दुर्घटना भएको नकार्न सकिन्न । पैदलयात्री नै सडक दुर्घटनामा परिरहेका हुन्छन् । सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि भनेर दर्ता भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सर्वसाधारणमा सडक तथा सवारी साधनको प्रयोगसम्बन्धी जनचेतनाका कार्यक्रम गर्ने हो भने दुर्घटनामा कमी ल्याउन सकिन्छ । 

विश्वभरिमा प्रतिदिन सात सयको हाराहारीमा स्कुल–कलेज पढ्ने विद्यार्थीको सडक दुर्घटनाबाट ज्यान जाने गरेको डब्लुएचओको तथ्याङ्क पाइन्छ ।

सडक विभाग र यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी र अन्य संघ–संस्थाको मद्दतमा सर्वसाधारण, सवारीचालक, परिचालक, पैदलयात्री विद्यार्थीलगायत सबै सडक प्रयोगकर्तालाई प्रशिक्षण प्रदान गर्न जरुरी छ ।

सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेकालाई सवारी चालक अनुमतिपत्र वितरण गर्नुअगाडि सडक सुरक्षा सचेतना कक्षा दिन उपयुक्त हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली पनि प्रत्येक वर्ष घाइते तथा मृत्यु हुने गरेको समाचार पढ्न वा सुन्न परिरहेको छ । रोजगारीमा जानेलाई  जानुअघि नै सरकारलाई सरकारले सम्बन्धित देशको सडक प्रयोग गर्ने तरिकाबारे प्रशिक्षण दिन जरुरी देखिन्छ । विदेशमै भएकालाई पनि अनलाइन कक्षा लिनका लागि अनुरोध गर्न वा अनिवार्य गर्न सकिन्छ ।

सडक अनुशासन कायम राख्न र सडकमा सवारी आवागमन व्यवस्थित गर्न ट्राफिक प्रहरीले कारबाही गर्ने केही प्रमुख कारण निम्न छन् ।

१) सडक लेन अनुशासनको पालना नगरेमा । 

२) ट्राफिक लाइटको सही प्रयोग नगरेमा ।

३) चर्को हर्न बजाएमा ।

४) तीव्र गतिमा सवारीसाधन चलाएमा ।

५) मादक पदार्थ तथा लागु पदार्थको सेवन गरी सवारी चलाएमा । 

६) जथाभावी पार्किङ गरेमा ।

७) सवारी चालक अनुमतिपत्र नलिई सवारी साधन चलाएमा ।

८) सिट बेल्ट तथा हेल्मेट नलगाई सवारी साधन चलाएमा ।

९) निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारी चलाएमा, ढोका खुला राखी बस चलाएमा ।

१०) बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएमा, सवारीको स्वरूप परिवर्तन तथा मोडिफाई गरेमा ।

सबैको असल प्रयासले मात्र दुर्घटना कम गर्न सकिन्छ, सबै सचेत होऊँ ।

(लेखक गौतम पूर्वप्रहरी नायब उपरीक्षक तथा सडक शिक्षा प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विपिन गौतम
विपिन गौतम
लेखकबाट थप