आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

देउवा र गगनको जुहारीमा शेखरलाई ‘बेनिफिट’

सोमबार, ०८ साउन २०८०, १४ : ५३
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति भर्सेस महामन्त्रीको माहौल देखिन्छ । बैठकको अन्तिम पङ्क्तिमा आसीन नेता शेखर कोइराला शान्तरुपमा सभापति र महामन्त्रीको पक्षमा चलेको जुहारी सूक्ष्म तवरले निकालिरहेका देखिन्छन् ।

साउन २ मा प्रस्ताव र प्रतिवेदन बैठकमा पेस भएकोमा साउन ३, ४, ५ ( ६ गते बाहेक) र ७ गते गरी चार दिन १४० जना केन्द्रीय सदस्यले आ–आफ्नो राखिसकेका छन् । करिब १२५ जना केन्द्रीय सदस्य देउवाको बचाउमा उभिँदा महामन्त्री थापालाई साथ दिने सङ्ख्या सानो देखिएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र महामन्त्री गगन थापाको सार्वजनिक अभिव्यक्तिमाथि अधिकांश केन्द्रीय सदस्यको वाद–प्रतिवादमा उत्रिएका छन् ।

बैठकमा राष्ट्रिय राजनीति र जनजीविकाका सवाल छलफलको प्रधान विषय बन्न सकेन । बरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणको प्रतिरक्षा र प्रतिवादले बैठकमा प्रमुखता पायो । निर्वाचन प्रणाली परिवर्तन, पार्टीभित्र गुटबन्दी र चुनावी अन्तर्घातभन्दा बाहिर छलफल खासै जान सकेन ।

संस्थापन पक्षका अधिकांश सदस्य महामन्त्री थापामाथि खनिए । देउवाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर पार्टीलाई कमजोर बनाएको उनीहरूको आक्षेप लगाए । 

बैठकमा इतर पक्षबाट केन्द्रीय सदस्यबाट सभापति देउवामाथि विधानअनुसार पार्टी सञ्चालन नगरेको, सबैलाई नसमेटेको, संगठन र भ्रातृ संस्था लथालिङ्ग पारेको र ठुला भ्रष्टाचार काण्डमा मौन बसेको आरोप लाग्यो । इतर पक्षको नेतृत्व मानिने कोइरालामाथि भने संस्थापन पक्षका नेताहरूबाट सद्भाव प्रकट भयो ।

विगतमा पनि संस्थापन र इतर समूहका नाममा केन्द्रीय सदस्यको मत विभाजित हुन्थ्यो । अहिलेको बैठकमा पनि वाद–प्रतिवादको विषय सभापति र महामन्त्रीद्वय बने । तर संस्थापन पक्षका नेताहरूले इतर पक्षको नेतृत्व मानिएका शेखर कोइरालाप्रति कुनै टिप्पणी गरेका छैनन् ।

केन्द्रीय समिति बैठकअघि गुटगत बैठक नराखेकोमा संस्थापन पक्षीय नेताहरूले कोइरालालाई धन्यवाद दिएका छन् । बुधवारको बैठकमा केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाउन खोजेको भन्दै कोइरालालाई धन्यवाद दिएका थिए । 

‘म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु । चुनावपछि उहाँले संयमको राजनीति गरेर पार्टीलाई एक ढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ,’ उनले भने, ‘गुटका कुरा होइन, पार्टी एक ढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’ 

अन्य केन्द्रीय सदस्यले पनि कोइरालामाथि कुनै टिप्पणी गरेका छैनन् । बरु संस्थापन पक्षका नेताहरूको निशाना महामन्त्री गगन थापामाथि बढी छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मामाथि कटाक्ष गर्ने पनि धेरै छन् । समग्रमा देउवा पक्षीय नेताहरू महामन्त्रीद्वयप्रति आक्रामक सुनिएका छन् । संस्थापन इतरमा शेखर कोइरालानिकट मानिने नेताहरूले पनि सभापति देउवाको चर्को आलोचना गरेको सुनियो । मन्त्री र भ्रातृ संस्थामा देउवा र कोइरालाबीच भएको सहमति सानेपाको बैठकमा पनि देखियो ।

संस्थापन इतर पक्षबाट जितेका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि महामन्त्रीमाथि खनिए । 

संस्थापन इतर पक्षीय केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रुक्मिणि कोइराला, प्रतिमा गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, डा.चन्द्रमोहन यादव, मुक्ताकुमारी यादवले पनि सभापतिको कार्यशैलीमाथि प्रश्न उठाएको पाइएन । चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेताको पद दिन सभापतिसमक्ष माग गरेका थिए भने रिजालले महामन्त्री थापालाई देउवासँग मिल्न सुझाव दिए । संसदीय दलको नेता बदल्ने कुरामा मन नडुलाउन थापालाई रिजालको सुझाव थियो ।

तर, संस्थापन इतर पक्षका अर्जुननरसिंह केसी, सञ्जय गौतम, अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेही, मधु आचार्य भने सभापति देउवामाथि प्रश्न उठाएका थिए । इतर पक्षका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको पनि सभापतिमाथि गुनासो सुनियो । तर, केन्द्रीय कार्यसमितिमा ८२ प्रतिशत होल्ड भएका देउवाको बैठकमा बलियो प्रतिरक्षा भइरहेको छ । केन्द्रीय सदस्यका साथै बाँकी ६ जना सहमहान्त्री पनि देउवाको प्रशंसा गर्ने प्रतिस्पर्धामा सामेल भए । 

आइतबार आफ्नो धारणा राखेका शेखर कोइरालाले पनि पार्टी नेतृत्वभन्दा सरकारमाथि बढी प्रश्न तेर्स्याए । बैठकमा १५ बुँदे सुझाव राखेका कोइरालाले बैठकमा चलेको आरोप–प्रत्यारोपप्रति विमति राखे । ‘लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ,’ कोइरालाको भनाइ थियो ।

संस्थापन पक्षीय नेताहरूका अनुसार बैठकको प्रस्तुत हेर्दा कोइराला सभापति र महामन्त्रीसँग समदुरीको सम्बन्धनमा अगाडि बढ्न खोजेको देखिन्छ । ‘पार्टीसँग जोडिएका प्रश्न सभापतिसहित पदाधिकारीलाई राख्नु भएको छ । पार्टीको समस्या सभापति मात्रै हो भन्ने भन्ने गरी उहाँ प्रस्तुत हुनु भएन । एक वर्षपछि बैठक बस्ने अवस्था किन आयो भनेर सभापतिका साथै पदाधिकारीबाट पनि जवाफ खोज्नु भएको छ,’ देउवा पक्षीय एक नेताले भने । संस्थापन पक्षकै नेताहरू कोइरालाको स्टेटमेन्टले प्रतिवाद नभई जवाफ मात्र मागेको बताउँछन् ।

‘बैठकमा सभापति भर्सेस महामन्त्री बनिरहँदा कर्नरमा शेखर दाइ शान्त बसिरहनु भएको छ । यो बैठकमा उहाँलाई राजनीतिक बेनिफिट भइरहेको छ,’ ती नेताले भने ।  

तर, इतर पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतम भने देउवाप्रति गगन र शेखरको बुझाइ एउटै रहेको दाबी गर्छन् । उनले भने, ‘बैठकमा हामी एकै भावका साथ प्रस्तुत भएका छौँ । गगनजी र शेखर डाक्टरसापबीचको बुझाइ एउटै छ । एउटै स्प्रीटमा बैठकमा प्रस्तुत हामी प्रस्तुत भइरहेका छौँ ।’ 

कोइरालाले यसपटक पार्टी र राष्ट्रिय राजनीतिबारे समूहको एक स्वर बनाउने प्रयत्न गरेको पाइएको थिएन । बैठकअघि उनले इतर पक्षीय केन्द्रीय सदस्यको बैठक राख्न समेत अनिच्छा देखाएका थिए । नेताहरूका अनुसार महामन्त्री थापा नेता कोइरालाको भूमिकाप्रति सन्तुष्ट छैनन् । 

देउवाले तोक्लान् त वरिष्ठ नेता ?

कांग्रेसमा केन्द्रीय सदस्यद्वय गोपालमान श्रेष्ठ र शेखर कोइरालालाई वरिष्ठ नेता मनोनीत गर्न लागिएको चर्चा छ । बैठकमा संस्थापन पक्षले श्रेष्ठ र संस्थापनइतर पक्षले कोइरालालाई वरिष्ठ नेता बनाउन सभापति देउवालाई प्रस्ताव गरेका थिए । कांग्रेसको वरीयतामा अनुसार श्रेष्ठ पूर्व पदाधिकारीको पहिलो र कोइराला केन्द्रीय सदस्यको पहिलो नम्बरको वरियतामा छन् । उनीहरूलाई वरिष्ठ नेतामा मनोनीत गरिए सभापतिपछिको वरियता हुने छ । 

कांग्रेसमा सभापतिको मुख्य प्रत्याशीलाई वरिष्ठ नेता बनाउने अभ्यास छ । पार्टीको विधानले वरिष्ठ नेताको परिकल्पना नगरेको भएपनि नेताहरूले परम्पराको निरन्तरता खोजेको देखिन्छ । केन्द्रीय सदस्य सीतादेवी देवकोटा र चन्द्रबहादुर केसीले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए । कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएका श्रेष्ठ नेपाली कांग्रेसको उपसभापति पनि बनिसकेका छन् । यता १४ औं महाधिवेशनमा देउवाका मुख्यप्रतिस्पर्धी कोइरालालाई वरिष्ठ नेता बनाउन युवा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र केन्द्रीय सदस्य चन्द्रमोहन यादवको माग थियो ।

कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि वरिष्ठ नेताको पद खाली छ । देउवाले श्रेष्ठ र कोइराला दुवैलाई वरिष्ठ नेता बनाउने तयारीमा छन् । तर, उपसभापति पूर्णबहादुर खड्काको सहमति नहुँदा यो रोकिएको संस्थापन पक्षीय एक नेताले रातोपाटीलाई बताए ।

ती नेताका अनुसार उपसभापति खड्का श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कुरामा सकारात्मक भएपनि कोइरालाका हकमा उनको विमति छ । आफ्नो ‘कोर टिम’मा सहमति भए श्रेष्ठ र कोइरालालाई वरिष्ठ नेता बनाउने देउवाको तयारी छ । सहमहामन्त्री डिना उपाध्याय, प्रवक्ता प्रकाश, नेता एनपी साउद, मोहन बस्नेत लगायतले कोइराला पनि वरिष्ठ नेता बनाउनुपर्ने पक्षमा देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप