आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपालाई विश्वप्रकाशले भने– ८४ मा चुनाव मात्रै हुँदैछ

सोमबार, ०८ साउन २०८०, १७ : ०३
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले अहिले नै मिसन ८४ को घोषणा नगर्ने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘कांग्रेसको बैठकमा मिसन ८४ को गम्भीरतापूर्वक छलफल भएको म मान्दिनँ, म भन्दिनँ । यो बैठकले मिसन ८४ को घोषणा गर्दै छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै कतिपय दलले मिसन ८४ को घोषणा गरेपनि ८४ मा चुनाव मात्रै हृुने बताए । ‘८४ मा ०७ सालको जस्तो केही परिवर्तन हुँदै छैन । ८४ मा ४६ सालको जस्तो केही परिवर्तन हुन लागेको होइन । ६४ मा देशमा ठूलो हिंसात्मक भएको थियो,’ उनी भन्छन्, ‘कांग्रेसको नायकत्वमा त्यसलाई शान्तिपूर्ण बनाएजस्तो केही हुँदैछैन । संविधान लेख्नेकै नेतृत्व सफलता नहुँदै गर्दा कांग्रेसको नेतृत्वमा सफलता भएजस्तो ८४ मा नयाँ कुनै संविधान बन्दै छैन । ८४ मा केवल चुनाव हुँदैछ ।’

राजनीतिक दलले चुनावको मात्र चिन्ता गर्न नहुने महामन्त्री शर्माको भनाइ छ । ‘७४ मा चुनाव हुने ७९ को चिन्ता, अनि ७९ मा चुनाव हुने ८४ को चिन्ता, ८४ मा चुनाव भएपछि ८९ को चिन्ता, देशको चिन्ता कहिले गर्ने ? कांग्रेस यो विषयमा छ । कांग्रेसल मिसन ८४ घोषणा गर्नै परे पनि ८३ साल पुग्दै गर्दा घोषणा गरौंला,’ उनले भने ।

अहिले नेपाली कांग्रेसले देशको बारेमा विविध छलफल गरेको शर्माको भनाइ छ । ‘संगठनलाई बलियो राखेर अबको दिन, महिना र वर्षलाई मिसन बनाएको छ,’ उनले भने, ‘चिन्तै गर्नुपर्यो भने मिसन ८४ होइन ९८ मा यो देश कस्तो बनाउने भन्ने सपनामा चिन्तित भएर जाने कुरामा नेपाली कांग्रेस छ ।’

कांग्रेस पुराना दलको भन्दै दिन गए भन्नेहरुलाई उनले पृथ्वी पनि आफैमा पुरानो भएको बताए ।  ‘कांग्रेस पुरानो दल हो । पुराना दलको दिन गए भनेर कयैले भनि आएका छन् । तर, यो पृथ्वी पनि आफैमा पुरानो हो । हाम्रा धर्मशास्त्र पनि पुराना हुन् । यो देश पनि पुरानो हो । कांग्रेसको स्थापना हुँदा जो जो केन्द्रीय समितिमा हुनुहुन्थ्यो, आज कोही पनि यहाँ हुनुहुन्न,’ उनले भने, ‘आज जो जो

केन्द्रीय समितिमा हुनुहन्छ, स्थापना हुँदा केन्द्रीय सदस्य हुनुहुन्थेन । संस्था र व्यक्तिका बीचमा फरक हुन्छ । संस्था परिमार्जित भइरहन्छ, नेतृत्व आइरहन्छ ।’ कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक विषयसँग जनजीविकाको मुद्दामाथि पनि घनिभूत छलफल भएको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप