आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय समिति बैठक

कानुन हातमा लिनेको सदस्यता खारेज गरेर जानुपर्छ : महामन्त्री शर्मा

सोमबार, ०८ साउन २०८०, १७ : १९
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ।’

यस्तै भ्रातृ संस्थामा सुधारको आवश्यकता रहेको भन्दै उनले कानुन हातमा लिनेको सदस्यता खारेज गरेर जानुपर्ने बताए । ‘भ्रातृ संस्थाबारे केही कुरा गरौँ। कानुन हातमा लिनेको सदस्यता खारेज गरेर जानुपर्छ। कतै कालोमोसो दले सिङ्गो कांग्रेस बदनाम भइरहेको छ,’ उनले भने ।  विदेशमा रहेका नेपालीलाई जोडेर अन्तर्राष्ट्रिय अधिवेशन गरी महाधिवेशनमा प्रतिनिधि बनाउनुपर्ने महामन्त्री शर्माले बताए । ‘‘बाहिर नेपाली समुदाय फैलिएको छ। यो समुदायलाई जोड्न अन्तर्राष्ट्रिय अधिवेशन गरेर प्रतिनिधि यहाँ सहभागी गराउन सक्नुपर्छ, ’ भने ।

बाहिर रहेको समुदायको बारेमा हामीले गम्भीर कार्यक्रम बनाउनुपर्ने महामन्त्री शर्माको भनाइ छ । उनले भने, ‘बाहिर रहेका सबैले अन्त भोट हाले भनिएको छ तर त्यसो होइन। बाहिर रहेको समुदायको बारेमा हामीले गम्भीर कार्यक्रम बनाउनुपर्नेछ।’ महाधिवेशनमा उपविजेतका भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने उनले बताए । ‘पार्टी अधिवेशनमा पराजित एक व्यक्तिलाई मनोनीत गर्दा अर्को साथीलाई अप्ठ्यारो पार्ने काम नगरौँ। उपविजेता भएको मान्छेलाई मनोनीत नगरौँ,’ उनले भने ।

यस्तै महामन्त्री शर्मा नेता शेखर कोइरालाको अभिव्यक्तिको खण्डन गरेका छन् । ‘शेखर कोइरालाले अन्य दलको बारेमा पटक्कै नबोल्नु भन्नु भो। तर त्यो लेखेकै छैन। त्यो चिट दिने मै हुँ। त्यस्तो दिएको छैन। कुनै पनि दलको बैठकमा आवश्यकता अनुसार अन्य दलको चर्चा हुन्छ,’ उनले भने । महामन्त्री शर्माले पार्टीको सिङ्गो सङ्गठनको कार्यतालिका बनेको उनले बताए । ‘यसका लागि अठोट लिइएको छ। निर्धारित कार्यक्रमहरू प्रदेश कार्यसमितिको नेतृत्वमा अगाडि बढ्छन्,’ उनी भन्छन्, ‘केही हेर फेरि गरौँला, हामीले टिपेका छौँ परिमार्जन गरेर जानेछौँ प्रदेश सभापतिजीहरूसँग पनि जान्छौँ।’ 

महामन्त्री शर्माले जिल्ला सभापतिको नियमित छलफल मात्र गरेको प्रष्टीकरण दिएका छन् । ‘जिल्ला सभापतिहरूको भेला थिएन। हामी दुवै महामन्त्रीले केके भइरहेको छ भनेर सोध्ने जिम्मेवारी हो सोहीअनुसार गरेका हौँ । यो भेला होइन छलफल हो। नियमित छलफल अन्तर्गत हो भन्नुहोला,’ उनले भने, ‘महामन्त्रीले किन काम नगरेको भन्नु हुन्छ। काम गर्दा किन गरेको नभनिदिनू ।’

पार्टीका क्रियाशील सदस्यले पनि भोट नहाल्ने कुरा गलत हुने उनको भनाइ छ । ‘क्रियाशील ९०० भएकोमा २०० मत आयो भनियो। कहाँ आयो यहाँ आयो भन्नुपर्‍यो। क्रियाशीलले भोट हाल्दैनन् भन्ने भयो भने गलत हुन्छ,’ उनले भने ।

यस्तै महामन्त्री शर्माले अब सभापतिलाई पनि पार्टी कार्यालयमा भेट्न सकिने बताए । ‘बलबहादुर केसीले घरबाटै कार्यालय चलाउने भन्नु भो। त्यसो होइन। बैठक भएको बेला मात्रै होइन । अब सभापितजीलाई अरू बेलामा पनि कार्यालयमा भेट्न सक्छौँ,’  उनले भने । महामन्त्री शर्माले आफूले घरमा कसैसँग भेटघाट नगरेको पनि बताए । ‘म काठमाडौँमा फ्ल्याटमा बस्छु। त्यहाँ मेरो परिवारलाई मात्रै समय दिन्छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप