आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एनआरएनए चुनाव

चुनावी माहोलमा एनआरएनए, २३ देशमा नेतृत्व चयन (सूचीसहित)

सोमबार, ०८ साउन २०८०, २१ : ०९
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) चुनावी माहोलमा होमिएको छ । आगामी अक्टोरबरमा ११ औँ विश्व सम्मेलन गर्ने तयारी स्वरुप यतिबेला एनआरएनएको विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय समिति (एनसीसी)हरुमा धमाधम अधिवेशन र नेतृत्व चयन चलिरहेको छ । 

जुलाइ महिनाभर सबै एनसीसीले नेतृत्व चयन गर्ने भनि केन्द्रले दिएको कार्यादेशअनुसार हालसम्म २३ वटा एनसीसीहरुले निर्वाचन सम्पन्न गरेका छन् भने कतिपय एनसीसीहरु अझै प्रक्रियामा छन् । यस्तै केही देशहरुमा एनसीसी रहेपनि तिनीहरु भने नाममात्रैका रहेका छन् । पर्याप्त सदस्य नहुँदा ती देश नाममात्रैको एनसीसीमा सीमित भएका हुन् । 

एनआरएनए सचिवालयका अनुसार विश्वभर एनआरएनएका ८७ वटा एनसीसी रहेका छन् । यद्यपि अहिले जुलाइमा गर्नेगरी भने जम्मा ५२ वटा एनसीसीमात्रै चुनावी प्रक्रियामा छन् । 

जसमध्ये नर्वेमा विष्णु गौतम,  स्विजरल्याण्डमा कृष्ण प्रसाद सिवाकोटी,  फिनल्याण्डमा लुभ उपाध्यक्ष अध्यक्ष चयन भएका छन् । यसैगरी बेल्जियममा सीता सापकोटा, केन्यामा शिव लम्साल,  चेक गणतन्त्रमा वैकुण्ठ रायमाझी,  बहराइनमा राजु कुमार श्रेष्ठ, हङकङमा गोकर्ण प्रसाद ढकाल अध्यक्ष चयन भएका छन् । 

यस्तै  लग्जेम्बर्गमा विमलबाबु उपाध्याय, डेनमार्कमा कमलराज शर्मा,  हंगेरीमा नारायणप्रसाद भण्डारी, साउदी अरबमा रविना अर्याल,  नेदरल्याण्डमा थानेश्वर कंडेल,  स्वीडेनमा गंगाप्रसाद घिमिरे, चीनमा निर्मल शर्मा चौलागाई,  कम्बोडियामा लालसिंह खड्का, कुवेतमा रणध्वज लामा, मकाउमा भिमसेन श्रेष्ठ, अमेरिकामा डा अर्जुन बन्जाडे, अष्ट्रीयामा ध्रुव पौडेल, स्पेनमा पेशल कुमार कोइराला निरौला, न्यूजिल्याण्डमा लाल केसी र थाईल्याण्डमा भविन्द्र बस्नेत अध्यक्ष चयन भएका छन् । 

यस्तै इजरायल , आयरल्याण्ड, इटली, अष्ट्रेलिया, क्यानाडा, स्पेन, कतार, दक्षिण कोरिया, जापान, माल्टा, पोल्याण्ड, पोर्चुगललगायतका देशमा जुलाइभित्रनै निर्वाचन हुनेगरी कार्यतालिका तय भइसकेको छ । केही देशमा भने विवादका कारण अन्योल कायमै छ । 

एनआरएनएभित्र एनसीसीहरुको निर्वाचन सकिएपछि डेलिगेट्स चयन गरेर केन्द्रको महाधिवेशन र निर्वाचन प्रक्रिया अघि बढ्ने गर्छ । एनसीसीहरुको निर्वानपछि एनआरएनएभित्र चुनावी माहोल थप तातिने अभियन्ताहरुको भनाइ छ । 

अहिलेसम्म एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष आरके शर्माले उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान अघि बढाइसकेका छन् भने वर्तमान अध्यक्ष बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, महेश श्रेष्ठलगायतले पनि आकांक्षा देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप