आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा. राणा

मङ्गलबार, ०९ साउन २०८०, १२ : १८
मङ्गलबार, ०९ साउन २०८०

धनुषा । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् । 

आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् । 

“कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उनले भनिन्, “यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो” उनले भनिन् । उनले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राखिन् ।

नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताइन् । 

उनले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुबै गर्न सुझाव दिइन् । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, मधेस प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहका साथै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप