आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

एसेस श‍ृङ्खला वर्षाले बिथोलिएपछि टेस्ट क्रिकेटमा ‘रिजर्भ डे’को चर्चा

मङ्गलबार, ०९ साउन २०८०, १५ : ५१
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । इङ्गल्यान्ड र अस्ट्रेलियाबीचको परम्परागत टेस्ट क्रिकेट श‍ृङ्खला चलिरहेको छ । विश्व क्रिकेटमा एसेस श‍ृङ्खलालाई निकै महत्वका साथ हेरिन्छ । एसेस शृङ्खलाको चौथो खेल बराबरीमा सकिएपछि इङ्गल्यान्डका समर्थकहरू निराश छन् ।

अहिले पाँच टेस्टको एसेस शृङ्खलामा अस्ट्रेलिया २—१ ले अगाडि छ । शृङ्खलाको पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । तेस्रो टेस्ट इङ्गल्यान्डले जितेको थियो । चौथो टेस्ट भने अनीर्णित रूपमा सकिएको थियो ।

खासमा चौथो टेस्टमा इङ्गल्यान्ड निकै बलियो अवस्थामा थियो । अस्ट्रेलिया पहिलो पालीमा तीन सय १७ रनमा समेटिएको थियो । इङ्गल्यान्डले भने पहिलो पालीमा पाँच सय ९२ रनको विशाल स्कोर तयार पारेको थियो । दोस्रो पाली खेल्न आएको अस्ट्रेलियाले पाँच विकेट गुमाएर दुई सय १४ रन बनाएपछि वर्षाका कारण खेल अवरुद्ध हुन पुगेको थियो ।

वर्षाका कारण पाँचौँ तथा अन्तिम दिनको खेल पूर्णरुपमा अवरुद्ध हुन पुग्यो । सोही कारणले अत्यन्तै बलियो स्थितिमा भएर पनि घरेलु टोली इङ्गल्यान्डले सफलता हात पार्न सकेन । वर्षाका कारण खेल बिथोलिएपछि शृङ्खला बराबरी गर्ने इङ्गल्यान्डको सपना चकनाचुर हुन पुग्यो । स्वाभाविक रूपमा घरेलु समर्थकहरू निराश बन्न पुगे ।

शृङ्खलाको पाँचौँ तथा अन्तिम टेस्ट आगामी बिहीबार दी ओभलमा सुरु हुनेछ । तर, वर्षाका कारण अन्तिम टेस्ट अगावै इङ्गल्यान्डको शृङ्खला जित्ने सपना भने समाप्त भइसकेको छ । अब अन्तिम टेस्टमा जित हात पार्दै शृङ्खला बराबरीमा टुङ्ग्याउने धुनमा छ, इङ्गल्यान्ड ।

म्यानचेस्टर टेस्ट (चौथो टेस्ट) बराबरीमा सकिएको दुई दिनपछि अहिले मौसममा सुधार आएको छ । तर, अहिले इङ्गल्यान्डका समर्थकसँग चुकचुकाउनुको विकल्प छैन । परम्परागत एसेस शृङ्खलालाई विश्व क्रिकेटका पारखीहरूले निकै चासोको साथ हेर्ने गरेका छन् । त्यसैले पनि चौथो टेस्ट वर्षाका कारण बिथोलिएपछि क्रिकेट समर्थकहरू वर्षाले खेल बिथोल्ने परिस्थितिको विकल्प खोजिनु पर्ने पक्षमा तर्क—वितर्क गर्न थालेका छन् ।

आखिर, वर्षाका कारण टेस्ट क्रिकेट प्रभावित हुन्छ भने त्यसको विकल्प किन खोजिँदैन त ? किन टेस्ट क्रिकेटमा रिजर्भ डे राखिँदैन ? टेस्ट क्रिकेट छानासहितको बन्द रङ्गशालामा खेलाउने वातावरण किन बनाइँदैन ? निरन्तर प्रश्नहरू ओइरिन थालेका छन् ।

वर्षाका कारण एसेस शृङ्खला बिथोलिएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१३ मा ओल्ड ट्राफोर्डमा खेलिएको एसेस टेस्टमा पनि यस्तै परिस्थिति सृजना भएको थियो । निरन्तर टेस्ट क्रिकेटमा वर्षा बाधक बनेपछि यस विषयमा खेलाडी र समर्थकहरूले चासो देखाउनु पनि स्वाभाविक हो ।

The Ashes

वर्षा सुरु भएपछि खेल किन रोकिन्छ खेल ?

यसको स्पष्ट जवाफ आउँछ, खेलाडीको सुरक्षाका लागि । वर्षाका कारण क्रिकेट मैदानको आउटफिल्ड चिप्लो हुन्छ । यस्तोमा क्षेत्र रक्षण गर्ने खेलाडीहरू लडेर घाइते हुने सम्भावना निकै बढ्छ । यसका अतिरिक्त बलिङ गर्न बलर र रन लिन ब्याट्सम्यानहरूले पनि दौडनु पर्ने हुन्छ । वर्षाको पानीले चिप्लो बनाएको खेल मैदान उनीहरूका लागि पनि खतरनाक साबित हुन सक्छ ।  

यसैगरी वर्षाका बीचमा खेललाई निरन्तरता दिँदा बल, पिच र आउटफिल्ड बिग्रने सम्भावना पनि उत्तिकै रहन्छ । हल्का वर्षाको बीचमा भने खेललाई निरन्तरता दिन सकिन्छ । तर, त्यसको अन्तिम निर्णय लिने अधिकार भने अम्पारसँग सुरक्षित रहन्छ ।

वर्षा रोकिएपछि मुख्य पिचलाई छापिएको त्रिपाल त हटाइन्छ तर, आउटफिल्ड सुक्न वा सुकाउन भने समय लाग्छ । त्यसैले पनि वर्षा रोकिएको लामो समयसम्म पनि खेललाई निरन्तरता दिन अप्ठ्यारो पर्ने गरेको पाइन्छ ।

त्यसो भए टेस्ट क्रिकेटमा रिजर्भ डे किन राखिँदैन ?

प्रश्न उठ्नु स्वाभाविक हो । छोटो ढाँचाका प्रतियोगिता टीट्वान्टी र एक दिवसीय अन्तर्राष्ट्रियमा वर्षाले खेल बिथोल्न सक्ने सम्भावनालाई ध्यानमा राखिएको हुन्छ । त्यसैले छोटा ढाँचाका महत्त्वपूर्ण खेलहरूमा रिजर्भ डे राखिएको हुन्छ ।

निर्धारित दिनको खेल वर्षाका कारण हुन नसके अर्को दिन त्यो खेललाई निरन्तरता दिइन्छ । तर, टेस्ट क्रिकेटमा भने सामान्यतः रिजर्भ डे राख्ने गरेको पाइँदैन । हालै सम्पन्न ‘वर्ल्ड टेस्ट च्याम्पियनसिप’को फाइनल भने यसको अपवाद हो ।

गत जुनमा वर्ल्ड टेस्ट च्याम्पियनसिपको अस्ट्रेलिया र भारतबीच भएको फाइनल खेलका लागि रिजर्भ डे राखिएको थियो । वर्ल्ड टेस्ट च्याम्पियनसिप लगातार दुई वर्षदेखि चलिरहेको महत्त्वपूर्ण प्रतियोगिता थियो । दुई वर्षदेखि निरन्तर चलिरहेको महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेल भएकाले नै त्यसका लागि रिजर्भ डे राखिएको थियो ।

तर, हरेक टेस्ट क्रिकेटमा त्यो मान्यतालाई पछ्याइँदैन । किनभने टेस्ट क्रिकेटमा बराबरीको नतिजालाई सामान्य रूपमा लिइन्छ । टेस्ट क्रिकेटको ढाँचा र नियम पनि आफ्नै किसिमका हुन्छन् । त्यसैले पनि टेस्ट क्रिकेटलाई मौसमले असर पार्छ वा पार्दैन भन्ने कुरालाई खासै महत्त्व दिइँदैन ।

टेस्ट क्रिकेट पाँच दिन लामो हुन्छ । तर, हार—जितको नतिजा नआउँदासम्म खेललाई लम्ब्याउन पनि मिल्दैन । कुनै पनि ढाँचाको क्रिकेटमा रिजर्भ डे राखिनु भनेको खेलाडी र अम्पायरसँग मात्र सम्बन्धित हुँदैन । खेलाडी र अम्पायरसँगै यसमा खेल पदाधिकारी, खेलस्थलको रेखदेख गर्ने प्राविधिक कर्मचारी, सुरक्षा अधिकारी, क्याटरिङ स्टाफजस्ता पक्षहरू पनि जोडिएका हुन्छन् ।

त्यसैले टेस्ट क्रिकेटमा रिजर्भ डे राख्दा वा खेललाई लम्ब्याएर ६ दिनसम्म पुर्‍याउँदै यी पक्षहरुबीच पनि तालमेल मिलाउनु पर्ने हुन्छ । त्यसमाथि खेल छैटौँ दिन नै सकिन्छ वा वर्षा यो समयमा रोकिन्छ भनेर ठोकुवा गर्ने आधार पनि हुँदैन ।

त्यसैले पनि टेस्ट क्रिकेटमा रिजर्भ डे राख्ने विषयमा सम्बन्धित निकायले चासो देखाएको पाइँदैन । त्यसमाथि एसेस टेस्ट शृङ्खलाजस्ता आफ्नो नियम र परिधिभित्र बाँधिएका परम्परागत प्रतियोगिताहरूमा रिजर्भ डे भनेको झनै पेचिलो विषय बन्न पुग्छ ।

चौथो एसेस टेस्ट वर्षाका कारण बिथोलिएपछि सबैभन्दा बढी पीडा इङ्गल्यान्डका खेलाडीहरूलाई भएको थियो । त्यसमाथि पनि मुखैमा आएको सफलताबाट वञ्चित हुनु पर्दा इङ्गल्यान्डका कप्तान बने स्टोक्स झनै बढी निराश बनेका थिए ।

यसका बावजुद इङ्गल्यान्डका कप्तान स्टोक्स टेस्ट क्रिकेटमा रिजर्भ डे राख्ने विषयको विपक्षमा उभिन्छन् । ‘जितको अत्यन्तै नजिक पुगेर पनि वर्षाका कारण बराबरीमा चित्त बुझाउनु पर्दा पीडा त हुन्छ नै । तर, टेस्ट क्रिकेटमा रिजर्भ डे राख्ने कुरा तर्कसङ्गत हुँदैन । टेस्ट क्रिकेट भनेको पाँच दिनकै हुनुपर्छ,’ स्काई स्पोर्टससँगको कुराकानीमा स्टोक्सले भनेका छन् ।

छानासहितको रङ्गशाला पो विकल्प बन्न सक्छ कि ?

टेस्ट प्रतियोगिताहरू वर्षाका कारण रद्द भएपछि छानासहितको रङ्गशालालाई पनि विकल्पको रूपमा अगाडि सारिँदै आएको छ । अहिले पनि थुप्रै खेलहरू छानासहितको रङ्गशालामा खेलाइन्छ । त्यसैले टेस्ट क्रिकेट पनि छानासहितको रङ्गशालामा खेलाउन सकिने तर्क गरिने गरेको छ ।

indoor cricket

यसअघि छानासहितको रङ्गशालामा क्रिकेट खेलाइएको इतिहास पनि छ । इङ्ल्यान्डमै पनि छानासहितको रङ्गशाला छोटो ढाँचाको क्रिकेट खेलाइएको छ । तर, अन्य खेलको तुलनामा क्रिकेट खेल्नका लागि निकै ठुलो क्षेत्रफल आवश्यक पर्छ ।

त्यसैले हरेक क्रिकेट रङ्गशालालाई छानासहितको बनाउन थालियो भने त्यसले रङ्गशाला निर्माणको लागत बढ्न जान्छ । त्यसमाथि क्रिकेटको प्रकृति नै खुला रङ्गशालासँग जोडिएको छ । खेलाडी र दर्शकहरू पनि खुला रङ्गशालामै खेल्न र खेल हेर्न अभ्यस्त भएका छन् । क्रिकेट विश्लेषकहरू पनि इन्डोर रङ्गशालामा खेलाउँदा क्रिकेट खेलको वास्तविक ‘स्वाद’ नै हराउने तर्क गर्छन् ।

यसका अतिरिक्त क्रिकेट मैदानमा उमारिने घाँसले पनि खेलमा असर पारिरहेको हुन्छ । यस्तो घाँस उमार्न ग्राउन्ड स्टाफहरूले निकै ठुलो परिश्रम गरेका हुन्छन् । तर, इन्डोर रङ्गशालामा यस्तो घाँस उमार्न पनि निकै अप्ठ्यारो पर्छ ।

यसैगरी ब्याट्सम्यानले प्रहार गरेको बल इन्डोर रङ्गशालाको छतमा ठोक्कियो भने के गर्ने ? यो पनि अहम् प्रश्नको रूपमा रहन्छ । ब्याट्सम्यानले प्रहार गरेको बलले रङ्गशालाको छतलाई छोएमा त्यसलाई छक्का मान्ने कि ब्याट्सम्यानलाई आउट दिने ? यसका लागि नयाँ नियम आवश्यक पर्छ ।

खेललाई केही लम्ब्याउन सकिएला ?

टेस्ट क्रिकेटमा प्रत्येक दिन ९० ओभरको खेल खेलाइन्छ । त्यसबीचमा खानाका लागि र चियाका लागि समय छुट्याइएको हुन्छ । यसका अतिरिक्त अन्य केही ब्रेक पनि राखिएको हुन्छ । यस्तो स्थितिमा खाना वा चियाका लागि खेर गएको समय थप गरेर खेलाउन सकिने तर्क पनि गर्ने गरिएको छ ।

प्रत्येक दिन विभिन्न कारणले जति समय खेल रोकिएको हुन्छ त्यति नै समय थप गरेर खेलाउन सकिने सम्भावना रहन्छ । खासगरी बेलायतमा समर सिजनमा राति १० बजेसम्म पनि उज्यालो हुन्छ । यस्तो स्थितिमा थप समय खेल खेलाउँदा कुनै फरक नपर्ने तर्क गर्ने गरिन्छ ।

तर, यसले पनि ठोस नतिजा दिने सम्भावना देखिँदैन । खासगरी वर्षा कति दिन हुन्छ भनेर यकिन गर्न सकिँदैन । यसैगरी प्रत्येक दिन कति ओभर बढी खेलाउँदा स्पष्ट नतिजा आउँछ भनेर ठोकुवा गर्ने आधार पनि रहँदैन ।

यसका अतिरिक्त बढी समय खेलाउँदा खेलाडीको शारीरिक अवस्थालाई पनि ध्यान दिनुपर्ने हुन्छ । लगातार लामो समयसम्म खेल्दा खेलाडीहरू थाक्न पुग्छन् । दीर्घकालीन रूपमा यसले खेलाडीको स्वास्थ्यमा पनि नकारात्मक असर पुर्‍याउने सम्भावना रहन्छ ।

यसैगरी प्रत्येक दिन थप समय खेलाउँदा प्रसारण अधिकारदेखि लिएर क्याट्रिङ, सुरक्षा, मैदान व्यवस्थापनजस्ता विषयहरू पनि जोडिन पुग्छन् । यसदेखि बाहेक पनि समय थप गरेर खेलाउँदा अन्य थुप्रै प्राविधिक समस्या रहेको विज्ञहरू बताउँछन् । — बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप