आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अस्थित्वको लडाइँ

स्ववियुलाई टेर्दैनन् कलेजहरू, नाम मात्रको संस्था बनाएको आरोप

बुधबार, १० साउन २०८०, ०६ : ३०
बुधबार, १० साउन २०८०

काठमाडौं । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ताला लगाएको छ । क्याम्पस प्रमुख र प्रशासनले आफ्ना मागहरू सुनुवाइ नगरेको आरोप लगाउँदै स्ववियुले आइतबारदेखि त्रिवि क्याम्पस प्रशासनमा ताला लगाएको हो ।

क्याम्पस प्रमुख आफ्नो ढङ्गबाट चल्दै आएको, स्ववियुसँग कुनै प्रकारको छलफल समेत नगरेको, विद्यार्थीका समस्याप्रति बेवास्ता गरेको स्ववियुको आरोप छ । स्ववियुले प्रशासनमा ताला लगाएपछि क्याम्पस प्रमुख प्राडा अर्जुन प्रसाद लामिछानेले पठनपाठन बन्द गर्न निर्देशन दिएको र आज (मंगलबार)देखि पठनपाठन ठप्प भएको स्ववियु सभापति आनन्द कुमार सिंहले बताए ।

‘विद्यार्थीको पठनपाठनमा कुनै असर नपर्नेगरी ताला लगाएको थियौँ । क्याम्पस प्रमुखले सरहरूलाई नपढाउन भन्नुभएको छ । आजदेखि पढाई रोकिएको छ,’ उनले भने ।

महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु निर्वाचित भएको ५ महिना बितिसक्दा पनि कलेज प्रशासनसँग कुनै छलफल नभएको उनको भनाइ छ ।

प्रत्येक कलेजमा क्याम्पस व्यवस्थापन समिति गठन गरिनुपर्छ । स्ववियु सभापति उक्त समितिको पदेन सदस्य रहने व्यवस्था छ । तर, कलेजमा हालसम्म व्यवस्थापन समिति समेत गठन गरिएको छैन । क्याम्पस प्रमुख आफ्नै ढंगबाट चल्दै आएको स्ववियु सभापति सिंहको आरोप छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुका माग सम्बन्धमा समेत कलेज प्रशासन बेखबर हुन्छ । त्रिवि स्ववियुले केही दिन अगाडि त्रिविको जग्गामा मेलम्चीको भौतिक संरचना बनिरहेको विषयमा ज्ञापनपत्र बुझायो । तर, त्यो समस्याको कुनै सुनुवाइ भएन ।

महाराजगञ्ज नर्सिङ कलेजमा पनि यस्तै समस्या छ । भक्तपुर बहुमुखी क्याम्पसमा त झन लफडा नै लफडा सुरू भएको छ । क्याम्पस प्रमुखको नियुक्तिको विषयलाई लिएर त्यहाँ विवाद कामयै छ । यतिसम्म कि एक महिनादेखि क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्डिएर बसेको छ ।

स्ववियुले क्याम्पसका समस्याका विषयमा क्याम्पस प्रशासनसँग पटक पटक माग राख्दै आएको छ । क्याम्पस प्रशासन मुकदर्शक बनिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुका माग सम्बन्धमा समेत कलेज प्रशासन बेखबर हुन्छ । त्रिवि स्ववियुले केही दिन अगाडि त्रिविको जग्गामा मेलम्चीको भौतिक संरचना बनिरहेको विषयमा ज्ञापनपत्र बुझायो । तर, त्यो समस्याको कुनै सुनुवाइ भएन ।

यसरी विद्यार्थीको हकहितका लागि भन्दै स्थापना गरिएका स्ववियु भने पङ्गु बन्दै गएका छन् । उनीहरूलाई न कलेज प्रमुखले टेर्छन्, न त कलेज प्रशासनले । कतिपय स्ववियुले आफूहरूलाई नाम मात्रको स्ववियु बनाएको आरोप लगाएका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले निजी कलेजमा यस्तो समस्या व्याप्त रहेको बताए । थापाथली इन्जिनियरिङ कलेजमा भने कलेज र स्ववियुबीच समन्वय र सहकार्य भएर नै अघि बढिरहेको उनको भनाइ छ ।

विभिन्न कलेजका स्ववियु सभापतिहरूले आफूलाई सम्पर्क गर्दा कलेजले केही पनि मान्दैन, मागबारे बेवास्ता गर्छन् भन्ने गुनासो गर्ने गरेको शाही बताउँछन् । कलेज प्रशासन र स्ववियुबीच समन्वय र सहकार्यको अभाव देखिएको उनले बताए ।

यस्तो समस्या विशेषगरी फरक विद्यार्थी संगठनबाट निर्वाचित भएको स्ववियु र फरक पार्टीको तर्फबाट नियुक्त भएका क्याम्पस प्रमुखमा देखिने गरेको छ ।

महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु सभापति अनेरास्ववियुबाट निर्वाचित हुन् भने क्याम्पस प्रमुख नेपाली कांग्रेस निकट हुन् । जसले गर्दा दुई निकायबीच सहकार्य हुनुको साटो ध्रुवीकरण बढ्दै गएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले दुवै पक्षबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । त्रिविको रातो कितावमा स्ववियुको काम, कतव्र्य र अधिकारको विषयमा प्रस्टै उल्लेख गरिएको उनले बताए । स्ववियु तथा क्याम्पसहरूले सोही आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘रातो कितावमै प्रस्ट लेखिदिएको छ । परिच्छेद ८१ देखि ८६ सम्ममा । त्यसको पत्राचार गरेर ओरिन्टेशन क्लास चलाइदिनुहोस् भनेका थियौँ । व्यवस्थापन समितिमा सभापति पदेन सदस्य रहन्छ । समग्र विकास निर्माणको काममा स्ववियुको चासो हुन्छ,’ उनले भने ।

स्ववियु भनेको कुनै कार्यकारी पद नभई स्वयमसेवी संस्था भएको उनको भनाइ छ । कतिपय ठाउँमा स्ववियुले आफ्नो कामबारे जानकारी नहुँदा समेत समस्या भइरहेको उनले प्रस्ट पारे ।

लामो समयदेखि कलेजहरूमा स्ववियु नरहेकाले पनि कलेजहरू आफ्नो मनोमानी ढंगबाट अगाडि बढिरहेको हुनसक्ने अधिकारी बताउँछन् । कलेजहरूले विद्यार्थीका लागि बेसिक कुरा पूरा गर्नैपर्ने र स्ववियुले तिनै विषयमा कुरा उठान गर्दै आएको तर, कतिपय कलेजहरूले बेवास्ता गरेको पनि जानकारीमा आएको उनले बताए ।

हरेक क्याम्पसमा स्ववियुका लागि छुट्टै कोषको व्यवस्था गरिएको हुन्छ । भर्ना गर्दा प्रत्येक विद्यार्थीबाट स्ववियु शुल्क भनेर लिने गरिन्छ । जुन पैसा स्ववियुको छुट्टै कोषमा राख्ने गरिन्छ । स्ववियुले विद्यार्थीको हक हितका लागि त्यही कोषबाट खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उक्त कोषको त्रिविले अडिट समेत गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८१ देखि ८६ मा स्ववियुको बारेमा उल्लेख रहेको विषय स्ववियु तथा कलेजले राम्रोसँग अध्ययन गर्नुपर्ने अधिकारीको भनाइ छ । 

नियमको परिच्छेद ८१ मा स्वतन्त्र विद्यार्थी युनियनको गठन र उद्देश्य उल्लेख छ । त्यस्तै परिच्छेद ८२ मा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता, साधारण सभा र कार्यसमिति सम्बन्धी व्यवस्था छ । परिच्छेद ८३ मा स्वतन्त्र विद्यार्थी युनियनको कार्यसमितिको निर्वाचन तथा काम, कर्तव्य र अधिकारको विषय उल्लेख छ । परिच्छेद ८४ मा विद्यार्थीहरूको आचारसंहिता सम्बन्धी व्यवस्था गरिएको छ ।

परिच्छेद ८५ मा आचारसंहिता सम्बन्धी कारवाही र सजायको व्यवस्था उल्लेख छ भने परिच्छेद ८६ मा पुनरावेदनसम्बन्धी व्यवस्था उल्लेख छ ।

गत चैतमा त्रिविका ५० वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो भने २५० भन्दा बढी सम्बन्धन प्राप्त कलेजमा समेत स्ववियु निर्वाचन भएको थियो । हरेक क्याम्पसमा स्ववियुका लागि छुट्टै कोषको व्यवस्था गरिएको हुन्छ । भर्ना गर्दा प्रत्येक विद्यार्थीबाट स्ववियु शुल्क भनेर लिने गरिन्छ । जुन पैसा स्ववियुको छुट्टै कोषमा राख्ने गरिन्छ । स्ववियुले विद्यार्थीको हक हितका लागि त्यही कोषबाट खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उक्त कोषको त्रिविले अडिट समेत गर्दै आएको छ ।

यसका लागि विद्यार्थी भर्ना हुँदा कुनै क्याम्पसले १० रूपैयाँ त कुनैले ५०० रूपैयाँ समेत लिने गरेको अधिकारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप