आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनका विदेशमन्त्री छिन काङको बेपत्ता हुनुको रहस्य : प्रेम सम्बन्धको अनुमानदेखि पदबाट हटाउनेसम्म

बुधबार, १० साउन २०८०, १० : ५२
बुधबार, १० साउन २०८०

चिनियाँ सरकारका एक प्रमुख अनुहार र राष्ट्रपति सी जिनपिङको नजिकका छिन काङलाई अन्ततः विदेशमन्त्रीको पदबाट हटाइएको छ ।

छिन काङको स्थानमा कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी पुनः विदेशमन्त्री नियुक्त भएका छन् ।

छिन काङको पतनको खबर चीनका लागि निकै ठुलो हो तर यो खबरलाई निकै साधारण जानकारी जसरी सार्वजनिक गरियो ।

यसमा यति मात्रै भनियो, ‘छिन काङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ । चीनको शीर्ष विधायिकाले विदेशमन्त्रीको रूपमा वाङ यीको नियुक्तिको पक्षमा भोट दिएको छ ।’

चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाका अनुसार आफ्नो नियुक्तिको ६ महिनाभित्र चिन गाङलाई पदबाट हटाइएको हो । 

५७ वर्षका छिन काङलाई अन्तिम पटक २५ जूनमा सार्वजनिक रूपमा देखिएका थियो । उनलाई हटाउनुको कारण स्पष्ट रूपमा खुलाइएको छैन ।

उनी एक महिनासम्म सरकारी काममा अनुपस्थित रहनुको कारण स्वास्थ्य रहेको बताइएको छ ।

तर, चार सातासम्म पनि उनी नफर्किएपछि उनलाई कि त सजाय दिइनेछ वा राजनीतिक रूपमा उनले आफ्नो पद छोड्नेछन् भन्ने अनुमान गर्न थालिएको थियो ।

china1टिभी प्रस्तोतासँग अफेयरको अफवाह

एक महिला टेलिभिजन प्रस्तोतासँग उनको अफेयरको हल्ला सामाजिक सञ्जालमा चल्न थाल्यो । यी कार्यक्रम प्रस्तोता मिडियामा निकै सक्रिय थिइन् तर यो अड्कलबाजीपछि उनी अचानक गायब भइन् ।

चीनका केही विज्ञहरूका अनुसार चिन गाङका राजनीतिक विपक्षीहरूले यो अफेयरलाई नैतिकताको प्रश्न बनाएर कम्युनिस्ट पार्टीमा प्रयोग गरेको हुनसक्छ ।

यस्ता कार्य कानुन विपरीत नभए पनि पार्टी अनुशासनको उल्लङ्घनका रूपमा लिइन्छ ।

तर स्वास्थ्य सङ्कटको सम्भावनालाई पनि नकार्न सकिँदैन ।

चीनको कम्युनिस्ट पार्टीको काम गर्ने जुन तरिका छ, त्यसमा यी दुवै सम्भावनालाई न त पुष्टि गर्न सकिन्छ न यसलाई खारेज नै गर्न सकिन्छ ।

china2चिन बेपत्ता हुनुको रहस्य

छिन काङ चिनियाँ सरकारमा चर्चित अनुहार थिए र उनको अनुपस्थितिको चर्चा कूटनीतिक वृत्तमा मात्रै नभएर आम चिनियाँ जनतामा पनि चलिरहेको थियो ।

उनलाई गत डिसेम्बरमा सी जिनपिङले विदेशमन्त्री नियुक्त गरेका थिए  र एक महिनाअघि उनले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटेका थिए । उक्त भेटमा  दुई देशले उच्च स्तरमा कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका थिए ।

एक महिनाअघि चिन इन्डोनेसियामा भएको बैठकमा भाग लिनुपर्ने थियो तर उनी त्यहाँ पुगेनन् । उनलाई ‘केही स्वास्थ्य सम्बन्धी समस्या’ भएको जानकारी दिइएको थियो । 

यसबारे उनको मन्त्रालयले कुनै खास जानकारी दिएको छैन, तर धेरैले उनलाई राजनीतिक कारणले उनलाई सजाय दिइएको वा विवाहेत्तर सम्बन्धका कारण यस्तो भएको हुनसक्ने अनुमान धेरैले लगाए । 

जुलाई ४ मा उनले युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेललाई भेट्ने भए पनि कुनै कारण नदिई मिति थपिएपछि हल्ला चर्कियो ।

यद्यपि, लामो समयसम्म सार्वजनिक रूपमा अचानक गायब हुनु चीनको हाई प्रोफाइलका लागि नौलो कुरा भने होइन । 

शी जिनपिङ चीनको राष्ट्रपति बनेलगत्तै पन्ध्र दिनको लागि अचानक बेपत्ता भए । त्यति बेला उनको स्वास्थ्य र सम्भावित शक्ति सङ्घर्षको बारेमा अनुमान लगाइयो ।

china3छिन काङको नाटकीय वृद्धि

छिन काङको विदेशमन्त्री पदसम्मको यात्रा निकै नाटकीय रहेको बताइएको छ ।

देशको प्रमुख पदबाट चिन पतन हुनुको सबैभन्दा अचम्मको पक्ष यो हो कि उनलाई चीनका सबैभन्दा शक्तिशाली नेता स्वयम् राष्ट्रपति शी जिनपिङको समर्थन थियो ।

छिन काङलाई हटाउने आदेशमा शी जिनपिङ आफैँले हस्ताक्षर गरेका थिए भन्ने खबर प्रकाशित भएका छन् । 

शी जिनपिङले छिन काङलाई वासिङ्टनबाट ल्याएका थिए, जहाँ उनी अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा काम गरिरहेका थिए ।

चीनको इतिहासमा यति कम उमेरका (५७ वर्ष) कोही व्यक्ति यस पदमा नियुक्त भएका छैनन् ।

त्यसअघि उनी विदेशमन्त्रीका प्रवक्ता थिए र शी जिनपिङको विदेश भ्रमणको आयोजनाको जिम्मेवारी उनकै काँधमा थियो । यहीँबाट शी जिनपिङसँग उनको निकटता बढ्यो ।

छिन काङमाथि के भइरहेको छ, त्यसका लागि चीनमा अत्यधिक उत्सुकता छ ।

देशको सबैभन्दा ठुलो सर्च इन्जिन बाइडूमा उनको नामको सर्चमा अचानक वृद्धि देखिएको छ ।

विश्लेषकका अनुसार चिनियाँ इन्टरनेटमा यी शीर्ष अधिकारीबारे अफवाहमा कुनै सेन्सरसिपबिना चर्चा हुनु अचम्मको कुरा हो ।

अघिल्लो हप्ता सिंगापुर नेशनल युनिभर्सिटीका इयान चोंगले बीबीसीसँग भनेका थिए, ‘चर्चामा सेन्सरसिप नभएका कारण मानिसहरू अचम्ममा परिरहेका छन् । सत्ता सङ्घर्ष, भ्रष्टाचार, पद र सत्ताको दुरुपयोग वा रोमान्टिक अफेयर त यसको कारण होइन भन्ने कुरामा मानिसहरू व्यापक उत्सुक छन् ।’

xi jinpingछिन काङको छवि

छिन काङ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुँदा चीनको कडा रूपमा रक्षा गर्ने व्यक्तिको रूपमा उनको छवि बनेको थियो ।

उनी धाराप्रवाह अङ्ग्रेजी बोल्छन् र एक उत्साही खेल प्रशंसक पनि हुन् । 

यी कुराले उनलाई आकर्षक व्यक्तित्व बनाउँथ्यो । उनी एकदमै आधुनिक प्रकारका, बुद्धिमान् कर्मचारी थिए जसको कम्युनिस्ट पार्टीलाई सबैभन्दा बढी आवश्यकता थियो ।

तर अहिले उनको भविष्य अज्ञात छ । उनको सन्दर्भ विदेश मन्त्रालयको वेबसाइटबाट पनि हटाइएको छ ।

यसलाई जसरी लिएपनि यो राम्रो सङ्केत भने होइन । 

केही सातादेखि चलिरहेको भ्रम अन्त्य भएको छ तर चिनको बिदाइले धेरै प्रश्न पनि निम्त्याएको छ ।

नयाँ विदेशमन्त्री वाङ यी

चिनियाँ कम्युनिस्ट पार्टी प्रणालीमा परराष्ट्र नीतिलाई शीर्ष तहका अधिकारीले तय गर्ने र सोही अनुसार परराष्ट्रमन्त्रीले यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

वाङ यी एक व्यावसायिक कूटनीतिज्ञ हुन् र जापानी भाषा पनि जान्दछन् । उनी २०१३ देखि २०२२ सम्म विदेशमन्त्री थिए ।

उनी चिनको समर्थनमा छन् र यति बेला दक्षिण अफ्रिकामा ब्रिक्स राष्ट्रिय सुरक्षा बैठकमा भाग लिइरहेका छन् ।

विश्लेषकहरूले ६९ वर्षीय वाङको नियुक्तिलाई चीनको कूटनीतिलाई स्थिर बनाउने प्रयासको रूपमा पनि हेर्छन् ।

–बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप