आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

बुधबार, १० साउन २०८०, २० : २९
बुधबार, १० साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।  सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् । 

एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।


संसद अवरुद्ध गर्नुअघि संसदको आकस्मिक समयमा विभिन्न दलका सांसदहरुले सुन तस्करी प्रकरणको छानविन गर्न र मुख्य अभियुक्तलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीलाई सरकारले सहयोग गरिरहेको आरोप लगाउँदै गृहमन्त्री, अर्थमन्त्री लगायतमाथि छानविन गर्न माग गरेको थियो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको सुन तस्करसँग १९५ पटक फोन सम्वाद भएको भन्दै सरकारले अनुसन्धान नगरी संरक्षण गरेको आरोप लगाए । 

१० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै प्रमुख सचेतक गिरीले भने– ‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ? अवश्य थियो सभामुख महोदय । अर्थ र गृहमन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी भएको छैन ।’

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नगरी संसद अघि बढाउन नदिने चेतावनी दिएको थियो । एमाले संसदीय दलको बैठकले गृहमन्त्री र अर्थमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो । बैठकको सुरुमा सबै दलका प्रतिनिधिहरुले बोलिसकेपछि एमालेले बैठक अवरुद्ध गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप