आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्‍यो निर्णय ?

देउवाद्वारा आजै विधान कार्यान्वयनको संकेत
बुधबार, १० साउन २०८०, २० : ३२
बुधबार, १० साउन २०८०

काठमाडौँ । साउन २ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भएको हो । महासमिति बैठकको तिथि मितिदेखि वार्षिक कार्यक्रमको कार्यतालिका पारित गरेको छ ।

जसमा कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ । आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक काठमाडौँमा गर्ने निर्णय छ ।

२०७८ मंसिरमा १४ औं महाधिवेशनबाट नेतृत्व मात्रै चयन गरेर ६ महिनाभित्र नीति अधिवेशन गर्ने कांग्रेस नेताहरुले बताएका थिए । तीन तहको निर्वाचन र सत्ता राजनीतिको समीकरण व्यस्त हुँदा नीति महाधिवेशन गर्न ढिलाइ भएपछि कांग्रेसले महासमिति बैठकबाटै नीति बनाउने भएको छ । सोही अनुसार नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको महामन्त्री शर्माको भनाइ छ ।

यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ । यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खट्ने छन् । अभियानमा सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुने कांग्रेसले जनाएको छ ।

यस्तै साउन २७ मा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय र सबै स्थानीय तहमा यो कार्यक्रम चल्नेछ ।

भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको छ  ।

कांग्रेस बैठकमा पार्टीका दिवङ्गत नेताको सम्झनामा विभिन्न कार्यक्रम गरेर जनतामाझ जाने कार्यक्रम अगाडि सारेको छ । आगामी भदौदेखि अर्को वर्षको जेठ १५ मा कार्यक्रम घोषणा गरेको छ ।

कांग्रेसले उच्छृंकल गतिविधि र सामाजिक विसंगतिजन्य विषयमा संलग्न हुने कार्यकर्तालाई पार्टी सदस्यता अबिलम्ब खारेज हुने निर्णय गरेको छ । बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ,’ महामन्त्री शर्माले भने ।

बागी विजेताको कारबाही फुकुवा

कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनका बागी विजेतामाथिको कारबाही फुकुवा गरेको छ । तीन तहको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरु कांग्रेसबाट स्वतः निष्कासनमा परेका थिए । बागी उम्मेदवार भएर चुनाव जितेकाहरुको कारबाही फुकुवा गरिएको महामन्त्री शर्माले बैठकमा सुनाए ।

कारबाही फुकुवा हुनेमा जुम्ला १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित देवेन्द्र शाही र सर्लाही २ को १ बाट निर्वाचित जंगीलाल राय रहेका छन् । नेपाली कांग्रेस जुम्लाका पूर्वकोषाध्यक्ष शाहीले कांग्रेसकै कर्णाली प्रदेश सभापति ललितजंग शाहीविरुद्ध बागी उम्मेदवारी दिएका थिए भने रायले गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसकै चुनाव चिन्ह लिएर लडेका थिए । उम्मेदवारी फिर्ता लिन पार्टीको निर्देशन नमानेपछि उनी कारबाहीमा परेका थिए । यस्तै जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले बताए ।

यस्तै बर्दिबासका वडाध्यक्षहरु रामसवारत यादव, विजय महतो, विन्देश्वर यादवकामे पनि कारबाही फुकुवा भएको छ । यस्तै बर्दिबासका नेताहरु अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहको कारबाही फुकुवा भएको छ ।

चितवन, बारा  र तनहुँमा भएको उपनिर्वाचन सहयोग गरेकाहरुका बारेमा आगामी दिने निर्णय दिइने उपसभापति पूर्णबहादुर खड्काले बताए । केन्द्रीय सदस्य टेकबहादुर गुरुङले चितवन–३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाबारे सोधखोज गरेका थिए ।

आजको बैठकको निर्णयअनुसार जिल्लाले रिपोर्ट बुझाएपछि प्रक्रिया अगाडि बढाउने उपसभापति खड्काको भनाइ थियो ।

यस्तै बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेश सभापतिको अधिकारबारे निर्णय नभएकोमा आपत्ति जनाएका थिए । जवाफमा उपसभापति खड्काले केन्द्रीय समिति र प्रदेश सभापतिको अधिकारबारे महासमिति बैठकबाट सम्बोधन गरिने बताए ।

दलित संघ भंग

कांग्रेसले आफ्नो भ्रातृ संस्था दलित संघको केन्द्रीय समिति भंग गरेको छ । बैठकले अधिवेशन गर्न नसकेपछि दलित संघलाई भंग गरेर १५ भदौ भित्र तदर्थ समिति गठनको जिम्मा सभापतिलाई दिएको छ ।

दलित संघको म्याद समाप्त भएकाले भंग गरिएको महामन्त्री शर्माले केन्द्रीय समितिको निर्णय सुनाएका थिए ।

सुशासनबारे १५ बुँदे प्रस्ताव पारित

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ । सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने कांग्रेसको निर्णय छ । भ्रष्टाचारमा ‘कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन्’ भन्ने नीति लिएको महामन्त्री विश्वप्रकाश शर्माको भनाइ छ ।

यस्तै बैठकले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग पनि गरेको छ ।

कांग्रेस बैठक भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे भने मौन बसेको छ ।

बैठकले खाणबारे निर्णय नलिएपछि महामन्त्री गगन थापाको फरक मत राखेको छ । बैठकमा पनि महामन्त्री थापाले  खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए ।  

मधेशलाई सुख्खा क्षेत्र घोषणाको माग

कांग्रेस बैठकले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारलाई माग गरेको छ । महामन्त्री शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको भन्दै बैठकले सुख्खा क्षेत्र घोषणाको माग गरेको बताए ।

मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न कांग्रेसले सरकारलाई भनेको छ ।

विधान कार्यान्वयन गर्ने देउवाको संकेत

सात दिन चलेको बैठकमा आफ्नो धेरै आलोचना नभएकोमा धन्यवाद दिएर सभापति देउवाले बैठक टुंग्याएका छन् ।

उनले भने,’धेरै आलोचना होला भन्ने थियो, कम भयो । यसका लागि धन्यवाद ।’ बैठकको लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत देउवाले बताए ।  

बैठकमा उठेका जवाफ सभापतिकोतर्फबाट उपसभापति खड्काले दिइसकेकाले देउवाले ‘धेरै बोल्नु छैन’ भन्दै कुरा टुंग्याएका थिए । तर देउवाले अर्को केन्द्रीय कार्यसमिति बैठक भने आजै बोलाएर विधन कार्यान्वयनको संकेत देखाएका छन् ।

आजको बैठक टुगिँदै गर्दा देउवाले असोज २ गतेका लागि केन्द्रीय समितिको अर्को बैठक बोलाएका छन् । विधान अनुसार कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्ने व्यवस्था छ। विधानको कार्यान्वयन हुने गरी बैठक अन्त्य गर्दै देउवाले अर्को बैठक मिति घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप