आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पाइलटदेखि मिस्टर नेपालसम्म

‘अमेरिकामै रमाएको भए ‘मिस्टर नेपाल’को उपलब्धि कहाँ मिल्थ्यो र ?’

बिहीबार, ११ साउन २०८०

काठमाडौँ । पाइलटको काम हो प्लेन उडाउने । तर, हवाई उडानमा रहेका पाइलटहरू ‘मिस नेपाल’देखि ‘मिस्टर नेपाल’सम्म पनि एकदेखि अर्को उडान भर्दैछन् । केही अगाडि सम्पन्न ‘मिस नेपाल २०२३’ मा पाइलट रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधिमा बाजी मारेकी थिइन् भने अहिले पाइलट समर्पण कार्कीले ‘मिस्टर नेपाल’को शीर्ष उपाधि जित्दै हवाई उडानमा मात्र होइन, अन्यमा पनि आफूहरू अब्बल रहेको प्रमाणित गरेका छन् ।

समर्पणले गत शनिवार राजधानीको होटेल याक एन्ड यतिमा आयोजित ‘मिस्टर नेपाल २०२३’ प्रतियोगितामा शीर्ष उपाधि चुमेका हुन् । विराटनगरका ३२ वर्षीय कार्की १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल रहे ।

युवाको प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा होमिएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधिसमेत जित्दै  नगद ५ लाख बराबरको उपहारको अलावा ‘मिस्टर वर्ल्ड २०२३’ नेपालको प्रतिनिधित्व गर्ने अवसर हात परेका छन् । मिस्टर नेपाल उपाधिले कामको जिम्मेवारी बढेको महसुस गरेको उनले बताए ।

‘उपाधि हात पर्दा रमाइलो अनि गौरव महसुस भयो’, उनले भने, ‘व्यस्तताले राम्ररी खुसी सेलिब्रेसन पनि गर्न पाएको छैन ।’ उपाधिपछि बधाईको ओइरो छ । भन्छन्, ‘करिब ४ हजार बढी म्यासेज अझै पेन्डिङमा छ । ढिलो चाँडो रिप्लाई दिन्छु । भ्याएसम्म बधाई दिनेहरूलाई धन्यवाद भन्छु ।’

प्रतियोगिताका लागि ४० दिन उनले निकै कठिन मिहिनेत गरे । त्यो हिसाबले स्टेजमा विजेताको रूपमा आफ्नो नाम घोषणा हुँदा उनी धेरै खुसी देखिनुपर्ने थियो तर उनको मुहारमा त्यो खुसी झल्किएन । आखिर किन त ? 

‘पुरै अवधि उपाधि आफैले जित्नुपर्छ भनेर मिहेनत गरे । विजेतामा आफ्नो नाम घोषणा हुँदा सँगैका साथीभाइहरूको मिहिनेत सम्झिए, उनीहरूको सपना तोडे भन्ने लाग्यो । त्यसैले, केही समय खुसी हुनै सकिन’, उनले अगाडि थपे, ‘सहभागी साथीहरूलाई म सरी भन्छु ।’ प्रतियोगिताको नियम नै एउटा विजेता बन्ने हो । यो सम्झिएर आफ्नो चित्त बुझेको उनले सुनाए ।

पहिले करियरमै फोकस

धेरैले इन्जिनियर, पाइलटको सपना देख्छन् । समर्पण भने पाइलटबाट ‘मिस्टर नेपाल’ प्रतियोगितामा भित्रिए । 

‘युवाहरू अहिले अनगिन्ती समस्यामा छन् । त्यसको निराकरण उनीहरूसँग छैन’, उनले भने, ‘युवाहरूलाई अगाडि बढ्न प्रेरित गर्नुका साथै पहिले आफ्नो करियर बनाउनुपर्छ भनेर  मार्ग निर्देश गर्नेछु ।’

अगामी दिनमा पाइलट कि मिस्टर नेपाल के को रूपमा चिनाउने त ? आफूलाई जसले जस्तो दृष्टिकोणबाट हेर्छ, त्यसरी नै चिनाउने उनको सोच छ ।

IMG-20230723-WA0025 (1)

‘मेरो पेसा पाइलट हो । पहिले यो परिचयले चिनिएको हो । यसैबाट चिनेपछि हुन्छ’, उनी भन्दै थिए, ‘अहिलेको चर्चा मिस्टर नेपालको रूपमा भएको छ । यो रूपमा चिनिदिए पनि फरक पर्दैन ।’ 

मिस्टर नेपालबाट उनले उपाधि मात्र हासिल गरेको छैनन् । आफ्नो क्षमता पनि बुझ्न सकेका छन् । आफू अझै खट्न सक्ने रहेछु भन्नेसमेत उनले थाहा पाए । प्रशिक्षणको क्रममा जम्मा ६ घण्टा रेष्ट र १८ घण्टा मिहिनेत गर्दा यो फल मिलेको उनले सुनाए ।

‘मिठो खाने, राम्रो लगाउने भन्दा पनि म अरूको दुःखमा मलहम लगाउँदा आनन्दित हुन्छु,’ मिस्टर नेपाल कार्कीले भने, ‘मलाई पर्दाको हिरो भन्दा पर्दा पछाडिको रियल हिरो बन्नु छ ।’

जुनै प्रतियोगितामा सहभागी प्रतियोगीको लक्ष्य शीर्ष ताजमै हुन्छ, जुन स्वाभाविक पनि हो । मिस्टर नेपालमा सहभागी प्रतियोगीहरू सबैको केही न केही प्रतिभा र विशेषता थियो । त्यसैले, उनी आफूलाई कसैसँग तुलना गर्दैनथे । अरू भन्दा फरक र उत्कृष्ट हुनपर्छ भन्नेमा उनको ध्यान रहन्थ्यो । दिन प्रतिदिन आफूलाई राम्रो र उत्कृष्ट साबित गर्दै उनी अगाडि बढ्थे । त्यसैले पनि उनी प्रतियोगितामा अब्बल साबित भए ।

‘मिस्टर नेपाल मेरो जीवनकालकै पहिलो प्रतियोगिता हो । एक पटक यस्तो प्रतियोगितामा भाग लिने इच्छा थियो’, समर्पणले भने, ‘स्कुल, कलेजको समय प्रतियोगितामा खासै भाग लिन पाइन । कलेज समयपछि छिमेकी, साथीभाइ सबैको प्रगति देखेर करियरको दौडमा लागियो ।’ आफूलाई कसरी आर्थिक रूपले बलियो बनाउने भनेर फोकस गर्दा प्रतियोगितामा बल्ल सहभागी हुने अवसर जुरेको उनले खुलाए ।

‘पहिले पाइलट अध्ययनका लागि अमेरिका गएँ । त्यहाँ पढ्दै, केही सिक्दै र कमाउँदै झन्डै ५÷६ वर्ष बाहिर बित्यो । नेपाल फर्किएको वर्षमै कोरोना सुरु भयो’, उनले अगाडि भने, ‘मेरो उमेर पनि बढ्दो गएको र आफूलाई आर्थिक रूपमा पनि बलियो बनाएको समय भएकोले अहिले मेरो लागि मिस्टर नेपालमा सहभागी परफेक्ट समय हो ।’ 

मिस्टर नेपाल युवाहरू सहभागी हुने नेपालको सबैभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगिता भएकोले पनि आफ्नो रोजाइ यसमा परेको उनले बताए ।

उपाधि नेपाल ल्याउँछु

नेपालमा राम्रो पढ्ने, जान्ने बुझ्ने मानिस मिलेसम्म अमेरिका जान्छन् र त्यतै हराउँछन् । अधिकांश नेपालीको सपनाको देश हो अमेरिका भन्दा फरक नपर्ला । समर्पण भने अमेरिकामै पढे, कमाए अनि केही समय रमाए । तर, समयमै नेपाल फर्किए ।

‘म अमेरिकामै रमाउन सक्थे । केही वर्ष रमाएको पनि हो’, उनले सुनाए, ‘नेपाल होस् वा अमेरिका । जुनै ठाउँमा पनि सबैभन्दा ठुलो कुरो मानिसको मन शान्त हुनु पर्‍यो । जो जहाँ हुन्छ । त्यहाँ रमाउन सकिन्छ ।’

खासमा लामो समय अमेरिका बस्ने उनको योजनै थिएन । ‘नेपालको इतिहास पढ्दा देशको सेवा गर्नुपर्छ, देशमै केही गर्नुपर्छ  भन्ने भावना पलायो । देशलाई केही गर्ने र देशका लागि मर्नेको नाम अमर हुन्छ भनेर बुझेको थिएँ,’ यसरी अमेरिकाबाट फर्किएको रहस्य उनले खोले ।

आफूले देशलाई माया गरेको कारण देशबाट मिस्टर नेपाल जस्तो ठुलो सम्मान हात परेको उनी सुनाउँछन् । भन्छन्, ‘अमेरिकामै रमाएको भए यो उपलब्धि कहाँ मिल्थ्यो र ?’

अव उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वर्ल्ड’ मा देश चिनाउने अवसर छ । यो यात्रा सहज भने छैन । ‘अन्तर्राष्ट्रिय प्लेटफर्ममा देश चिनाएर र उपाधि नै नेपाल ल्याउने मेरो लक्ष्य छ,’ कार्कीले थपे ।

उनी पहिले मिडियामा सौन्दर्य प्रतियोगिता हेर्थे । फाइनलमा एउटा प्रश्नको उत्तर दिएर विजेता भएको देख्थे । अनि सोच्थे, ‘ प्रतियोगिता सजिलो छ । म सधैँ पत्रपत्रिका पढ्छु । ममा कन्फिडेन्ट पनि छ ।’

‘तर, सौन्दर्य प्रतियोगिता त यो मात्र रहेनछ । यो त ५ प्रतिशत मात्र रहेछ । ९५ प्रतिशत अन्य धेरै कुरो पो रहेछ,’ उनले थपे । 

उनी ‘मिस्टर वर्ल्ड’ को तयारीमा लागि सकेका छन् । हरेक दिन नयाँ नयाँ पुस्तक खोजेर पढ्दै विश्वको जानकारी लिइरहेका छन् । 

IMG-20230723-WA0007 (1) (1)

भन्छन्, ‘तयारी राम्रो गर्छु । मिस्टर वर्ल्डमा दमदार प्रस्तुतिसहित उपाधि चुम्छु ।’ मिस्टर वर्ल्डमा नेपालका तर्फबाट प्रस्तुत गर्ने प्रस्तुतिका लागि दिग्गजहरूसँग पनि सरसल्लाह लिने उनको योजना छ ।

पाइलट पेसा के को जोखिम ?

प्रायःले पाइलट पेसा निकै जोखिम मान्छन् । समर्पण भने यसलाई ९९.९ प्रतिशत सुरक्षित यात्रा बताउँछन् । ओछ्यानमा सुत्दा पनि जोखिम रहेको सुनाउने उनी विश्वमा प्रतिदिन ९ लाख मानिसको सुतेको ओछ्यानबाटै निधन हुने तथ्याङ्क रहेको सुनाउँछन् ।

‘प्लेन संसारको सबैभन्दा सुरक्षित यात्रामा पर्छ । पाइलटले नियम भने फलो गर्नुपर्‍यो’, उनले थपे ।

कतिपय मानिस उनको अबको मिस्टर वर्ल्ड यात्राले पाइलट पेसामा केही असर पर्ने भनिरहेका छन् । उनी भने मिस्टर वर्ल्ड यात्रा र पाइटल पेसा दुवै चेक अन ब्यालेन्समा अगाडि बढाउने तयारी गरिरहेका छन् ।

‘यो दुवै एकसाथ अगाडि लैजान गाह्रो त हुन्छ, असम्भव भने छैन । केही नयाँ नगरी केही उपलब्धि हासिल गर्न सकिन्न । यात्रामा जोडिने सबैबाट साथ र सहयोग मिल्ने अपेक्षा छ’, उनले भने, ‘पाइलटको १० दिनको सेड्यूल आउँछ । त्यो दश दिनमा पनि ४ दिन फ्लाइट, एक दिन स्ट्यान्ड बाई र अन्य दिन लगभग बिदा पर्छ ।’ त्यही समय मिस्टर वर्ल्ड तयारीको लागि सदुपयोग गर्ने उनले सुनाए ।

त्यसो त उनी सामाजिक काममा पनि सक्रिय हुन चाहन्छन् । किनभने उनमा सानैदेखि समाजका लागि केही गरौँ भन्ने हुटहुटी थियो ।

‘मिठो खाने, राम्रो लगाउने भन्दा पनि म अरूको दुःखमा मलहम लगाउँदा आनन्दित हुन्छु,’ मिस्टर नेपाल कार्कीले कुराकानीको बिट मारे, ‘मलाई पर्दाको हिरो भन्दा पर्दा पछाडिको रियल हिरो बन्नु छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया