आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
यात्रा संस्मरण

मनाङको त्यो कहालीलाग्दो उकालो

शनिबार, १३ साउन २०८०, ०६ : ३८
शनिबार, १३ साउन २०८०

मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो । 

त्यो इच्छा नेवार भाषा सर्वेक्षण यात्राले जुराइ दियो । हामी काठमाडौँबाट सर्वेक्षणको यात्रामा थियौँ । काठमाडौँबाट गोर्खा, मनाङ, मुस्ताङ, जुम्ला हुँदै आफ्नो गृह जिल्ला कैलाली पुग्ने योजना थियो । 

काठमाडौँबाट नाइट बस चढी गोर्खातिर लागियो । मनकामना पुग्दा केबलकार चढ्नेहरू हुलका हुल देखिन्थे । केबलकारले मेरो पनि मन लोभ्यायो । एक मन त बसबाट ओर्लेर केबलकार चढी हाल भन्दै थियो।  तर, बसबाटै एक दुइटा फोटो खिचेर मन शान्त गरियो । अर्को यात्रामा आउँछु है भन्दै चित्त बुझाइयो । साँझतिर गोर्खा पुगियो । 

हामी गोर्खा पुगेर भाषा सर्वेक्षणको काम ठाँटी राखी गोर्खा दरबार घुम्नमा व्यस्त भयौँ । गोर्खा दरबारको शिल्पकला देखेर काठमा बुट्टा कुँद्ने कालीगढको कलालाई ‘वाह’ भन्न कर लाग्यो । दरबारबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला देखेर मनमुग्ध भइयो । 

संसारको पाँचै अग्लो हिमाल मनास्लु यही भेकमा पर्छ । यहाँबाट धवलागिरिदेखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै, घना जंगल तथा हरिया पहाड, हिमालदेखि कलकल गर्दै बग्ने नदीनाला, सम्म मैदान र फाँटहरू, शीतोष्ण हावापानी, शान्त वातावरण आदिले यहाँ आउने जो कोहीको पनि मन छुन्छ ।

गोर्खा र लमजुङको सिमानामा रहेको छ दूधपोखरी । यही पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङ जिल्लाको सिमाना छुट्याउँछ । नारद पोखरीबाट निकास भई गोर्खाको बीच भागबाट दरौदी नदी बगेको छ, जसलाई धर्मनदी पनि भनिन्छ । यसैको तिरैतिर गयौं हामी । 

बाटोमा लोभलाग्दो रूपमा फ्राई गरेर बेच्न राखेको माछा देख्दा भोक जाग्यो । बस रोकिने बित्तिकै माछाको स्वाद लिन बसबाट ओर्लियौ । 

भाषाको सर्वेक्षणको लागि नयाँ साँघु भन्ने ठाउँमा पुग्नुपर्ने थियो । लोकल बसमा चढ्यौ तर यात्रुको चापले बस खचाखच थियो । साँझ पर्दै थियो, सबैलाई जानै पर्ने थियो । कोचाकोचमा हामी जसोतसो गन्तव्यमा पुग्यौ । गोर्खाको बारपाक पुग्ने धोको चाहिँ यसपालि पूरा हुन सकेन ।

त्यो राती हामी पोखरामा साथी प्रकाश भट्टको डेरामा एक रात कटायौ । पोखराबाट एकाबिहानै बस चढेर मनाङतिर लाग्यौ । मनाङको नामको अर्थ खोज्दा मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ’ शब्दबाट अपभ्रंश भएर आएको पाइयो । तिब्वती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देउ भन्ने हुँदो रहेछ । अर्थात् विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायता बिना अति कष्टकर हिमाली जीवनशैली रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । 

लामो बसको यात्रापछि बेशीशहर पुगियौ । त्यहाँबाट ठुलो बस मनाङ नजाँदो रहेछ । त्यसैले, धारापानीमा बस्ने एक जना दाइ क्षेत्रबहादुर गुरुङको सम्पर्कमा एउटा सानो गाडी हाम्रो प्रतीक्षामा घण्टौँ पर्खिरहेको थियो । हामी लगभग ३ बजे पुग्यो र नास्ता खाएजस्तो गरेर गाडीमा बस्यौ । 

पछाडि सामान लोड गरेको बोलेरो गाडीमा ड्राइभरलगायत हामी ७ जना थियौँ । सुरुमा यात्रा रमाइलो थियो । मर्स्याङ्दी नदीको तिरैतिर जाँदा विभिन्न छाँगाछहराबाट कलकल पानी बगेको देख्दा मनै खुसी हुन्थ्यो । एक ठाउँमा निकै आकर्षक छाँगा देखियो । त्यहाँ खाजा, नास्ता पनि पाइने भएकाले गाडी रोक्यौँ । अनि, झरनाको फोटो आआफ्नो मोबाइलमा कैद गर्न थाल्यौ । 

त्यहाँ इन्टरनेटको नेटवर्क राम्रो थियो । त्यसैले, कैलालीमा रहेकी आफ्नो जीवन संगिनीलाई भिडियो कलबाट त्यो मनोहर दृश्य देखाएर खुसीयाली साटेँ । लोभलाग्दो दृश्य देखेपछि अर्कोपल्ट त्यो ठाउँ म पनि जाने है भन्दै लाडिइन् । हुन्छ त भनियो । तर आफू नै यो ठाउँ पुनः आउने टुङ्गो छैन । मेरो मनको कुरा छेउमा बगिरहेको मर्स्याङ्दी नदीको सुसाईमै बिलायो । 

हामी फेरि यात्रा सुरु गर्‍यौँ । चिसो अलिअलि बढ्दै थियो । सुरुमा झ्यालतिर फोटो खिच्न बसेको एक जना साथी एकाएक डर मान्न थाले । उनले सँगै बसेको दिदीसँग सिट साटे । किनकि झ्यालबाट बाहिर हेर्दा मन सिरिङ्ग हुने मर्स्याङ्दीको गहिरो खोँच देखिन्थ्यो । 

अर्कोतिर बाटो एकदमै साँगुरो, अर्कोतिरबाट गाडी आयो कि गाडी ब्याक गरी साइड दिनुपर्ने । बीच बीचमा ड्राइभरले ठाउँ इंगित गर्दै यो ठाउँमा पहिरो आउँदा गाडीसमेत मर्स्याङ्दी नदीले निल्यो भनेर अझ डरका मात्रा बढाइरहेका थिए । त्यसैले, बाँचेर सकुशल गइन्छ कि यही मर्स्याङ्दी नदीमै जीवन विलीन हुन्छ जस्तो लाग्थ्यो ।

बल्ल तल्ल हामी राती ११ बजे धारापानी पुग्यौ । गुरुङ साथी त्यहाँ पर्खिरहेका थिए । चियाले स्वागत गरे । को कसरी, कहाँ कहाँ जाने भनेर उनले सबै बेलीबिस्तार लाए । 

हामीले सोचेका थियौ, अब त गन्तव्यमा पुगियो । तर, गुरुङ साथीको बेलीबिस्तारले थाहा भयो, हाम्रो यात्रा त अझै धेरै बाँकी पो रहेछ । हामी त भर्खर मनाङको अलिकति मात्र भित्र आएका रहेछौँ । फेरि अर्को गाडी खोज्नुपर्ने भयो । उहाँले धेरै गाडी रोक्नुभयो तर बेशीशहरबाट माथि आउने सबै गाडी भरिएको थियो । रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । अन्ततः गाडी नपाइएपछि त्यही बस्ने निर्णय भयो । 

मर्स्याङ्दी नदीको ढिकमै सानो घर थियो, बास बसेको ठाउँ । नदी सुसाएको कोठासम्मै आवाज आउँथ्यो । सिमसिमे पानी पर्न सुरु गरेको थियो। हामीले बाटोमा धेरै घर बगाएको दृश्य देखेका थियौ । त्यसैले, डरले मनमा चिसो पसेको थियो । तर, दिनभरिको थकानले निद्रादेवीको काखमा मस्तराम भयौँ । 

अर्को बिहान हामी ९ बजेतिर पो उठ्यौँ । उठ्दा नास्ता तयार भैसकेको थियो । नास्तापछि गाडी खोजियो तर कुनै गाडी पाइएन । अन्तिममा कुनै विकल्प नभएर हिँडेर जाने निर्णय गरियो । साथीले पनि २/३ घण्टा मात्र लाग्छ, रमाइलो पनि हुन्छ । हिँडेर जानुस् भनेर बाटोको नक्सा बनाइ दिएर बिदाइ गर्नुभयो । 

बाटोको लागि केही खानेकुरा, पानी बोकेर हामीले पैदलै यात्रा सुरु गर्‍यौँ । सुरुमा त रमाइलो भयो। बीच बीचमा फोटो खिच्दै, गफिँदै रमाइलो लागिरहेको थियो । तर लास्टै उकालोले हलुंगो झोला बिस्तारै गह्रौ हुन थाल्यो । 

बाटोमा आक्कल झुक्कल घर, पसल देखिन्थ्यो । लामो हिँडाइपछि एउटा सानो होटल देखियो । थकाई मार्न र नास्ता गर्न पस्यौँ । होटल मालिकलाई जाने ठाउँबारे सोध्यो । उनले त अझै २/३ घन्टा लाग्छ पो भने । हामीलाई अचम्म लाग्यो, जबकि हामी २ घन्टा हिँडेर यहाँसम्म आइपुगेका थियौँ । 

नास्तापछि तुरुन्तै यात्रा सुरु गर्‍यौँ । हिँडाईको स्पीड बढायौं । तर, झन् झन् उकालो बाटो पो आउन थाल्यो । उकालोमा आफ्नै झोला भारी भैरहेको थियो । म पुरै थाकिसकेको थिए । साथीहरू हिँडौँ हिँडौँ भन्दै अगाडि बढ्दै थिए । 

मेरो बोतलको पानी सकिन आँटेको थियो । त्यसैले, घाँटी मात्रै भिजाएर जोगाएर राखे । बाटो ठाह्रै उकालो मात्रै होइन, ठाउँ ठाउँमा निकै घुमाउरो पनि थियो ।  साथीहरू अगाडि बढे पनि म भने एकछिन थकाई  मार्न बसेँ ।  

उकालोले न माथि चढ्न सकिन्छ, न तल झर्न । यहाँबाट अब घर फर्किन सकिन्छ कि सकिन्न । किन यस्तो ठाउँमा आइयो । मनमा निराशा छायो । मनमा नाना थरिका कुरा खेल्न थाल्यो । सुनसान साँगुरो बाटो, केही गरी लडियो भने साथीहरूले मेरो हाडखोर पनि भेट्ने छैनन् भन्ने विचार मनमा आउँदा पनि जिउ सिरिंग भयो ।

उता, साथीहरू माथिबाट आवाज दिइरहेका थिए । म बोल्न पनि सकिरहेको थिइनँ । अनायास आँखाबाट आँसु झर्न थाल्यो । भक्कानो छाडेर रुन मन लाग्यो । तर, लोग्ने मान्छे भएर रुन हुन्न भन्ने गीत सम्झिँदै मन बुझाएँ ।  

म नहिँडेपछि साथीहरू माथिबाट फर्केर मलाई लिन आउनु भयो ।  पानीको बोतल अनि झोलाबाट केही खानेकुरा निकालेर दिनु भयो । अलिकति बल अनि ढाडस पाइयो । सँगै उकालो चढ्न लाग्यौ । केही छिनपछि हामी अलि समथर ठाउँमा पुग्यौ । थकाई मार्दै, निरन्तर हिँडाइ जारी राख्यौ । 

निकै लामो हिँडाइपछि बल्ल २/३ वटा घर देखियो । बाटोभरि मानिसहरूको नामोनिसान देखिएको थिएन । बल्ल एकजना अधबैँसे पुरुष भेट्यौ ।  हामीलाई देखेर उहाँ हामीकहाँ आउनु भयो ।  

हजुरहरू कहाँबाट आउनु भयो ? यसरी हिँडेर त कोही आउँदैन भन्नु भयो ।  जंगलमा जंगली जनावर  हुन्छन् ।  डराउनु भएन ? भनी सोध्नु भयो ।  

ती होटलेको प्रश्नले हामीलाई अहिले पो डर लागेर आयो । हामी थकान मार्न र चिया नास्ता गर्न उहाँको सानो पसलमा अडियौँ । चियासँगै गफिन थाल्यौँ । 

त्यहाँ ३/४ घर थियो । गाउँको सबैजना यार्सागुम्बा खोज्न गएका रहेछन् । हेरालु उनीमात्रै रहेछन् । उनको मात्रै ३०० अनि गाउँको ६०० गरी ९०० भेडा रहेछन् । २ जना भेडा चराउन गएका रहेछन् । 

मलाई अचम्म लाग्यो, ९०० भेडा चराउने २ जना मात्रै गोठाला ?  मलाई याद आयो, हाम्रो घरमा ६ वटा बाख्रा पाल्न ४ जनालाई मुस्किल थियो । उहाँहरूको मेहनतको कदर गर्नैपर्ने हो भन्दै हामीले धेरै बेरको सुस्ताई पछि पुनः यात्रा सुरु गर्‍यौँ । 

बाटोमा एक जना साथी पुरनबहादुर गुरुङको घर पर्थ्यो । करिब २ बजेतिर हामी उहाँको घर पुग्यौ । अरू साथीहरू त्यहाँ जम्मा भएका थिए । उहाँहरूसँग त्यहाँ बोलिने भाषाबारे कुरा गर्‍यौँ । खाना खाइसकेपछि हामीले तुरुन्तै बिदा लियौँ । 

Manag 2

उहाँहरूको भनाईअनुसार अझै २/३ घन्टाकै उकालो हाम्रो गन्तव्य थियो । हिँड्नु सिवाय अरू कुनै विकल्प थिएन । ४ बजेपछि आक्कल झुक्कल गाडी आउन सुरु गर्‍यो तर यात्रुहरूले भरिभराउ त्यो दिन गाडी चढ्ने भाग्यमा थिएन । हिँड्दा हिँड्दै लखतरान भएका हामी लगभग बेलुकी ७ बजेतिर गन्तव्य स्थान चामे पुग्यौँ । गन्तव्य चामेले ज्यान चाम्रो बनाइसकेको थियो ।

तर, मनाङ जति दुर्गम थियो, त्यति नै सुन्दर पनि लाग्यो ।

.....

मलाई जहिले जहिले मनाङको याद आउँछ, त्यही उकालोले भयभीत तुल्याउँछ । तारानाथ शर्माको घनघस्याको उकालो शायद यति गाह्रो थिएन होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोतीराम चौधरी ‘रत्न’
मोतीराम चौधरी ‘रत्न’
लेखकबाट थप