कविता
मलाई किन स्विकारिँदैन ?
शनिबार, १३ साउन २०८०, १० : ५४
मेरो हुनुमा नै
केही समस्या छ कि ?
मेरो अस्तित्व,
तिम्रो अस्तित्व फरक हो र ?
मेरो विचार, मेरो दृष्टिकोण
अलग हुँदैमा
मलाई अस्वीकार नै गर्नुपर्छ र ?
जति धेरै फूलहरू फुल्छन्
बगैँचा त्यै राम्रो हो त
आकाश साँघुरो भएको भए
तिमी नै हुँदैन थियो त ।
म भीडको मान्छे होइन,
तिम्रो लाइनको पनि होइन
मेरो आफ्नै सोच छ,
तिम्रो भन्दा फरक छ ।
नजरअन्दाज गर्न सक्ने
मान्छे म होइन
मेरो आयतनलाई
अलि घटाएर हेरे जस्तो छ
मलाई अलि सानो मान्छे
बुझे जस्तो छ
पिकासोको चित्र हुँ म,
बुझ्न चाहिँ गाह्रो छ
हेक्का रहोस्,
मन्दिरको गजुर हुँ म,
सबैले बजाउने घण्टी होइन ।