आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

ईश्वर कहाँ छैन ?

शनिबार, १३ साउन २०८०, ११ : ५०
शनिबार, १३ साउन २०८०

तिमी सोध्छौ, 
ईश्वर कहाँ छ ?
म भन्छु 
सुन्ने कानमा छ
हेर्ने आँखामा छ
धड्किरहने मुटुको 
हर धड्कनमा छ
नदेखिने यी कण कणमा छ ।
भन,
ईश्वर कहाँ छैन ?

दूध पिलाउने शिशुको 
आमाको स्नेहमा छ
नव मण्डलमा पाइने 
समस्त जीवमा छ
नील गगनमा उदाउने 
तारा पुञ्जमा छ
प्रभातसँगै  झुल्किने 
अरुणोदयमा छ ।
भन,
ईश्वर कहाँ छैन ?

मगमग भई फुलिरहने 
फूलको परागमा छ,  
नदी किनारमा पौडिरहने 
पत्थरको स्पर्शमा छ
बतासिएर झुलिरहने 
वृक्षको तरङ्गमा छ 
बताससँगै गुनगुनाइ  रहने 
लतिफाका ती पातहरुमा छ ।
भन,
ईश्वर कहाँ छैन ?
 
चहराइ रहेको मान्छेको 
घाउहरुमा छ
आवाज विहीनहरुको 
आवाजमा छ
पीडितहरुको क्रन्दनमा छ ।
भन,
ईश्वर कहाँ छैन ?

दृष्टि तिम्रो भ्रम हुँदा 
उ कहीँ पनि देखिदैन
तिम्रो हेर्ने दृष्टि फेरिदा
जताततै उ नै उ छ 
भन त अब,
ईश्वर कहाँ छैन ?

बकैया–८, मकवानपुर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप