आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गौर हत्याकाण्ड

रौतहटमा उपेन्द्र र प्रभु आमनेसामने

साउन १५ गते के होला रौतहटमा ?
शनिबार, १३ साउन २०८०, १७ : ३३
शनिबार, १३ साउन २०८०

काठमाडौँ । १७ वर्षअघि भएको रौतहटको गौर घटनालाई लिएर यतिखेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र प्रभु साह नेतृत्वको आम जनता पार्टी आमनेसामने भएको छ । 

२०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी कार्यकर्ता बीचमा झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । त्यसमा ११५ जना घाइते भएका थिए । 

सो झडपमा २७ जना कार्यकर्ता गुमाएको नेकपा माओवादी पार्टीले कुनै चासो नदेखाए पनि माओवादी छाडेर अहिले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका प्रभु साहले भने गौर घटनालाई फेरि सतहमा लिएर आएका हुन् । गौर हत्याकाण्ड पीडित संघर्ष समिति गठन गरेर न्यायका लागि उनले संघर्ष गरिरहेका छन् । 

काठमाडौँदेखि रौतहटसम्म दिनहुँ जसो प्रदर्शनहरू भइरहेका छन् । प्रभु साहले गौर घटनाका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको र उनलाई कारबाही हुनुपर्छ भन्दै आजदेखि अनसन सुरु गराएका छन् । 

उता जसपालगायत सत्ताधारी अन्य दलहरूले भने प्रभु साहको विरुद्धमा प्रदर्शन गर्दै उनीमाथि कारबाहीको माग गरेका छन् । जसपा रौतहटका नेता श्याम बिहारी यादवले गौर घटना राजनीतिक घटना भएको तर त्यसलाई साहले अनावश्यक रूपमा उठाएर आफ्नो संगठनका लागि प्रयोग गरिरहेको आरोप लगाए । 

‘गौर घटना प्रभु साहका कारणले भएको हो । यदि उपेन्द्र यादवलाई कारबाही हुने हो प्रभु साह पनि त्यतिकै दोषी हुन् । उनलाई पनि कारबाही हुनुपर्छ,’ उनले दाबी गरे । २०६३ चैत ७ गते तत्कालीन फोरमले प्रजिअ कार्यालयबाट अनुमति लिएर गौरको राइसमिलमा कार्यक्रम आयोजना गरेको तर साहले त्यही स्थानमा जबरजस्ती कार्यक्रमको आयोजना गरेर द्वन्द्व सिर्जना गराएर त्यो घटना घटाएको दाबी समेत नेता यादवले गरे । 

प्रभु साहले काशीनाथ तिवारी, सुनिल यादव, सुरेश यादव, उपेन्द्र यादव वैरागी, शम्भु पटेललगायत थुप्रैको हत्यामा संलग्न रहेको आरोप लगाउँदै नेता यादवले ती हत्यामा संलग्न रहेको कारण प्रभु साहलाई पनि कारबाही हुनुपर्ने आफूहरूको माग रहेको बताए । 

अहिले पनि विभिन्न बहानामा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अर्को गौर घटना गराउन खोजेको आरोप जसपा नेपालले आरोप लगाइ रहेका छन् । 

प्रभु साहले गौर घटनाका दोषीको कारबाहीको माग गर्दै साउन १५ गतेका लागि रौतहट बन्दको घोषणा गरेका छन् । जसपाले त्यो दिन कुनै पनि हालतमा रौतहट बन्द नहुने भन्दै आएको छन् । 

जसपा नेता श्यामबिहारी यादवले भने, ‘साउन १५ गते रौतहट बन्द गरेर प्रभु साहले अर्को गौर घटना निम्त्याउन चाहनुभएको छ । हामीले प्रजिअलाई रौतहट बन्दको कार्यक्रम स्थगित गराउनुस् भनेर आग्रह गरेका छौँ । नत्र कुनै अप्रिय घटना भयो भने त्यसको दोषी हामी हुँदैनौँ ।’ रौतहटका प्रजिअले पनि आफू बन्दको कार्यक्रम स्थगित गराउने प्रयासमा रहेको जानकारी दिएको उनले बताए । 

उता, आम जनता पार्टी रौतहटका इन्चार्ज अमर साहले भने आफूहरू न्यायका लागि सडकमा आएको बताउँदै त्यसमा कसैको टाउको दुखिरहेको छ त्यसमा आफूहरूको कुनै दोष नरहेको जिकिर गरे । ‘तत्कालीन फोरम, अहिलेको जसपाका नेता कार्यकर्ताले माओवादीका २८ जनाको ज्यान लिए । के ज्यान गुमाएका परिवारको सदस्यले न्याय पाउनुपर्छ भनेर माग गर्नु नाजायज हो र ?’ उनले प्रश्न गरे, ‘गौर घटनाका दोषीलाई कारबाही हुनुपर्छ भन्ने माग राख्दा जसपाको टाउको किन दुख्यो ? मानव अधिकार आयोगदेखि लिएर विभिन्न संघ संस्थाले तयार पारेको रिपोर्टले पनि त्यहाँ गलत भएको हो, दोषीले कारबाही हुनुपर्छ भनेको छ । त्यही कुरा हामी उठाउँदा कसरी गलत भयो ? जसपा दोषीलाई उम्काउने प्रयासमा रहेको छ ।’

विभिन्न व्यक्तिको हत्यासँग जोडेर प्रभु साहलाई त्यसमा जोड्ने काम जसपालगायतका पार्टीका नेताहरूले गरिरहेको दाबी गर्दै उनले ती नेताहरूमाथि मानहानिको मुद्दा लगाउने उनले बताए । उनले भने, ‘हामीले गौर घटनाको कुरा उठाउँदा उहाँहरूले नचाहिँदो कुरा उठाएर हामीले उठाउँदै आएको मुद्दालाई ढाकछोप गर्ने, ओझेलमा पर्ने प्रयासमा लाग्नु भएको छ जसलाई हामीले सफल हुने दिने छैनौँ ।’

साउन १५ गते आफूहरूको बन्द कार्यक्रम यथावत् रहेको पनि उनले बताए । ‘न्यायको माग गर्दै बन्द गरेका हौँ,’ उनले भने, ‘कसैले त्यसलाई जबरजस्ती रोक्न खोज्यो भने त्यो उसको समस्या हो । उनीहरूलाई राज्यले सम्झाउने हो ।’ 

आफूहरू शान्तिपूर्ण आन्दोलन गरिरहँदा त्यसलाई रोक्ने प्रयास भइरहेको दाबी गर्दै उनले गौर घटनाका दोषीले कारबाही नभएसम्म यो आन्दोलन नरोकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप