आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्री भर्सेस डीजी

देउवा र नेपालले सत्ता गठबन्धन तलमाथि पर्छ भनेपछि.....

आइतबार, १४ साउन २०८०, ०८ : ०९
आइतबार, १४ साउन २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीबीचको विवाद टुङ्गिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरेपछि विवाद टुङ्गिएको हो । सुरुमा प्रधानमन्त्रीले डीजी अधिकारीलाई कारबाही गर्ने आश्वासन दिएपछि मन्त्री किरातीले लगातार स्पष्टीकरण सोधेका थिए । तर, किरातीको योजना सफल हुन सकेन । शक्तिकेन्द्र मार्फत डीजी अधिकारीले आफूमाथि हुन लागेको कारबाही रोक्न सफल भए ।

उच्च स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधव नेपालमार्फत अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई कारबाही रोक्न दबाब दिएका थिए ।

‘सुरुमा प्रधानमन्त्रीले नै किरातीलाई तपाईं अगाडि बढ्नोस्, म कारबाही गर्छु भनेर आश्वासन दिनुभयो,’ स्रोतले भन्यो, ‘तर, अधिकारी यति शक्तिशाली भइदिए कि देउवा र नेपालमार्फत कारबाही रोक्न प्रधानमन्त्रीलाई दबाब दिन लगाए ।’

देउवा र नेपालले अधिकारीमाथि कारबाही गरे गठबन्धन नै तलमाथि हुने चेतावनी प्रधानमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले किरातीलाई बोलाएर अधिकारीमाथि कारबाही रोक्न निर्देशनमात्रै दिएनन्, एउटा कर्मचारीविरुद्ध धेरै पछि नलाग्न समेत भनेका थिए ।

प्रदीप अधिकारीको रवाफ देखेर मन्त्री सुदन किराती छक्क परेका छन् । उनले मन्त्रालयका कर्मचारीसँगको गफमा अधिकारी धेरै शक्तिशाली रहेकाले कारबाही गर्न सम्भव नभएको बताउँदै आएका छन् ।

‘अधिकारीलाई कारबाही भएमा गठबन्धन नै तलमाथि पर्ने धम्की आयो, अब त्यसको पछि धेरै नलाग्नु, ‘प्रधानमन्त्री प्रचण्डले मन्त्री किरातीलाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘किरातीले जवाफमा अधिकारीका गैरव्यावसायिक क्रियाकलापमा समर्थन नगर्ने भन्दै उनीसँग दूरी राख्ने जवाफ प्रचण्डलाई दिएका थिए ।’

स्रोतका अनुसार बिहीबार मात्रै बैंककबाट अधिकारी स्वदेश फर्किएका छन् । उनले मन्त्री किरातीलाई भेट्ने समय मागेका थिए तर, किरातीले नभेट्ने जवाफ दिएका छन् ।

अधिकारीको रवाफ देखेर मन्त्री छक्क परेका छन् । उनले मन्त्रालयका कर्मचारीसँगको गफमा अधिकारी धेरै शक्तिशाली रहेकाले कारबाही गर्न सम्भव नभएको बताउँदै आएका छन् । ‘अधिकारी धेरै शक्तिशाली रहेछ, अब त्यसलाई कारबाही गर्न सकिएन,’ किरातीले सचिवालयका कर्मचारीसँग भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अधिकारीलाई कारबाही गर्दा गठबन्धन बिग्रनेसम्मको धम्की आएपछि ब्याक हुनुपर्यो ।’

मन्त्री किरातीले अधिकारीविरुद्धको असन्तुष्टिलाई लिएर कि आफूले मन्त्रीबाट राजीनामा दिनुपर्ने वा सरकार आफ्नै पार्टीको हुँदाहुँदै पनि असहयोग भएका कारण पार्टी नै छाड्नुपर्ने विकल्पका बारेमा समेत मन्त्रालयमा निकटसँग चर्चा गरेका थिए । तर, निकट कर्मचारी तथा व्यक्तिहरुले एउटा कर्मचारीलाई लिएर राजीनामा नदिन सुझाव दिएका थिए ।

स्रोतले भन्यो, ‘मन्त्रीज्यूले प्रधानमन्त्रीको असहयोगका कारण डीजी अधिकारीलाई कारबाही गर्न नसकिएको हामीलाई बताउनुभयो, गठबन्धन नै तलमाथि पर्ने चेतावनी आएपछि उहाँ पछि हट्नुभएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप