आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बालिकामाथि यौन दुर्व्यवहार हुँदै आएको होस्टेल बन्द गराउँदै काठमाडौँ महानगर

आइतबार, १४ साउन २०८०, १८ : ३६
आइतबार, १४ साउन २०८०

काठमाडौँ । काठमाडौँको स्वयम्भु–१५ स्थित एक होस्टल बन्द गराइने भएको छ । ‘स्नो मञ्जुश्री’ नाम गरेको संस्थाबाट सञ्चालित होस्टल काठमाडौँ महानगरपालिकाले बन्द गराउन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले बाल गृहको नाममा सञ्चालित उक्त होस्टल अनधिकृत रहेको भन्दै बन्द गराउन लागेको हो । 

उक्त होस्टलमा रहेका बालिकाहरूले यौन दुर्व्यवहार हुने गरेको बताएपछि उनीहरूको उद्धार गरिएको थियो । साउन ११ र १२ गते गरेर राष्ट्रिय बाल अधिकार परिषद्, काठमाडौँ महानगरपालिका, बाल हेल्पलाइन १०९८, छोरी संस्था र बाल अधिकारका लागि राष्ट्रिय अभियानको संयुक्त टोलीले ५६ जना बालिकाको उद्धार गरेको हो ।

होस्टेलमा रहेका ४७ जना बालकलाई भने विद्यालयको संरक्षणमा राखिएको छ ।

आनन्द कुटी विद्यापीठ नामक विद्यालयको परिसरभित्रै उक्त होस्टेल सञ्चालनमा छ । सो होस्टेलका सञ्चालबाट बालिकाहरूमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएपछि उद्धार गरिएको हो ।

उद्धारको पर्खाइमा रहेका बालकहरूको भने पारिवारिक पुनर्मिलन गराइने भएको छ ।

सो होस्टलबाट साउन ११ गते ११ जना बालिकाको उद्धार गरिएको थियो । उनीहरूको उद्धारपछि होस्टेल सञ्चालबाट अन्य बालिकाहरूमाथि थप यातना दिन थालियो । यौन दुर्व्यवहारबारे कसैलाई केही भने ज्यान मार्ने सम्मका धम्की दिइएको पीडितको भनाइ छ ।

त्यसपछि साउन १२ गते थप ४५ जना बालिकाको उद्धार गरिएको हो । उनीहरूलाई विभिन्न संस्थाको संरक्षण गृहमा राखिएको राष्ट्रिय बालअधिकार परिषद्की बाल संरक्षण शाखा प्रमुख नमुना भुषालले जानकारी दिइन् ।

उद्धार गरिएका ११ जना बालिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । सोही आधारमा होस्टेलका सञ्चालक सोनाम घ्याम्चे घलेलाई पक्राउ गरेको प्रमुख भुषालले बताइन् । घले मनाङका हुन् ।

उनले ७० वर्ष पुरानो विद्यापिठसँग सहकार्य गरेर बालबालिकाहरूलाई पढाउँदै आएका थिए । उक्त विद्यालय परिसरभित्रै बालगृह सञ्चालित थियो । बालगृह भने पनि उनले होस्टेलको रूपमा चलाउँदै आएका थिए ।

बालबालिकाहरूलाई निःशुल्क आवासीय सुविधासहित पठनपाठन गराउने सम्झौता गरेका घलेमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । त्यसरी उनले बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको खुलासा एक विदेशी पर्यटकबाट भएको हो ।

होस्टेलमा स्वयंसेवा र राहत दिनका लागि पुगेका एक जना विदेशी पर्यटकलाई त्यहाँकी एक बालिकाले यौन दुर्व्यवहार भएको बताएकी थिइन् । ती बालिकाले उनको हातमा एउटा पत्र थमाएकी थिइन् । जसमा लेखिएको थियो,– ‘आइ वाज सेक्सुअल्ली एब्युज्ड इन दिस होस्टल ।’

उनले यो होस्टेलमा आफू यौन दुर्व्यवहारमा परेको लेखेर दिएकी थिइन् ।

त्यसपछि बालिकाले पठाएको सन्देससहित ती विदेशीले राष्ट्रिय बालअधिकार परिषद्लाई जानकारी गराएका थिए । त्यही आधारमा सरोकारवाला निकायले उक्त होस्टेलमा आकस्मिक निरीक्षण गर्दै बालिकाहरूको उद्धार गरेको हो ।

बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालले बालगृहको नाममा होस्टेल सञ्चालन गरेको पाइएको बताए ।

‘कुनै निकायमा पनि दर्ता नगरेर सञ्चालनमा रहेछ । होस्टल र बालगृह दुवैका लागि आवश्यक पर्ने कुनै पनि मादपण्ड पूरा गरेको थिएन । बालबालिकालाई बस्ने जस्तो वातावरण थिएन । पूरै फोहोर थियो । महानगरले उक्त होस्टेल बन्द गराउने र बालबालिकाको पुनर्मिलन गराउने निर्णय गरेको छ,’ सिलवालले भने ।

उद्धार गरिएका बालिकाहरूले प्रारम्भिक सोधपुछका क्रममा यौन दुर्व्यवहार भएको भनेका छन् । उनीहरूलाई काउन्सिलिङ गरेपछि थप कुरा खुल्ने सिलवालको भनाइ छ ।

उक्त होस्टेलमा मनाङ, लमजुङ, मुस्ताङ लगायतका जिल्लाका बालबालिका बस्दै आएका थिए । विभिन्न दाताको सहयोगमा खानापान र पढाइका लागि व्यवस्थापन गर्दै आएका घलेले बालबालिकामाथि दुर्व्यवहार गर्ने गरेको पाइएको हो । 

उनले बालबालिकाहरूलाई शिक्षादीक्षा दिने भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७० सालमा मुनाफारहित संस्था ‘स्नो मञ्जुश्री’ नाममा दर्ता गराएका थिए ।

घलेले बालिकाहरूको समवेदशनील अङ्ग चलाउने, यौन दुर्व्यवहार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त स्वयम्भुका प्रमुख एवं डीएसपी राजुबाबु महर्जनले थप अनुसन्धान भइरहेको बताए । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका घलेमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

‘बालिकाहरूको तर्फबाट यौन दुर्व्यवहारको जाहेरी परेको छ । त्यही आधारमा बालिकालहरूको उद्धार गरिएको थियो । र उनलाई पक्राउ गरेका थियौँ । अनुसन्धान भइरहेको छ,’ डीएसपी महर्जनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप