आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बझाङमा ओखेडाको घर भत्काएको आरोपमा तीन जना पक्राउ

प्रजिअ भन्छन्– घटना विभेदको होइन
सोमबार, १५ साउन २०८०, ०८ : ४४
सोमबार, १५ साउन २०८०

धनगढी । साउन ११ गते बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ७, स्यालढुङ्गामा स्थानीय पुट्के ओखेडाको घर भत्काइयो । त्यस यता उत्पन्न विवादले बित्थडचिर गाउँपालिका अशान्त बनेको छ ।

एक थरीले सार्वजनिक जग्गा खाली गराउने क्रममा पुट्के ओखेडाको घर भत्काइएको दाबी गरेका छन् भने अर्को पक्षले दलित भएकै कारण ओखेडाको घर भत्काएको दाबी गरेका छन् ।

ओखेडाको वडा नम्बर–७ मा जमिन छ । आफ्ना बुबाले २०५७ सालमै सो जमिन किनेको ओखेडा बताउँछन् । आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ ।

उनले भने, ‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए । लगाएको बाली (मकै) काटेर आफ्ना गाईभैंसीलाई खुवाए । मलाई दलित, के गर्न सक्छस् र भने ।’

निर्माणाधीन घर भत्काइएपछि पुट्के ओखेडाको निवेदनका आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको भन्दै धामी गाउँका कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पुड्के ओखेडाले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको भन्दै निर्माणाधीन घर भत्काउनेहरू विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

घटनाबारे एक पाटो

स्थानीयका अनुसार ओखेडाले संरचना बनाएको स्थानमा स्थानीय कृष्ण जोशी र गणेश जोशीका बुबाहरूले पनि करिब २० वर्ष अगाडि घर बनाउँदा स्थानीयले भत्काएका थिए ।

सार्वजनिक गौचरनमा घर बनाएको भन्दै केही गाउँलेले त्यतिबेला घर भत्काएको स्थानीय मुकुन्द जोशी बताउँछन् ।

पुट्के ओखेडाका भतिजा कृष्ण ओखेडा पनि घटनालाई जातीय विभेदसँग जोड्न नहुने बताउँछन् । तर प्रशासन तथा सम्बन्धित निकायको सहजीकरणमा गर्नुपर्ने काम गाउँले आफैँले गरेकाले अन्यथा भएको उनको बुझाइ छ ।

गाउँलेले ओखेडाको खेतीपाती नै नस्ट गरेकोले दोषीलाई कारवाहीका साथै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कृष्ण ओखेडाको भनाइ छ ।

स्यालढुङ्गामा २ परिवार दलितको मात्रै घर छ । करिब २०/२५ वर्ष अगाडि बित्थडचिर गाउँपालिकाको वडा नम्बर ६ को दल्लीबाट पुट्के ओखेडाको परिवार स्यालढुङ्गामा बस्न आएको वडा सदस्य मुकुन्द जोशीको भनाइ छ ।

स्यालढुङ्गाबाट करिब २ किलोमिटरको दुरीमा मात्रै गैरदलितहरूको बस्ती छ । धामीगाउँ, सुवाकोट र लगुणासा गैरदलितका बस्ती हुन् । सुवाकोटमा दलित र गैरदलितको बस्ती नजिकै छ । स्यालढुङ्गाभन्दा करिब ५ सय मिटरको दुरीमा रहेको चौडीखोलामा ४ परिवार विश्वकर्मा र त्यति नै दुरीमा रहेको सालिधारमा पनि ४ परिवार विश्वकर्मा छन् ।

वडामा स्थानीयले उजुरी गरेका थिए

एकथरीका अनुसार पुट्के ओखेडाले सार्वजनिक जग्गामा घर बनाउन लाग्दा धामी गाउँ, सालिधार र चौडीखोलाका स्थानीय ३२ परिवारले गत मंसिरमा वडा कार्यालयमा पुट्के ओखेडा र कृष्ण ओखेडाविरुद्ध उजुरी गरेका थिए ।

वडा नं. ७ का वडाअध्यक्ष दिनेश अधिकारीका अनुसार स्थानीयको निवेदन उपर कारबाही गर्न र जग्गा छुट्याउन पालिकामा अमिन नहुँदा तत्कालका लागि घर नबनाउने कुरामा दुवै पक्ष सहमत भएका थिए । तर ओखेडाले घर बनाउन लागेपछि स्थानीयले घर भत्काएको गाउँलेहरु बताउँछन् ।

कृष्ण ओखेडाका अनुसार सार्वजनिक गौचरन जग्गा नछोडेको र वडा कार्यालयमा गरिएको सहमति विपरीत घर बनाउन थालेपछि स्थानीयले गएर घर भत्काएको र ऐलानी भनिएको जग्गामा लगाइएको मकै भटमास नस्ट गरिएको छ । उनले भने, ‘कानुनअनुसार जग्गा खाली हुनुपर्नेमा व्यक्तिहरूले घर भत्काउनु र बाली नास गर्नु गलत छ । त्यसको क्षतिपूर्ति दिनुपर्छ । तर यो घटनालाई जातीय रुपमा दुर्व्यवहार गरिएको भन्न मिल्दैन ।’

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घटनाबारे अनुसन्धान जारी रहेको बताए । घटनाबारे केही तथ्य आफूहरुलाई प्राप्त भएको र प्राप्त सूचना अनुसार घटना जातीय विभेदको नभएको उनको भनाइ छ ।

घटनाको अनुसन्धान कानुनी प्रक्रियामा गइसकेकाले प्रक्रियागत रुपमा निकास पाउने प्रजिअ पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप