आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घर भत्काइदिएका वाग्लेलाई कारबाही नगरेको भन्दै विरोध

सोमबार, १५ साउन २०८०, १४ : ५८
सोमबार, १५ साउन २०८०

बारा । जीतपुर सिमरा उपमहानगर–३, बझनीमा लालबहादुर पाण्डेको घर भत्काइदिएको घटनामा संग्लन भएको आरोपमा जग्गा कारोबारी ईच्छाबहादुर वाग्लेलाई प्रहरीले कारबाही नगरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

वाग्लेलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गत साता नै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका थिए । पीडित पक्षका अनुसार असार ९ गते राति करिब ३ बजे लालबहादुर पाण्डेको घरमा नियोजित ढंगले टिपर प्रयोग तोडफोड भएको थियो । सो घटना लगत्तै पाण्डे परिवारले ईच्छाबहादुर वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । पाण्डेको घरसँगै जग्गा कारोबारी वाग्लेको प्लटिङ्ग छ ।

होटल व्यवसायीसमेत रहेका वाग्लेले आफूलाई पटक पटक भेटेर बसाइँ सरेर अन्यत्र जान दबाब दिए पनि आफूले इन्कार गरेका कारण घर भत्काएको हुन सक्ने पाण्डे बताउँछन् ।

‘विपक्षी ईच्छाबहादुर वाग्लेले अन्य मान्छे लगाइ मेरो निजी जग्गामा बनेको पक्की घरमा टिपरले पटकपटक ठक्कर हानी पर्खाल, सटर भत्काई ९ लाख बिगो सम्पत्ति नास गरेर ज्यान मार्ने धम्की दिएको कुरा यसै पत्र साथ पेस गरेको छु,’ पीडित पाण्डेले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ, ‘विपक्षीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कैद, सजाय र पीडितलाई क्षतिपूर्ति भराई पाउँ ।’

साउन ९ गते राति भएको घटनामा प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको थियो । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि एउटा स्कुटर र ईच्छाबहादुर वाग्लेको गाडी उनकै सालो सन्दिप बस्नेले चलाएको फुटेज भेटिएको छ ।

जसको आधारमा ईप्रका सिमराले शुक्रबार साँझ वाग्लेका सालो सन्दिप बस्नेतलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि बस्नेतलाई नियन्त्रणमा लिएको क्षणभरमै प्रहरी संगठनकै उच्च अधिकारीबाट तत्काल छोड्न आदेश आएपछि प्रहरीले उनलाई छाडेको थियो ।

पाण्डेको घर भत्काउन प्रयोग भएको पहेलो रङको टिपरको नम्बर प्रस्ट नदेखिएको भन्दै प्रहरीले सो टिपर खोजी भइरहेको जनाएको छ । यता तारे होटलका सञ्चालक वाग्लेले आफ्नो होटलमा जडान भएको सीसी क्यामराको फुटेज प्रहरीले माग्दा नदिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिपबहादुर क्षेत्रीले जनाए ।

‘चोर बाटोबाट राति ३ बजेर २६ मिनेटमा अर्काको घर फुटाउनु भनेको एकदमै गैरकानुनी काम हो, हामीले घटना हुनासाथ होटलको सीसी क्यामेराको फुटेज माग्दा उहाँले विभिन्न बहाना बनाउनुभयो, दिनुभएन,’ ईप्रका सिमरा प्रमुख क्षेत्रीले भने, ‘हाम्रो तर्फबाट यो विषयमा प्रारम्भिक अनुसन्धानमा भइरहेको छ, जग्गा सम्बन्धी विवादले घर तोडफोड गरेको हुनसक्छ भन्ने छ ।’

घरछेउमै वाग्लेको प्लटिङ भएकाले २०६८ सालदेखि पटक पटक विवाद हुँदै आएको पाण्डेको भनाइ छ । जग्गा किचलोको विषयलाई लिएर बारा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै बेला टिपर लगाएर घर तोडफोड गर्नु कानुनी राज्यको उपहास भएको डीएसपी क्षेत्रीको भनाइ छ । पीडित पाण्डे परिवारले वाग्लेले मार्ने उद्देश्यले रातमा टिपर प्रयोग गरेर घर भत्काएको दाबी गरेका छन् ।

स्थानीय र पीडित परिवारले दोषीलाई कारबाहीको माग गर्दै सोमबार पत्रकार सम्मेलन गरेका थिए । यता जीतपुर सिमरा वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्रीले पनि वाग्लेले विभिन्न बहानामा आफ्नो वडाका स्थानीयलाई दुःख दिने गरेको टिप्पणी गरे । 

pa2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप