आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आजकालका युवापुस्ता सन्तान चाहँदैनन्, किन बढिरहेको छ यस्तो चलन ?

सोमबार, १५ साउन २०८०, १७ : ०४
सोमबार, १५ साउन २०८०

‘मैले उनलाई भनेँ, ‘हेर, मलाई बच्चा चाहिँदैन । तिमीले आफ्नो इच्छा दबाएको पनि म हेर्न चाहन्नँ । पछि मलाई कुनै प्रकारको दबाब नआओस्’ ।’

नोएडामा एक समाचार च्यानलमा काम गर्ने निशान्त (परिवर्तित नाम) ले श्वेता (परिवर्तित नाम) लाई प्रस्ताव राख्नु अघि यसो भनेका थिए ।

निशान्तको अघिल्लो सम्बन्धमा पनि यसरी नै टुटेको थियो । उनले आफ्नी प्रेमिकालाई विवाह गर्न चाहेको तर बच्चा नचाहेको बताएका थिए ।

यस पटक पनि यस्तै हुने हो कि भन्ने निशान्तलाई डर थियो तर तर श्वेताले ‘मलाई पनि बच्चा चाहिँदैन’ भनेपछि उनलाई सुखद आश्चर्य भयो ।

अहिले यी दुईले विवाह गरेको पाँच वर्ष बितिसकेको छ र उनीहरू ‘चाइल्ड फ्री’ भएर हाँसी खुसी जीवनयापन गरिरहेका छन् ।

‘चाइल्ड लेस र चाइल्ड फ्री’ मा के छ भिन्नता ?

जुन वयस्कको हाल बच्चा छैनन् र पछि जन्माउन चाहन्छन् वा जसले चाहेर पनि बच्चा जन्माउन सकिरहेका छैनन्, उनीहरूलाई ‘चाइल्ड लेस’ भनिन्छ ।

कतिपय अवस्थामा कुनै स्वास्थ्य समस्याका कारण बच्चा जन्माउन सक्दैनन् । यस्तै साथी नपाएका कारण वा विवाह नहुनुका सामाजिक कारणले पनि कोही ‘चाइल्ड लेस’ हुन सक्छन् ।

यसको विपरीत ‘चाइल्ड फ्री’ ती वयस्क हुन् जसले आफैँले बच्चा चाहिन्छ वा चाहिँदैन भनेर निर्णय गर्छन् ।

सरल शब्दमा भन्ने हो भने जो मानिस आफ्नो मर्जीले बच्चा जन्माउन चाहँदैनन् उनीहरूलाई ‘चाइल्ड फ्री’ र जसको कुनै कारणवश बच्चा जन्मिरहेको छैन, उनीहरूलाई ‘चाइल्ड लेस’ भनिन्छ । 

‘चाइल्ड –फ्री’ शब्दलाई सन् १९०० को सुरुवातदेखि नै प्रयोग गरिँदै आएका छ तर यसको व्यापक चलन सन् १९७० को दशकमा भयो । नारीवादीले ती महिलाको समूहलाई अलग पहिचान दिनका लागि यसलाई प्रयोग गरे जो आफ्नो इच्छाले ‘चाइल्ड लेस’ थिए ।

‘चाइल्ड’ को अगाडि ‘फ्री’ शब्दको राखियो ताकि त्यसमा स्वतन्त्रताको आभास होस् र सन्तान नजन्माएर कुनै दायित्व पूरा नगरेको जस्तो नलागोस् ।

एलिजाबेथ हिन्ट्ज अमेरिकाको युनिभर्सिटी अफ कनेक्टिकटमा कम्युनिकेशनकी सहायक प्राध्यापक हुन् र उनले चाइल्ड फ्री विषयमा धेरै अनुसन्धान गरिसकेकी छिन् ।

अधिकांश अनुसन्धानमा चाइल्ड फ्री र चाइल्ड–लेस, दुवैलाई एउटै वर्गमा राख्दा तुलनात्मक तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको उनी बताउँछिन् । तैपनि सामाजिक सञ्जालको यो युगमा सन्तान नजन्माउने निर्णय गर्नेहरू खुलेर अगाडि आउन थालेपछि चाइल्ड – फ्री हुनुको पहिचान तीव्र गतिमा बढेको छ ।

पश्चिमी देशहरूमा स्वेच्छाले बच्चा नचाहने मानिसहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको पनि अनुसन्धानले देखाएको छ ।

प्यू रिसर्च सेन्टरले सन् २०२१ मा अमेरिकामा एउटा अनुसन्धान गरेको थियो । यसमा सन्तानविहीन १८ देखि ४९ वर्ष उमेर समूहका ४४ प्रतिशतले आफूले भविष्यमा सन्तान जन्माउने सोच नरहेको बताएका छन् । सन् २०१८ को अनुसन्धानमा, यस्तो भन्ने व्यक्तिहरूको सङ्ख्या ३७ प्रतिशत थियो ।

कतिपयले स्वास्थ्यसँग सम्बन्धित कारण बताएका थिए भने कसैले एक्लै बच्चा हुर्काउन नचाहेको बताए । तर आधाभन्दा बढी मानिसले आफू सन्तान जन्माउन नचाहेको बताएका थिए ।

त्यस्तै, इङ्गल्यान्ड र वेल्समा, युगावले सन् २०२० मा अनुसन्धान गर्योे जसबाट के पत्ता लाग्यो भने ३५ देखि ४४ वर्षका जसको सन्तान थिएनन् तीमध्ये आधाभन्दा बढी पछि पनि बच्चा जन्माउन चाहँदैनथे ।

child free1कारणहरू के हुन् ?

चाइल्ड फ्री वर्गमा केही व्यक्तिहरू छन् जो पहिल्यैदेखि बच्चाहरू चाहँदैनन्, जबकि केही व्यक्तिले धेरै पछि बच्चा नजन्माउने निर्णय गर्छन् र त्यसमा अडिग हुन्छन् ।

कतिपय व्यक्तिहरू यस्तो पनि छन् जसलाई कुनै बेला सन्तान चाहिँदैन भन्ने लाग्छ र कहिलेकाहीँ चाहिन्छ कि भन्ने पनि लाग्छ । 

निशान्त र श्वेता पहिलो श्रेणीमा पर्छन् र बच्चा जन्माउन चाहँदैनन् ।

श्वेता भन्छिन्, ‘सबैले बच्चा जन्माइरहेका छन्, त्यसैले हामीले पनि त्यस्तै गर्नुपर्छ भनेर हामीले बच्चा जन्माउन सक्दैनौँ । हामीलाई बच्चा मन नै नपर्ने पनि होइन । बच्चा बिना पनि हाम्रो जीवन निकै राम्रो तरिकाले चलिरहेको छ र हामीलाई केही कुराको कमी महसुस भइरहेको छैन । ’

दिल्लीका मनोवैज्ञानिक डा. पूजा शिवम जेटलीले बच्चा नजन्माउने निर्णय गर्नुको पछाडि धेरै कारण रहेको बताउँछन् ।

उनी भन्छिन्, ‘कतिपयलाई आफ्नो आर्थिक अवस्था राम्रो नभएको वा साथीभाइ वा परिवारको सहयोग छैन भन्ने लाग्छ । कतिपय मानिसहरू गर्भावस्था र प्रसवसँग सम्बन्धित खतराहरूको बारेमा बेचैन हुन्छन् । अर्कोतर्फ, कसै–कसैलाई आफू र आफ्नो पार्टनरको जिम्मेवारी मात्र लिन सक्छन्‌ जस्तो लाग्छ । यस्तो अवस्थामा उनीहरू बच्चाका लागि मानसिक रूपमा तयार हुँदैनन् ।’

धेरै मानिसहरू चाइल्ड फ्री हुन रोज्नुको अर्को कारणबारे पनि डा. जेटलीले जानकारी दिएकी छिन् ।

उनी भन्छिन्, ‘आजको युवा पुस्ताका लागि व्यक्तिगत जीवनको अनुभव सबैभन्दा महत्त्वपूर्ण हुन्छ । उनीहरू आफ्नो जीवन आफ्नै तरिकाले बिताउन चाहन्छन् । उनीहरू स्वतन्त्रता चाहन्छन् । एक जोडी मकहाँ आएको थियो जसमा महिलाले बच्चा चाहिन्छ कि चाहिँदैन भनेर निर्णय गर्न सकिरहेकी थिइनन् जबकी उनको पार्टनरलाई बच्चा चाहिएको थिएन । आफूहरू विश्व घुम्न चाहेको र बच्चाले यसमा समस्या निम्त्याउने हो कि भन्ने चिन्ता उनीहरूलाई थियो ।’

अर्को एउटा बच्चा यो पृथ्वीमा ल्याउनुपर्ने स्थिति पनि छैन भन्ने उनीहरूलाई लाग्छ । 

अरूले पनि यस्तै सोच्छन् । प्यू रिसर्चले सन् २०२१ मा गरेको अनुसन्धानमा सन्तान नभएका नौ प्रतिशतले विश्वको अवस्थाका कारण भविष्यमा सन्तान जन्माउन नचाहेको बताएका छन् । यसका लागि पाँच प्रतिशतले जलवायु परिवर्तनलाई औँल्याएका छन् ।

child free2चाइल्ड फ्री मानिसहरूको कठिनाइ

२७ वर्षीय मार्सेला मुनोजले ‘चाइल्ड- फ्री मिलेनियल’ नामबाट टिकटक, इन्स्टाग्राम र युट्युब ह्यान्डलहरू चलाउँछिन् । उनी ती प्रभावशाली व्यक्तिमध्ये एक हुन् जसले आफ्नो सामग्रीमार्फत बताउँछन् कि उनी किन बच्चा चाहन्नन् ।

उनी भन्छिन्, ‘म बच्चा भएका मानिसहरूलाई भेदभाव गर्दिनँ । मेरा धेरै साथीहरूका छोराछोरी छन् । तर म खुसी छु कि मानिसहरूले अब आमाबाबु बन्नु अघि धेरै कुरा सोच्न थालेका छन् ।’

मुनोजले आफ्नो टिकटकमा हास्यास्पद स्वरमा सामग्री बनाउँछिन्, तर त्यहाँ धेरै गम्भीर पक्षबारे  छलफल गरिन्छ । उदाहरणका लागि, उनका केही फलोअर्स बच्चा चाहँदैनन् तर चाइल्ड फ्री रहने निर्णय गरेमा, यसले आफ्नो मित्रता तोडिने हो कि वा आमा–बुवा रिसाउने हो कि भन्ने चिन्तामा रहन्छन् ।

निशान्त र श्वेतालाई पनि त्यस्तै भयो । सन्तान नजन्माउनु सामाजिक प्रतिबन्ध तोड्ने निर्णय हो, तर पनि उनीहरू आफ्नो वास्तविक पहिचान प्रकट गर्न चाहँदैनन् ।

कारण बताउँदै निशान्त भन्छन्, ‘हामी आफ्नो निर्णयमा अडिग छौँ तर वृद्ध आमाबुवालाई दुःख दिन चाहँदैनौँ । एकपटक घरमा यसबारे कुरा गरेपछि धेरै दिन तनाव रह्यो । त्यस कारण हामीले उनीहरूलाई अहिले सन्तान जन्माउन नसक्ने र पछि सोच्ने भनेका छौँ ।’

child free3समाजको निशानामा

सोसल मिडिया प्लेटफर्म रेडिटमा ‘ग्लोबल चाइल्ड–फ्री’ नामको समूह छ जसको १५ लाखभन्दा बढी सदस्य छन् ।

यहाँ चाइल्ड फ्री व्यक्तिहरूले आफ्ना अनुभव साझा गर्छन् । कतिपयले आमाबाबु, अपरिचित व्यक्तिबाट समेत गाली सुन्नुपर्ने बताउँछन् । ‘तपाईंले आफ्नो करियरमा धेरै ध्यान दिइरहनुभएको छ, आफ्नो धारणा बदले’ भनेर धेरैले भनेको सुन्नुपर्छ ।

चाइल्ड फ्री कन्टेन्ट क्रियटर मुनोजले पनि आफ्नो सामग्रीको लागि अनलाइन घृणाको सामना गर्नुपरेको छ । कतिपयले ‘तिमी बच्चा विरोधी हौ, स्वार्थी छौ, तिमी पछुताउने छौ, एक्लै मर्ने छौ, बुढेसकालमा तिम्रो हेरचाह कसले गर्छ, तिमीले कहिल्यै साँचो माया पाउन सक्दैनौ’, आदि इत्यादि । 

प्रोफेसर एलिजाबेथ हिन्ट्ज भन्छिन् कि चाइल्ड फ्री व्यक्तिहरूले समाजका बाँकी हिस्साबाट विशेष गरी महिलाहरूबाट कडा प्रतिक्रिया र आलोचनाको सामना गर्नु पर्छ ।

उनी भन्छिन्, ‘बच्चा जन्माउने निर्णय प्रायः महिलामाथि थोपरिन्छ । मातृत्व र स्त्रीत्व एक अर्कासँग सम्बन्धित छ । यस्तो अवस्थामा जीवनको परम्परालाई पालना गर्ने दबाब महिलामाथि बढी हुन्छ । लैङ्गिक समानताका लागि धेरै काम भएका देशहरूमा पनि ।’

तर विज्ञहरू भने आगामी दिनमा चाइल्ड फ्री हुनु सामान्य कुरा हुनेमा आशावादी छन् । जब मानिसहरूले धेरै चाइल्ड फ्री मानिसहरूलाई भेट्छन्, यसले उनीहरू स्वार्थी छन् र आफ्नो बारेमा मात्र सोच्छन् भन्ने भ्रमलाई हटाउन मद्दत गर्नेछ ।

बीबीसी हिन्दी


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप