आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा संगठन सुदृढीकरण अभियानको तयारी तीव्र

साउन २० देखि ३० सम्म ७७  जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुग्ने
सोमबार, १५ साउन २०८०, १९ : १६
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरण अभियानको तयारी तीव्र पारेको छ । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि तयारी भइरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार कांग्रेसले पहिलो चरणको अभियानका लागि ७७ जिल्लामा केन्द्रीय सदस्यलाई खटाउने छ । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको पौडेलको भनाइ छ ।

साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यदेश (टिओआर) पनि दिनेछ । 

‘पार्टी संरचनामा पूर्णता दिने लगाउने, बैठक बसाल्ने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको भए रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नु हुन्छ,’ शर्माले भने ।

कार्यदेशमा केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । जिल्लामा भ्रातृसंस्था, शुभेच्छुक संस्था, विभाग सबै पूर्णता दिन लगाउने काम गर्नेछन् ।

साथै, अभियानका कार्यक्रममा नयाँ क्रियाशील सदस्य वितरण, नवीकरण, अनलाइन प्रणालीबारे जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ ।

केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिलाई पार्टीले दिनेछ । सोहीअनुसार सेवा दल गठनको सहजीकरण केन्द्रीय सदस्यहरुले गर्ने मुख्यसचिव पौडेलले बताए ।

पार्टीभित्र विवादका कारणले आन्तरिक संरचनामा परेको समस्या समाधान गर्न केन्द्रीय सदस्यले भूमिका खेल्ने उनको भनाइ छ ।

कांग्रेसभित्र जिल्ला कार्यसमितिले निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाही सिफारिस गर्दा नेताहरुमा तिक्तता देखिन्छ । टिओआरमा त्यसलाई पनि मिलाउने जिम्मा प्रतिनिधिहरुलाई दिइएको छ । उनीहरुले समाधान गर्न नसके केन्द्रमा रिपोर्ट ल्याउनु पर्नेछ ।

‘साउन २० देखि ३० गतेसम्म ७७  जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुग्नुहुन्छ । केन्द्रीय प्रतिनिधि पुग्दै गर्दा कांग्रेसका सभाहरू भएको त्यति थाहा पाउनुहुन्न,’ मुख्यसचिव पौडेलले भने ।

पार्टीको आन्तरिक समस्या समाधानका लागि भूमिगत शैलीमा काम हुने उनको भनाइ छ । ‘जिल्ला सभापतिहरूको बैठकमा आन्तरिक रणनीतिक कुराहरू भएका थिए । त्यसलाई बल पुर्‍याउने कुरामा साथ दिन प्रतिनिधिहरू ७७ वटै जिल्ला जानुहुन्छ,’ उनले भने ।

कांग्रेसले असार २१ र २२ गते काठमाडौँमा जिल्ला सभापतिहरुको बैठक राखेर आन्तरिक रणनीतिबारे छलफल गरेको थियो । पार्टीको आन्तरिक व्यवस्थापन र सांगठनिक गति बढाउने कुरामा अभियान केन्द्रित हुने महामन्त्री शर्माको भनाइ छ ।

कांग्रेसले दोस्रो चरणमा समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भदौ १० देखि २४ सम्म गर्नेछ । राष्ट्रव्यापी अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ ।

केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ ।

‘समुदायमा कांग्रेस अभियानका क्रममा विभिन्न टिम बन्छ, सुन्न हेर्न कांग्रेस गाउँ तहसम्म पुग्छ,’ महामन्त्री शर्माले भने, ‘यसले कांग्रेसको सदस्यलाई मात्र ऊर्जा भर्ने होइन, देशमै सकारात्मक सन्देश सम्प्रेषण गर्ने हो । वितृष्णालाई चिर्न अगुवाइ गर्ने हो ।’

समुदायमा कांग्रेस अभियान सबै वर्ग र क्षेत्रसम्म पुग्ने महामन्त्री शर्मा बताउँछन् । ‘केन्द्रीय प्रतिनिधि कृषि फारम, बन्दै गरेको उद्योग,  खेलाडी, पुरानो पत्रकार, पुरानो शिक्षक, आन्दोलनका घाइते, सहिदको घरमा जानेछन् । यसरी कांग्रेस समुदायमा पनि जान्छ, उनीहरुको कुरा सुन्न,’ मुख्यसचिव पौडेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप