आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकको अन्तिम तयारीमा माओवादी, लाइभबारे नेताहरूको मत बाझियो

मङ्गलबार, १६ साउन २०८०, ११ : २१
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्र बुधवार बस्ने केन्द्रीय समिति बैठकको अन्तिम तयारीमा जुटेको छ । केन्द्रीय समिति बैठकमा विशेष गरी सङ्गठनात्मक विषयमा छलफल केन्द्रित रहने सचिव गणेश साहले जानकारी दिए । 

उनकाअनुसार आज सोमबारको पदाधिकारी बैठकले तय गरेको एजेन्डा र समग्र प्रतिवेदनलाई ‘फाइनल टच’ दिने काम भइरहेको छ ।

‘पदाधिकारी बैठकले तय गरेको एजेन्डालाई अन्तिम रूप दिने काम भइरहेको छ । भोलि बिहान बस्ने स्थायी कमिटी बैठकबाट पारित भएपछि केन्द्रीय समिति बैठकमा पेस हुन्छ’, उनले भने । उनका अनुसार मंगलबार बिहान ८ बजे  स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । बैठकले एजेन्डा पारित गरेपछि बिहान ११ बजे केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा बस्नेछ । 

यसअघि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डा तय गरेको थियो । 

बैठकले केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक र सङ्गठनात्मक प्रतिवेदन तय गरेको थियो । यसैगरी मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक, बैठकको तयारी सम्बन्धमा छलफल भएको थियो । 

यस्तै केन्द्रीय समिति बैठक लाइभ गर्ने भनिए पनि यो विषयमा नेताहरूको फरक फरक धारणा आइरहेको उनले बताए । कतिपयले पार्टीको आन्तरिक विषय भएकाले लाइभ गर्न नहुने धारणा राखेको र केही  नेताहरूले प्रविधिको विकाससँगै यसको सदुपयोग गर्नु राम्रो भएको धारणा राखेको साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप