आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जन्मिने बित्तिकै मिना कुमारीका बुवाले छोडे अनाथालय, श्रीमान्‌ले कुट्दा रुन्थिन्- चिच्याउँथिन्, मृत्यु हुँदा नरगिसले दिइन् शुभकामना

मङ्गलबार, १६ साउन २०८०, ११ : १४
मङ्गलबार, १६ साउन २०८०

१ अगस्ट सन् १९३३

अली बख्श प्रतीक्षामा थिए । उनले सोचिरहेका थिए – अस्पतालको अपरेसन रुमबाट नर्स दौडिँदै आउँछिन् र उनलाई छोरा जन्मिएको भन्दै खुसीको खबर सुनाउनेछिन् । तर भइदियो ठिक विपरीत । नर्स पक्कै पनि आइन् तर छोरा होइन छोरी जन्मिएको खबर लिएर । यो अली बख्शका लागि खुसीको खबर पक्कै थिएन । उनले केही घण्टा अघि जन्मिएकी छोरीलाई उठाए र सिधै अनाथालय लगेर छोडिदिए । ती सानी बालिका थिइन् महजबीन उर्फ मिना कुमारी र यस्तो थियो उनको जीवनको पहिलो दिन । 

त्यही मिना कुमारीलाई ट्रेजेडी क्विनको नामले चिनिन्छ । न बाल्यकालमा बुवाको माया पाइन्, न कुनै हेरचाह । गरिबीका कारण उनले बाल्यकालमा नै काम गर्नुपर्‍यो ।

आफ्नो क्षमताका कारण उनी स्टार बनिन् । रानी जस्तै दिनहुँ गुलाबका पात बिछ्याएर सुत्थिन्  र इम्पाला कारबाट घुम्थिन्, जुन त्यतिबेला कसैसँग पनि थिएन । तर यति हुँदा हुँदै पनि मिना कुमारीको ३८ वर्षको जीवन निकै पीडादायी रह्यो । यति पीडादायी कि मिना कुमारीलाई रुनका लागि ग्लिसिरिन नै चाहिएन ।

निर्देशकले बदला लिनका लागि ३१ पटक थप्पड हान्न लगाए, श्रीमानले असाध्यै दुःख दिए र रक्सीले ज्यानै लियो । जीवन यति मुस्किल रह्यो कि नरगिसले बधाई दिँदै भनेकी थिइन्, ‘तिमीलाई मृत्युको शुभकामना, अब यो दुनियाँमा कहिल्यै नआउनु ।

मिना कुमारी बाँचेकी भए आज उनको ९० औँ जन्मदिन हुन्थ्यो । आज उनको जन्म जयन्तीको मौकामा उनको पीडादायी जीवनको कहानी पढौँ ।

उनको जन्मले नै बुवालाई निराश बनायो, छोडिदिए अनाथालय

छोरा चाहने अली बक्शको घरमा सन् १९३३ अगस्ट १ मा छोरीको जन्म हुँदा उनी निकै रिसाए । पहिला नै एक छोरी थिइन् र गरिबी चरम अवस्थामा थियो । यस्तो गरिबी कि  अस्पताललाई शुल्क बुझाउनका लागि पनि पैसा थिएन । दुःखी र निराश अली बक्शले आफ्नी छोरीलाई अनाथालयमा छोडे । घर आएपछि श्रीमती इकबाल बेगमले सम्झाएपछि उनको मन पग्लियो । केही घण्टापछि छोरीलाई फिर्ता ल्याएर नाम राखे महजबीन ।

पढ्ने रहर थियो, गरिबीबाट निस्कनका लागि ४ वर्षको उमेरदेखि अभिनय गर्नुपर्‍यो

मिना कुमारी पढ्न चाहन्थिन्, तर गरिबीका कारण यस्तो हुन सकेन । जब थिएटर आर्टिस्ट अली बक्शलाई घर चलाउन गाह्रो भयो, तब उनले ४ वर्षीय मिनालाई सेटमा लैजान थाले । एक दिन निर्देशक विजय भट्टले उनलाई आफ्नो फिल्म लेदरफेस (१९३९) मा बाल कलाकारको रूपमा कास्ट गरे । पहिलो फिल्मका लागि उनले २५ रुपैयाँ पारिश्रमिक पाएकी थिइन् । त्यसयता चलचित्रमा काम गरेर मेहजबीन उर्फ मिनाले घरको जिम्मेवारी सम्हालिन् ।

meena kimari १३ वर्षको उमेरमा आमाको देहान्त, शोकमा हुँदा पनि गरिरहिन् काम

आधा दर्जन चलचित्रमा बाल कलाकारको रूपमा काम गरिसकेकी मिनालाई १३ वर्षको उमेरमा चलचित्र ‘बच्चों का खेल’ मा नायिकाको रूपमा कास्ट गरियो । फिल्म रिलिज भएको १८ महिना नबित्दै आमा इकबाल बेगमको निधनले मिनालाई स्तब्ध बनायो । मिना शोकमा थिइन्, तर घर चलाउन शोक गर्ने समय पनि पाउन सकिनन् । मिनाले सराय, पिया घर आजा, बिछडे बलमजस्ता फिल्मबाट खासै पहिचान पाउन सकिरहेकी थिइनन् ।

 सेटमा शोषण र निर्देशकले हाने ३१ थप्पड

मिना कुमारी ५० को दशकमा सबैभन्दा सफल र सुन्दर अभिनेत्री थिइन् । एक पटक उनले ठुलो हैसियत र प्रभाव भएका ठुला निर्देशकको फिल्ममा काम गर्ने अवसर पाइन् । सुटिङको एक दिन अगाडि ती निर्देशक मिना कुमारीको मेकअप रुम पुगे । त्यहाँ खाजाको लागि टेबुल पहिले नै सेट गरिएको थियो । ती निर्देशकले पहिले नै आफू मिनासँग एक्लै मेकअप रूपमा लन्च गर्ने बारे आफ्नो टिमलाई अवगत गराएका थिए । 

निर्देशकको गलत नियत र दुर्व्यवहार

खाना खान सुरु गर्ने बित्तिकै उनले निर्देशकको टेबल मुनि मिना कुमारीको खुट्टामा आफ्नो खुट्टा राख्न थाले र उनको हात नजिक ल्याएर चुम्बन गर्न थाले । मिना कुमारीले उनको मनसाय बुझिन् र ठुलो स्वरले हल्ला गर्न थालिन् । बाहिर उभिरहेका मानिसहरू भित्र आए र सेटमा कोलाहल मच्चियो । मिना कुमारीले रिसाएर उक्त निर्देशकलाई पिट्न थालिन् । निर्देशक चुपचाप बसे र सबैलाई भन्न थाले कि यो एउटा दृश्यको रिहर्सल हो । जसलाई यसबारे थाहा भइसकेको थियो, उनीहरूलाई यसबारे कुरा नगर्न धम्की दिइयो र कसैले कुरा गरे, जागिर जाने चेतावनी पनि दिइयो ।

सन् १९५२ मा कमाल अमरोहीसँग विवाहः

कमाल अमरोही र मिना कुमारीको प्रेमकथा कुनै परीको कथाभन्दा कम थिएन । कमालले मिनालाई उनी पाँच वर्षको हुँदा पहिलोपटक देखेका थिए । कमाल उनलाई आफ्नो फिल्मका लागि हेर्न गएका थिए । त्यतिबेला कुरा मिलेन ।
१४ वर्षपछि अशोक कुमारले मिनाको परिचय पुनः कमालसँग गराए । कमाले मिनालाई फिल्म अनारकली अफर गरे । केही समयपछि मिनाको दुर्घटना भयो, उनी अस्पताल भर्ना हुनुपर्यो । कमाल सधैँ उनलाई भेट्न जान्थे र जब भेट्न जान पाउँदैनथे तब उनीहरुले एक–अर्कालाई पत्र लेख्दथे । करिब चार महिनाको यो सिलसिलामा दुबैको प्रेम उत्कर्षमा पुग्यो र १४ फेब्रुअरी सन् १९५२ मा यी दुईले गोप्य रुपमा विवाह गरे । यतिबेला मिना १८ वर्षकी थिइन् भने कमाल ३४ वर्षका ।

विवाहपछि पिताले घरबाट निकालिदिएः

मिनाले गोप्य रुपमा विवाह गरेपनि उनी आफ्ना पिता अली बक्ससँगै बस्थिन् तर यो विवाहको खबर उनीसम्म पुग्यो तब बबाल भयो । पिताले उनीमाथि सम्बन्धविच्छेद गर्ने दबाब बनाए । प्रतिबन्ध बढ्न थाल्यो । कमालले यसैबेला मिनालाई आफ्नो फिल्म दायरा अफर गरे तर पिताले अस्वीकार गरे । पिताले ‘मिनाले दायरा फिल्ममा काम गरिन् भने उनका लागि घरको ढोका सधैँका लागि बन्द हुने’ बताए ।

यति नै बेला मिना महबुब खानको फिल्म अमरको सुटिङ गरिरहेकी थिइन् । ४ दिनसम्म फिल्मको सुटिङ गरेपछि उनले महबुब खानसँग सम्झौता रद्द गरिन् र सिधै बम्बे टकिज गइन् जहाँ ‘दायर’ को सुटिङ चलिरहेको थियो । मिनाले दायराको सुटिङ सुरु गरिन् । यो खबर उनका पितासम्म पुग्यो । मध्यरातमा जब मिना सुटिङबाट घर फर्किइन् तब पिताले ढोका खोल्न अस्वीकार गरे । मिनाले आफ्नो गाडी घुमाइन् र श्रीमान् कमाल अमरोहीको घरमा पुगिन् ।

Meena_Kumari तीन वटा गर्भपतन, थप्पड र बिग्रदोँ सम्बन्ध

मिना कुमारी र कमलको कुनै सन्तान थिएन । वास्तवमा, मिना कुमारी आमा बन्न चाहँदैन थिन् । मिना पहिलो पटक गर्भवती हुँदा उनको गर्भपतन भएको थियो । यसपछि मिना थप दुई पटक गर्भवती भइन् तर दुवै पटक उनले आफ्नो पति कमललाई नभनी बच्चाको गर्भपतन गराइन् । कमलले यो कुरा थाहा पाउने बित्तिकै मिनालाई थप्पड हाने । मिना कुमारीका सौतेनी छोरा ताजदार अमरोहीले एक अन्तरवार्तामा ‘मिना विवाहपछि पनि फिल्मको शीर्ष अभिनेत्री बन्न चाहन्थिन्, त्यसैले उनले कहिल्यै सन्तान चाहिनन्, जबकि कमलको सोच बिल्कुलै फरक थियो’ भनेका थिए । 

विवाहपछि लागे प्रतिबन्धः

कमाल अमरोहीले विवाहपछि मिनालाई काम गर्न अनुमति त दिए तर थुप्रै प्रतिबन्धसहित । मिनाको मेकअप रुममा मेकअप आर्टिस्टबाहेक अरु कसैलाई जान अनुमति थिएन । बेलुकी साढे ६ बजे आफैं कार चलाएर घर आइसक्नुपर्ने । मिनाले यी शर्त त मानिन् तर एक नायिकाका लागि यी शर्त पालना गर्न निकै मुश्किल थियो । कमालले मिनामाथि निगरानी राख्न सुरु गरे । एकदिन त समयमा घर नपुगिने भन्दै मिनाले असाध्यै आत्तिएर साहिब, बिबी र गुलामको सुटिङ रुँदै गरेकी थिइन् ।

पीडादायी वैवाहिक जीवनः

साहिब, बिबी र गुलामले बर्लिन फिल्म फेस्टिबलमा स्थान पायो तर कमालले मिनासँग जान अस्विकार गरे । मिनाले पनि एक कदम पछि सारिन् । इरोज सिनेमामा सोहराब मोदीले महाराष्ट्र सरकारको एउटा कार्यक्रममा मिनाको परिचय दिँदै भने, ‘उनी चर्चित नायिका मिना कुमारी हुन् र यिनी उनका श्रीमान् कमाल अमरोही । ’ कमलले रिसाउँदै तुरुन्त जवाफ दिए, ‘होइन, म कमाल अमरोही हुँ र उनी मेरी श्रीमती मिना हुन् ।’ रिसाएका कमालले तुरुन्तै अडिटोरियम छोडे र मिनाले एक्लै पूरा प्रिमियर हेरिन् ।

हेर्दाहेर्दै यी दुईबीचको ठाकठुक कुटपिटसम्म पुग्यो, यसको प्रत्यक्षदर्शी नरगिस पनि रहिन् । ‘मे चुप रहुँगी’ फिल्मको सुटिङका बेला नरगिसले मिनासँग रुम सेयर गरेकी थिइन् । मिनाको मृत्युपछि उर्दू म्यागजिनलाई दिएको अन्तरवार्तामा नरगिसले आफूले कुटपिटको आवाज सुनेको बताउँदै त्यसको भोलिपल्ट मिनालाई भेट्दा उनको आँखा सुन्निएको बताएकी थिइन् ।

कमाल अमरोहीसँग सम्बन्धविच्छेद, डिप्रेसन र नशाको लत

असाध्यै शङ्का गर्ने कमल अमरोहीले आफ्नो सहायक बकर अलीमार्फत् मिना कुमारीमाथि नजर राख्थे । एक दिन जब सहायक बकर अलीले गुलजार मिनाको मेकअप रुममा गएको देखे, उनले मिनालाई सबैको अगाडि थप्पड हाने । यस्तो अपमानपछि जब मिनाले श्रीमानलाई यसबारे भनिन्, कमलले उनको कुराको वास्तै गरेनन् । 

श्रीमानको घर छाडेर बहिनीसँग बस्न थालिन् 

सहायकको थप्पडले नराम्ररी टुटेकी मिना कुमारीले तुरुन्तै श्रीमान् कमलको घर छोडेर बहिनीसँग बस्न थालिन् । मिना कुमारी डिप्रेसनमा गइन्, उनलाई फिटिक्कै निद्रा लाग्दैनथ्यो । यसबारे डाक्टरसँग कुराकानी गर्दा डाक्टर तिमुर्जनाले उनलाई सुत्नुअघि दिनहुँ एक पेग ब्रान्डी पिउन सल्लाह दिए । त्यो एउटा पेग कहिले गिलासमा परिणत भयो कसैलाई थाहा भएन ।

कम उमेरमा घातक रोग र पाकिजा

मिना कुमारी लगातार मदिरा सेवन गर्दा बिरामी पर्न थालिन् । मिना कुमारीलाई सन् १९६८ मा लिभर सिरोसिस भएको पत्ता लाग्यो । मिना सन् १९६८ को जुन महिनामा उपचारका लागि लन्डन र स्विट्जरल्याण्ड गएकी थिइन् । सेप्टेम्बरमा एक महिना पछि, उनी निको भएर पक्कै फर्किन्, तर पूर्ण रूपमा निको भइनन् । मिनालाई उनीसँग धेरै समय बाँकी छैन भनिएको थियो । 

फर्किएपछि, मिनाले बान्द्राको कार्टर रोडमा रहेको ल्यान्डमार्क भवनको ११ औँ तलामा आफ्नो पहिलो अपार्टमेन्ट किनिन् । मिना कुमारीले पति कमलसँग वर्षौँअघि सन् १९५६ मा उनको सपनाको फिल्म पाकिजामा नायिका बन्ने वाचा गरेकी थिइन् । बिरामी र सम्बन्ध विच्छेदका बाबजुद मिनाले त्यो वाचा पूरा गरी पाकिजाको सुटिङ पूरा गरिन् । सुटिङका क्रममा धेरै पटक उनको स्वास्थ्य यति बिग्रियो कि उनलाई सेटबाटै अस्पताल लगियो । धेरै पटक मिनाको सट्टा बडी डबल सुटिङ पूरा गर्नुपरेको थियो ।

मिना कुमारीले डेटोलको बोतलमा रक्सी लुकाउने गर्दथिन्

रक्सीको लतका कारण मिनाको अवस्था बिग्रँदै गएको कमल अमरोहीलाई थाहा थियो, त्यसैले उनले मिनालाई धेरै सम्झाए । मिनाले रक्सी नपिउने वाचा गरिन् । एक दिन जब कमल अमरोही उनको घर पुगे, उनले बाथरुममा राखिएको डेटोलको बोतलमा रक्सीले भरिएको देखे । मिना हरेक दिन लुकेर रक्सी पिउँथिन् ।

अल्पायुमै मृत्यु, मृत्यु अघि नै तिरेकी थिइन् मुमताजको ऋण

मुमताजले मिना कुमारीको निर्देशनमा फिल्म गोमती के किनरेमा अभिनय गरेकी थिइन् । त्यति बेला उनको पारिश्रमिक ३ लाख भारु थियो तर मुमताजले पारिश्रमिक मागिनन् । अन्तिम दिनमा जब मिनालाई निकै बिरामी हुन थालिन्, उनले मुमताजलाई घरमा बोलाइन् । उनले आफ्नो अगाडि केही कागजहरू तयार पारिन् र मुमताजलाई सुम्पिइन् । कागज देखेर मुमताज छक्क परिन्, किनकि मिनाले उनको कार्टर रोड बङ्गला उनलाई नामसारी गरिन्  ।

पाकिजाको प्रिमियरमा मिना कमल अमरोहीको छेउमा बसेकी थिइन्

फिल्मको प्रिमियर ३ फेब्रुअरी १९७२ मा मुम्बईको मराठा मन्दिर थिएटरमा भयो । मिना कमल सँगै पुगिन् र उनी सँगैको कुर्सीमा बसिन् । फिल्म हरेपछि मिनाले भनिन्, ‘मैले मानेँ कि मेरा श्रीमान् एक माझिएका कलाकार हुन् ।’

मृत्युको तीन दिन अघि कोमामा थिइन्

मार्च २८ मा मिना कुमारीलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी कोमामा गएकी थिइन् । तीन दिनको उपचारपछि ३१ मार्च १९७२ मा उनको निधन भयो । मिना कुमारीको मृत्यु फिल्म पाकीजाका लागि फाइदाजनक साबित भयो र उनलाई अन्तिम पटक हेर्न दर्शकको भीड थियो । केहि समय पछि फिल्म ब्लकबस्टर घोषित भयो तर दुःखको कुरा मिनाले पाकिजाको सफलता देख्न पाइनन् ।

मिनालाई कमल अमरोहीको आदेशमा रहमताबाद कब्रस्तान गाडिएको थियो 

मिना कुमारीको अन्तिम फिल्म गोमती के किनारे थियो, जुन उनको मृत्युपछि रिलिज भएको थियो । सावनले मिनालाई यति धेरै आदर गर्थे कि फिल्ममा पनि उनलाई मिनाको रूपमा नभई मिना जीको रूपमा क्रेडिट दिइयो । अफसोस मिनाले यो फिल्म हेर्न सकिनन् । मिनाको मृत्युपछि सावन उनको चिहानको छेउमा बसेर धेरै घण्टा रोए । कमल अमरोहीको अन्तिम इच्छा अनुसार उनलाई ११ फेब्रुअरी १९९३ मा मिनाको चिहानको छेउमा गाडिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप