आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

१३ अर्बले घट्यो सुनको आयात, तस्करीको प्रभाव हो ?

व्यवसायी भन्छन्–बजार माग घट्दा र कोटा प्रणालीले आयात खुम्चियो
मङ्गलबार, १६ साउन २०८०, ११ : ५७
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपालमा सुनको आयात १३ अर्ब २६ करोड रुपैयाँले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा उक्त मूल्यले सुनको आयात घटेको हो ।

अघिल्लो आर्थिक वर्ष नेपालमा ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएकामा गत आर्थिक वर्षमा जम्मा २२ अर्ब ३५ करोड रुपैयाँको सुन भित्रिएको छ । यो १३ अर्ब २६ करोड रुपैयाँले न्यून हो । आर्थिक वर्ष २०७९/८० मा अवधिमा २९ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो । यस्तै, आयातबापत राज्यले २ अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा ५० लाख ५३ हजार ग्राम सुन भित्रिएको थियो भने ४ अर्ब २९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बजारमा माग नहुँदा सुनको आयात घटेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले अघिल्लो आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब हाराहारीले सुनको आयात घटेको जानकारी दिए ।

‘बजारमा माग नहुँदा समस्या आइरहेको छ । त्योभन्दा पनि ठूलोचाहिँ कोटा प्रणालीले समस्या पारिरहेको छ,’ शाक्यले भने ।

 अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दैनिक २० किलो सुन आयातको कोटा लगाइएको थियो । तर, गत आर्थिक वर्ष भुक्तानी प्रणालीमै समस्या आउने देखेर केन्द्रीय बैंकले दैनिक १० किलो मात्रै सुन ल्याउन पाउने व्यवस्था गरेको थियो । यसले समेत सुन आयातमा गिरावट आएको महासंघको भनाइ छ ।

यसबाहेक, यतिबेला बजारमा माग नहुँदा समेत आयत घटेको शाक्यको भनाइ छ । उनका अनुसार जेठ महिनादेखि सुन आयात करिब–करिब ठप्प जस्तै भएकाले गत वर्ष २२ अर्बको मात्रै भित्रिएको बताए । 

तर, यतिले मात्रै सुनको आयात नघटेको हुन सक्ने शङ्का गर्ने आधार पछिल्लो सुन तस्करी प्रकरणले समेत देखाएको छ ।

अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइ गर्दा दैनिक ठुलो मात्रामा यात्रुहरूले सुन ल्याउने गरेको खुलेको थियो । 

तत्कालीन कार्यालय प्रमुख महेश भट्टराईले कडाइ गर्दा खाडीबाट नेपाल आउने यात्रुको साथबाट दैनिक २० किलोग्रामभन्दा बढी सुन आउने गरेको तथ्य फेला परेको थियो ।

यस्तै, राजश्व अनुसन्धान विभागले गरिरहेको पछिल्लो अनुसन्धानबाट समेत नयाँ तथ्य खुलेको छ । 

हङकङबाट ब्रेक प्याडमा लुकाएर रेडी ट्रेड्सले कयौँ पटक सुन ल्याएको र अनुसन्धान गर्दै जाँदा सुन पगाल्ने फ्याक्ट्रीसम्मको तथ्य खुलिसकेको छ । यस्तै, यसअघि, चीनबाट भेप (विद्युतीय सिगरेट)मा लुकाएर सुन ल्याउने गरेको समेत भेटिएको थियो । 

यी आधारहरूले दैनिकरुपमा आउने १० किलोग्राम सुनले मात्रै स्वदेशी बजार नधान्ने कतिपयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप