आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको हरियाणामा साम्प्रदायिक हिंसा भड्कियो, पाँचको मृत्यु

मङ्गलबार, १६ साउन २०८०, १५ : ०९
मङ्गलबार, १६ साउन २०८०

भारतको हरियाणास्थित नूंह जिल्लाको मेवात क्षेत्रमा विश्व हिन्दु परिषद्को ब्रज मण्डल यात्राको क्रममा हिंसापछि तनावमा स्थिति छ । नूंहमा दुई दिनका लागि कर्फ्यु लगाइएको छ । स्थितिमाथि नियन्त्रण पाउनका लागि पूरा इलाकामा प्यामिलिट्रीका १३ कम्पनी तैनाथ गरिएको छ । उता नूंहसँग जोडिएको राजस्थानको भरतपुरमा पनि अलर्ट जारी गरिएको छ । त्यहाँका चार इलाकामा पनि इन्टरनेट बन्द गरिएको छ । 

अब यो हिंसा नूंहपछि गुरु ग्रामसम्म फैलिएको छ । नूंहमा २ अगस्टसम्म इन्टरनेट बन्द गरिएको छ । नूंह, फरिदाबाद, गुरुग्राम र पलवलमा मङ्गलवार अर्थात् एक अगस्टसम्म सबै शिक्षण संस्था र कोचिङ सेन्टर बन्द हुनेछन् ।

बोर्डको १० औँ र १२ औँ परीक्षा पनि नूंहमा रद्द गरिएको छ । यो परीक्षा १ र दुई अगस्टमा हुने तय थियो । 

वास्तवमा नूंहमा सोमबार विश्व हिन्दु परिषद्को ब्रज मंडल यात्रामा समुदाय विशेषका मानिसले ढुङ्गा प्रहार गरेका थिए । यसैका कारण हिंसा भड्कियो । दुवै पक्षबीच ढुङ्गा हानाहान र गोली हानाहानसमेत भयो । यतिबेला गुडगावको होमगार्ड र गुरसेवकसमेत हालसम्म पाँच जनाको मृत्यु भएको छ । ५० भन्दा बढी प्रहरी अधिकारी, कर्मचारी र अन्य घाइते भएका छन् । 

तीन किलोमिटरसम्ममा जति पनि वाहन देखे, त्यसमा आगजनी

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार उग्र भीडले तीन किलोमिटरसम्म जे जति वाहन देखिए, त्यसमा आगो लगाइयो । डायल ११२ को गाडी जलाइयो । तोडफोड गरियो । आगो लगाउन प्रयास गरियो । केही पसलमा लुटपाटपछि आगो लगाइयो । हिरो बाइकको शोरुमबाट दुई सयभन्दा बढी मोटरसाइकल लुटियो । शोरुममा तोडफोड गरियो । कर्मचारीमाथि कुटपिट गरियो ।

यस्तै, सोमबार अबेर राति गुरुग्रामको एक मस्जिदमा पनि आगो लगाइएको छ । उक्त हमलामा मस्जिदका इमामको मृत्यु भएको र एक व्यक्ति गम्भीर घाइते भएका छन् । 

मस्जिदको प्रबन्धन समितिका अध्यक्ष असलम खानले बीबीसी हिन्दीसँग कुरा गर्दै मस्जिदका इमाम मोहम्मद सादको मृत्यु भएको जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप