आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

‘बीजेपीले माओवादीसँग ‘लङ्ग टर्म’का लागि सम्बन्ध राख्न चाहेको छ’

मङ्गलबार, १६ साउन २०८०, १६ : ०९
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । भारतीय जनता पार्टी (बीजेपी) को निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । ‘बीजेपी चिन्नुहोस्’ (नो बीजेपी) कार्यक्रम अन्तर्गत बीजेपीले विभिन्न देशका दलहरुलाई बोलाएर पार्टीको बारेमा जानकारी गराउनुका साथै सम्बन्ध विस्तार गर्ने काम गरिरहेको छ ।

सोही कार्यक्रमअन्तरर्गत बीजेपीले माओवादी नेताहरुलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेको थियो । भ्रमण सकेर फर्केका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको बारेमा ‘ब्रिफिङ’ पनि गरिसकेका छन् ।

माओवादीका नेताहरुले बीजेपीको हेडक्वाटर भ्रमण गर्नुको साथै सो पार्टीले गर्दै आएको कामको बारेमा अवलोकन गरेका थिए । माओवादीका नेताहरुले बीजेपीका अध्यक्ष जेपी नड्डासँग छुट्टै छलफल गरेका थिए । दुई देशको राजनीतिक सम्बन्ध र पार्टी–पार्टीबीचको सम्बन्धलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

छलफलमा अध्यक्ष नड्डाले बीजेपी र माओवादी परिवर्तनका लागि लडेको शक्ति भएको चर्चा गर्दै आगामी दिनमा दुवै पार्टीबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

नेपालमा अहिले देखिएको परिवर्तनको मुख्य बाहक माओवादी रहेको धारणा अध्यक्ष नड्डाले राखेको भ्रमण दलमा रहेका माओवादी केन्द्रका सदस्य रामेश्वर राय यादवले बताए ।

भ्रमणका क्रममा बीजेपी र माओवादीबीच जुन ढंगले छलफल भयो, त्यसले दुई पार्टीको बीचमा मात्र होइन, दुई देश बीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई पनि बलियो बनाउने विश्वास आफूहरुले लिएको उनको भनाइ छ ।

‘माओवादी नेतृत्वको सरकारले गरिरहेको कामको बीजेपीका नेताहरुले उच्च प्रशंसा गरेका छन्,’ यादवले भने, ‘राजनीतिक र कुटनीतिक क्षेत्रमा पनि राम्रो सम्बन्ध बनाउन सफल भएको कुरा बीजेपीका नेताहरुले गरे ।’

यसअघि २०७९ असारमा माआवोदीका अध्यक्ष प्रचण्डले पनि बीजेपीको निमन्त्रणामा भारत भ्रमण गरेका थिए । त्यसैको निरन्तरता स्वरुप अहिलेको भ्रमण भएको हो । माओवादीका अध्यक्ष प्रचण्डलाई नै बीजेपीको हेडक्वाटर भ्रमण गराउँदा नै बीजेपीले माओवादीसँग सम्बन्ध बनाउन चाहेको प्रस्ट भएको थियो ।

‘पाँच दिनको भ्रमणमा दिल्लीदेखि देहरादुनसम्म बीजेपीका थुप्रै नेतासँग छलफल भयो, ती छलफलमा कतै पनि कुनै विवादित कुरा उठेन,’ यादवले भने, ‘चाहे हिन्दु धर्मको कुरा होस् वा कालापानी, लिपुलेकको कुरा होस्, यस विषयमा कसैले कुरा उठाएन । दुई पार्टीबीच, दुई देशबीच कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ, विकास, आर्थिक समृद्धिमा एक अर्का देशलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’

नेपालका माओवादीसँग बीजेपीले आत्मीय सम्बन्ध कायम राख्न चाहेको यादवले प्रस्ट पारे । उनले भने, ‘माओवादीसँग लङ्ग टर्मका लागि सम्बन्ध सुधार गर्न चाहन्छ, भारतका लागि बीजेपी परिवर्तनकारी शक्ति हो भने नेपालका लागि माओवादी परिवर्तनकारी शक्ति हो । नयाँ नेपाल, नयाँ भारत बनाउनका लागि दुवै पार्टीबीच सहकार्य हुनुपर्ने आशयका साथ छलफल भयो ।’

पाँच दिन लामो भ्रमणका क्रममा माओवादी केन्द्रको टोलीलाई बीजेपीले विभिन्न ठाउँको अवलोकन गराउनुको साथै बीजेपी कसरी सञ्चालित भइरहेको छ, कसरी यत्रो ठूलो पार्टी बन्न सफल भयो ? भ्रातृ संगठनहरुले कसरी काम गरिरहेका छन् ? दस्तावेजहरु कसरी राखिएका छन् ? मिडिया कसरी प्रयोग गरिरहेको छ ? जनताका लागि लोकप्रिय काम कसरी गरेका छन् भन्नेजस्ता विषयमा जानकारी गराएको उनले बताए ।

यो भ्रमणबाट पार्टी सञ्चालन सम्बन्धी थुप्रै कुरा सिकेको बताउँदै उनले माओवादी केन्द्रले यी काम गर्न नजानेको होइन तर व्यवस्थित हुन नसकेको कारण प्रभावकारी नतिजा नदेखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप